बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
ललितपुर, २५ जेठ । बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु भएको छ ।
‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा बाल स्वास्थ्य र विकासका क्षेत्रमा विश्वमै देखिएका समस्या समाधान गर्ने उद्देश्यले आयोजित सो सम्मेलन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले मातृशिशु स्वास्थ्य र मानसिक स्वास्थ्य निकै महत्वपूर्ण भएको हुँदा सम्मेलन धेरै महत्वपूर्ण भएको बताए।
संस्थाको मुख्य कार्यालय पेरिसस्थित मानसिक स्वास्थ्य र हेरचाह अभ्यासका अनुसन्धान कार्यक्रम अधिकृत डा केरिन ले रोचले विपन्नताले गर्दा बालस्वास्थ्यमा चुनौती थपिएकाले सरकारले पोषण नीति नै बनाएर सुधार गर्नुपर्ने बताए ।
डा रोचका अनुसार बालस्वास्थ्यको विकासका लागि उपचारसँगसँगै बच्चालाई पोषण, स्वास्थ्यमा हेरचाह, मसाज गर्ने, उत्प्रेरणा जगाउने, खेलौना बनाएर थरिथरि तरिकाले खेलाउने र मनोरञ्जनमा ध्यान दिनुपर्छ ।
संस्थाका देशीय प्रतिनिधि डा ओजवी आचार्यले मात्रृशिशु स्वास्थ्य र मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधानका लागि यो संस्थाले अनुसन्धान गर्दै आएको र नेपालको मुगु तथा सप्तरी जिल्लामा बालस्वाथ्य र विकासका विषयमा अनुसन्धान गरिसकेको र नवलपरासीमा गर्ने तयारी गरेको जानकारी दिए ।
मानसिक स्वास्थ्यमा कार्यक्रम निर्देशक सुजेनमान महर्जनले बालविकासमा मानसिक विकास ठूलो महत्व हुने र कुनै बच्चाको विकासका लागि खानामात्र नभएर माया, ममता र हेरचाह अति जरुरी भएको उल्लेख गरे ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालविकास र मानसिक स्वास्थ्यका विषयमा विज्ञहरुको १५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
षोषणको अभावमा बालबालिकाले जोखिमपूर्ण जीवनयापन गर्नु परेको अवस्था विश्वमै देखिएकाले त्यसलाई न्यूनीकरण गर्दै लैजान सबै राष्ट्रले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा बाल विशेषज्ञहरुको जोड थियो ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, बङ्गलादेश, बेलायत, दक्षिण अफ्रिकालगायतका देशका बाल अनुसन्धानकर्ता सहभागी छन् । रासस
सम्पर्क इमेल : [email protected]