विशेषज्ञ सेवा दिन जिल्ला पुगेका आवासीय चिकित्सकहरु खर्च विहीन
काठमाडौँ, २४ जेठ । ‘कम्युनिटी पोष्टिङ’ अन्तर्गत जिल्ला अस्पतालमा विशेषज्ञ सेवा दिन पुगेका आवासीय चिकित्सकहरुले सरकारसंग भएको सम्झौता अनुसारको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले सरकारसंग भएका सम्झौता अनुसारको भत्ता तत्काल उपलव्ध नभए ‘कम्युनिटी पोष्टिङ’लाई अवरोध गर्ने चेतावनी दिएका छन् ।
आवसीय चिकित्सकहरुले बुधबार विज्ञप्ती जारी गर्दै विगतमा कम्युनिटी पोष्टिङमा जाने आवासीय चिकित्सकका लागि मासिक २० हजार र बाटो खर्च बापत ५ हजार उपलव्ध गराउने निर्णय भएको र सोही अनुसार ढेड महिना काम गरी फर्केका चिकित्सकहरुले नियमनासुसार पाउनुपर्ने ३५ हजार रकम नपाएको बताएका हुन् । उनीहरुले सो रकम तत्काल उपलवध नभए फिल्डमा खटिएका व्याचले नियमित काम नगर्ने र त्यसपछिका व्याचहरु कम्युनिटी पोष्टिङमा नजाने उल्लेख गरेका छन् ।
तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले कम्युनिटी पोष्टिङ अन्तर्गत आवासीय चिकित्सकलाई केही महिना जिल्लामा पठाउने योजना अघि सारेका थिए । सोही अनुसार मन्त्रालय र महाराजगञ्ज मेडिकल क्याम्पसबीच २८ माघमा सम्झौता भएको थियो ।
सम्झौतामा मेडिकल जनरलिष्ट, गाइनोकोलोजिष्ट, सर्जन, प्याडियाट्रिसियन, एनेस्थोलोजिष्ट, फिजिसियन र आवश्यकता अनुसार अन्य विशेषज्ञ समेत खटाउने उल्लेख थियो । त्यस बापत मासिक २० हजार र बाटो खर्च बापत ५ हजार उपलव्ध गराउने सहमति भएको थियो ।
यद्धपी मन्त्रीको सो निर्णयलाई नै कतिपयले विद्यार्थीलाई पठाएर विशेषज्ञ सेवा उपलव्ध गराउने प्रचार गरेको भन्दै आलोचना समेत गरेका थिए । महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरुले त्यतिवेला नै कम्युनिटी पोष्टिङमा जान केही सर्त राखेका थिए ।
सम्पर्क इमेल : [email protected]