प्रेमसागर कर्माचार्यले आज १५० औँ पटक रक्तदान गर्दै
काठमाडौँ,२४ जेठ । सबैभन्दा बढी पटक रक्तदान गरी राष्ट्रिय रेकर्ड बनाएका प्रेमसागर कर्माचार्यले आज १५० औँ पटक रक्तदान गर्दैछन् । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यले आज बागबजारस्थित सिटिस्क्वायर सेन्टरमा विशेष समारोहकाबीच १५० औँ पटक रक्तदान गर्न लागेका हुन् ।
१५० औँ पटकको रक्तदान कार्यक्रममा निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाको समेत सहभागिता हुने बताइएको छ । सोह्र बर्षको उमेर देखि हरेक तीन तीन महिनामा नियमित रक्तदान गर्दै आएका कर्माचार्यले रक्तदान कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गर्दै आएका छन् ।
रक्तदान सम्वन्धी जनचेतना अभिबृद्धि गर्न भन्दै पछिल्लो समय उनले आफ्ना रक्तदानका कार्यक्रम समेत विभिन्न जिल्लामा पुगेर दिने गरेका छन् । तीन महिना पुग्नासाथ एक दिन ढिलो नगरी रक्तदान गर्ने कर्माचार्यलाई सिंगो व्लड बैकको उपमा दिने गरिएको छ ।
हुनपनि रगत नपाएर छटपटाएका विरामीका लागि कर्माचार्य बरदान सावित भएका छन् । रगतका चाहियो भन्न पुगेका व्यक्तिलाई उनले कहिल्यै रित्तो फर्काएका छैनन् । रात दिन, घाम पानी केही नभनी उनी आफै कुँदेर रगतको व्यवस्थापन गर्ने गर्दछन् । ‘यसो गर्दा मलाई आनन्द आउँछ । अरु मेरो स्वार्थ छैन्,’ कर्माचार्य भन्छन् ।
आजको कार्यक्रममा उनले आफूसंगै रक्तदान गर्न आम सर्वसाधारणलाई समेत आग्रह गरेका छन् ।
सम्पर्क इमेल : [email protected]