कान्ति अस्पतालमा बन्ने भयो छुट्टै बाल मनोरोग विभाग
काठमाडौँ, २० जेठ । बाल बालिकामा देखिने मानसिक रोगको उपचार गर्नका लागि कान्ति बाल अस्पतालले छुट्टै भवन निर्माण गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र बाल मजदुर सरोकार केन्द्र(सिविन)को आर्थिक सहयोगमा कान्तिले ४ चल्ले भवन बनाउन लागेको हो ।
दुई चरणमा गरी निमार्ण सम्पन्न गर्ने उक्त भवनको पहिलो दुई तल्ला सिविनले बनाइदिने भएको छ । त्यसका लागि सिविनले तीन करोड रकम छुट्याएको छ । बाँकी दुई तल्ला स्वास्थ्य मन्त्रालयले बनाउने छ । नपुग रकम मन्त्रालय र सिविनले मिलेर वेहोर्ने अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए ।
‘निर्माण सुरु भएको दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यो भवन पहिलो तीन बर्ष सिविनले नै सञ्चालन गर्छ । त्यसपछि मात्रै कान्तिलाई हस्तान्तरण गर्ने सम्झौँतामा उल्लेख छ,’ निर्देशक डा रायमाझीले भने ।
‘नयाँ बन्ने भवनमा दुई तल्ला बाल मनोरोगका लागि छुट्याउने छौँ । आधा चाहि टिचिङ लर्निङको लागि अडिटोरियम हलका लागि प्रगोग गर्छौँ । बाँकी डेढ तल्लामा चाहि अन्य क्यान्सर मुटु जस्ता अन्य सब स्पेश्यालिटी युनिट खडा हुन्छ,’ निर्देशक डा रायमाझीले भने ।
यसैबीच शनिबार स्वास्थ्य मन्त्री गगन थापाले एक कार्यक्रमका बीच नयाँ भवनको शिलान्यास गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले बालबालिकाको उपचारको भरोसा केन्द्र भएको कान्तिलाई गुणस्तरीय र सेन्टर अफ एक्सीलेन्स बनाउन मन्त्रालयको तर्फबाट भरपुर सहयोग हुने बताए । उनले सिविनको सहयोगले त्यसतर्फ अघि बढन समेत मद्धत पुग्ने बताए ।
सम्पर्क इमेल : [email protected]