चार सयभन्दा बढी महिलाको निःशुल्क उपचार

बागलुङ, २० जेठ । जैमिनी नगरपालिका–९ पैंयुथन्थापमा भएको स्त्रीरोगसम्बन्धी बहृत् निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ जना महिलाले लाभ लिएका छन् ।

दुईदिने शिविरमा पाठेघरको जटिल समस्यादेखि सामान्य स्त्रीरोगका बिरामीले जाँच र उपचार सेवा पाएका हुन् । ग्रामीण भेगका महिलालाई लक्ष्य गरी गैरआवासीय नेपाली सङ्घ हङकङ र पैंयुथन्थाप स्वास्थ्यचौकी मिलेर शिविर चलाएका हुन् ।

जाँच गराएकामध्ये सात महिलाको पाठेघरको शल्यक्रिया गरिएको स्वास्थ्यचौकीका प्रमुख कुष्मराज सुवेदीले जानकारी दिए । समस्याको निदान शिविरमै भए पनि शल्यक्रिया भने धौलागिरि अञ्चल अस्पताल बागलुङमा गरिएको छ । शल्यक्रिया गर्दादेखि पूर्ण निको नहुन्जेलको सबै खर्च आयोजकले नै व्यहोर्ने भएको छ । यस्तै १९ महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखिएको जनाइएको छ ।

“पाठेघर खस्ने, महिनाबारी अनियमित हुने, बढी रगत बग्ने, तल्लो पेट दुख्ने जस्ता समस्या भएका महिलाले शिविरबाट लाभ उठाएका थिए”, सुवेदीले भने । आयोजकले बिरामीलाई गुणस्तरीय उपचार सेवा र औषधि वितरणको व्यवस्था मिलाएका थिए । धौलागिरि अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएका दक्ष स्वास्थ्यकर्मीले बिरामीको जाँच तथा उपचार गरेका हुन् । टाढा टाढाका गाउँबाट किशोरीदेखि ज्येष्ठ उमेरका महिलाले शिविरमा सेवा लिन आएको आयोजक गैरआवासीय नेपाली सङ्घ हङकङका अध्यक्ष ललित सुब्बाले बताए।

हङकङमा रहेका नेपाली समुदायबाट आर्थिक सहायता जुटाएर निःशुल्क स्वास्थ्य शिविर राखिएको हो । अध्यक्ष सुब्बाले भने “शल्यक्रिया गर्नुपर्ने बिरामीको निको नहुन्जेको सम्पूर्ण खर्च संस्थाले व्यहोर्छ ।”

शिविरमा आएका महिलालाई निःशुल्क रुपमा ‘सेनेटरी प्याड’ वितरण गरिनाका साथै प्रजनन स्वास्थ्यका विषयमा प्रशिक्षण तथा स्वास्थ्यकर्मी र महिला स्वयम्सेविकालाई आयोजकले सम्मानसमेत गरेको थियो । लामो समयदेखि समस्या पालेर बसेका महिला गाउँघरमै दक्ष स्वास्थ्यकर्मीबाट उपचार सेवा पाएपछि खुसी देखिन्थे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *