बाजुराको यस्तो ब्यथा केन्द्रलाई के थाहा !
कुरा यहि बैशाखको अन्तिम हप्ताको हो। म घरबाट बिभिन्न कठिनाई सहित आफ्नो कार्यथलो बाजुराको मार्तडीको जिल्ला अस्पतालमा पुगेर थकान मेटाउन आराम गर्दै थिएँ।
संगै बसमा आउनुभएकी पान्डुसेन हेल्थपोस्टमा कार्यरत नर्सिंग स्टाफ मधु श्रेष्ठले राति १० बजे मलाई फोन गर्नुभयो, “डाक्टर ! एक गर्भवती आमा जो भख्खरै यहाँ आएपुग्नुभा’ थियो उहाँको पेट भित्रको बच्चाको हात र नाल दुबै बाहिर निस्क्यो अचानकै; र आफै पनि पाठेघरको पानी बगेर आयो।”
फोनमा यो कुरा सुनेर मेरो दिमाग तातेर आयो। अब उता डेलिभरि गर्न नसिकिने; यता मार्तडी जिल्ला अस्पताल आउन ५-६ घन्टा लाग्ने । तै पनि जतिसक्यो छिटो मार्तडी ल्याईपुरयाउनुको विकल्प थिएन । मैले छिटो यता पठाउनुस भनेँ । बढो मुस्किल साथ एउटा जीप खोजेर उहाँहरुले विरामीलाई हामी कहाँ पठाउनु भएछ । राती भनौ कि विहान ३ बजे विरामी हाम्रो अस्पतालमा भेड्कियो ।
तत्काल जाँच सुरु गरिहाल्यौँ । पेटमा रहेको बच्चाको धडकन सुनिएन । आमाको अवस्था उस्तै नाजुक र शिथिल थियो । जाँच पछि थाह भयो बच्चा तेर्सो बसेको रैछ (TRANSVERSE LIE)।
यो अवस्थामा आमा र बच्चा दुबैको ज्यान जान सक्छ यदि तुरुन्तै बच्चाको डेलिभरि (DELIVERY) गर्न नसकेमा। मैले MBBS देखी MD गर्दा सम्ममा नि यस्तो अवस्थामा ५ मिनेटमा EMERGENCY CAESAREAN (LSCS) गरेर दुबैको ज्यान बचाएको मात्र देखेको थिएँ। ६ घण्टामा के के हुन सक्छ भनेर किताबमा मात्र पढेको थिएँ। देखेको थिएन ।
अब मेरा सामु आमाको ज्यान कसरी बचाउने चुनौती थियो। उपाय दुईवटा थिए । प्राकृतिक रुपमा डेलिभरी गराउने कि अप्रेशनद्धारा गर्ने । म तत्काल अप्रेशन गर्ने निर्णयमा पुगेँ । प्राकृतिक रुपमा vaginal delivery गराउँदा पाठेघर फुटेर आमाको पनि ज्यान जान सक्ने अवस्था भएको र आमाको हालत पनि सुस्त र थकित भएकोले बिरामी र बिरामी पक्षको मन्जुरीमा अपरेसन नै गर्ने निर्णय भयो।
अपरेसनको लागि सबै टोली तयार पारियो। बिहानको ५ बजेको थियो सुरु गर्दा। तर बच्चा निकाल्न गाह्रो भयो। पाठेघर खुम्चेर बसेको र पाठेघरको पानी पनि सुख्खा भइसकेकोले बच्चालाई बाहिर निकाल्न त के हल्लाउन पनि हात्तिलाई चलाउनु भन्दा गाह्रो भयो। आधा घण्टा भन्दा बढी समय लाग्यो बच्चा निकाल्न। आमाको रगत धेरै बग्यो।
अस्पतालकै नर्सिंग स्टाफ धनकला र एक कोपिला शाही नामकी रगतदाताको रक्तदान बाट उक्त आमाको ज्यान बचाउन सफल भयौँ हामी। र एक हप्ता पछि सकुशल हिंडाएर नै आमालाई घर पठायौं।
यो मेरो जिवनको सबैभन्दा मुस्किल घटना हो । स्वास्थ्य क्षेत्रमा काम गरेको मेरो ७ ८ बर्षको अनुभवमा यति कठिन कहिल्यै महसुस भएन । हुन त सुगम स्थान र अस्पताल नजिक भएका बेला यस्ता केश सामान्य नै हो । किनकी समयमै अस्पतालमा पुगेको खण्डमा अप्रेशन गरेरै भएपनि आमा र बच्चाको ज्यान जोगाउन सकिन्छ ।
तर बाजुराजस्ता ठाँउमा यहि सामान्य मानिने केशहरु डरलाग्दो बनेर आउँदो रहेछ । कारण के भने समयमै अस्पताल आउन न यातायातको सुविधा छ । न राम्रो बाटोघाटो नै । अझ कतिपय स्थानमा त जनचेतनाको अभावमा समयमै अस्पताल लैजानु पर्छ भन्ने मानसिकता समेत पुगेको देखिदैन ।
जिल्लामा अहिले सम्म एम्बुलेन्सको व्यवस्था भएको छैन । सरकार र सम्बन्धित निकायले बेलैमा यसबारे गहन बिचार गरे भबिष्यमा यस्ता घटना दोहोरिने थिएन कि ?
# एमडीजीपी डाक्टर महर्जन बाजुरा जिल्ला अस्पतालमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]
One thought on “बाजुराको यस्तो ब्यथा केन्द्रलाई के थाहा !”