जडीबुटी चोरी निकासी बढ्दै
पर्वत, ९ जेठ । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे क्षेत्रमा रहेका जडीबुटी निकासी हुन सकेको छैन ।
सयाँै प्रकारका जडीबुटी सङ्कलन तथा बिक्री गर्न सम्बन्धित निकायले चासो नदिँदा दिनप्रतिदन चोरी निकासी बढ्दै गएको छ । स्थानीय प्रशासनले चासो नदिँदा यस क्षेत्रमा जडीबुटीको चोरी निकासी बढेर गएको स्थानीयवासीको गुनासो छ । पाँच हजार ५०० हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्रको वनजङ्गल जडीबुटीका लागि प्रख्यात छ ।
उक्त वन क्षेत्रमा ११२ थरिका सुनगाभा र ३०० भन्दा बढी लोपोन्मुख प्रजातिका वनस्पति पाइने गरेको छ । विश्वमै दुर्लभ मानिएका जडीबुटीसमेत यही क्षेत्रमा पाइन्छ । यहाँ दिउँसै तस्करले जडीबुटी तस्करी गर्ने गरेका छन् । मुलुकमै सबैभन्दा बढी सुनगाभा यसै वन क्षेत्रमा पाइन्छ ।
त्यस्तै दुर्लभ मानिएका लौठ सल्ला, चाँप, फलाट, लालीगुराँस, फस्रु पनि यही वनमा पाइने भएकाले चोरी निकासीको गिरोह सक्रिय बन्दै आएको हो । विगत केही वर्षदेखि जडीबुटीको चोरी निकासी बढ्दै गएको पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङ बताउछन्।
“तीनवटै जिल्लाको प्रशासन उक्त क्षेत्रमा दैनिकजसो भइरहेको चोरी निकासीबारेमा बेखबर बनेको छ,” स्थानीयवासी मनोज गुरुङ भन्छन् । जडीबुटी तस्करी गर्न पोखरा, काठमाडौँदेखि आउने गरेका छन् ।
“बर्सेनि लाखौँ रुपैयाँ बराबरको जडीबुटी चोरी निकासी हुन्छ,” स्थानीयवासी विष्णुकुमारी गुरुङले भने । चोरी तस्करीका कारण जडीबुटी सकिँदै गएको छ । वन क्षेत्र वरपर बाक्लो मानव बस्ती नभएका कारण समेत तस्करलाई जडीबुटी सङ्कलन गर्न सहज भएको छ । रासस
सम्पर्क इमेल : [email protected]