३७७ जनाले गराए नि:शुल्क मिर्गौला परीक्षण
काठमाडौँ, ७ जेठ । आँधीखोला तमू समाज काठमाडौँले शनिबार आयोजना गरेको निशुल्क मिर्गौला परीक्षण शिविरमा ३७७ जनाले परीक्षण गराएका छन् । काठमाडौँको टोखारोडस्थित देउराली सामाजिक संघको भवनमा भएको उक्त शिविरको मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान पुल्चोकको प्राविधिक सहयोग गरेका थिए ।
विहान ११ बजेबाट शुरु भएको सो शिविरमा मानवअंग प्रत्यारोपण केन्द्रबाट बरिष्ठ नेफ्रोलोजिष्ट, रेडियोलोजिष्ट, मेडिकल अफिसर, ल्याव टेक्निसियन तथा स्टाफ नर्स लगायत २० जनाको प्राविधिक टोली खटिएको थियो । शिविरमा आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौँका सदस्यहरु तथा स्थानीय बासिन्दाहरुले मिर्गौला परीक्षण गराएका थिए ।
सोही अबसरमा मानव अंगप्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले मिर्गौला रोग सम्बन्धि बिस्तृत जानकारी दिएका थिए । उनले मिर्गौला रोग कसरी लाग्छ र सो रोग लाग्न नदिनको लागि के गर्ने भन्ने बारेमा पनि जानकारी दिएका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष श्रीप्रसाद गुरुङले निशुल्क स्वास्थ्य परीक्षण गरिदिएकोमा मानब अंग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिस्ठानलाई धन्यवाद दिएका थिए ।
सो अवसरमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोकलाई मायाको चिनो तथा कदर पत्र बितरण गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]