सरकारको निर्णय विरुद्ध औषधि आयातकर्ताले दिए धर्ना

काठमाडौँ, ३ जेठ । औषधि आयातमा सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधि आयातकर्ताहरुले मंगलबार औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् ।

नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा विभागको परिसरमा बिहान १० बजेदेखि १२ बजेसम्म देशभरिका आयातकर्ता व्यवसायीले धर्ना दिएका हुन् । आन्दोलनमा औषधि प्रवद्र्घक संघ र फ्यानकनको पनि समर्थन रहेको बताइएको छ ।

सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरिय औषधिको आयातमा रोक लगाउने निर्णय गरेपछि चरणबद्ध आन्दोलनमा उत्रेका आयातकर्ता व्यवसायीले सो निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग अघि सारेका छन् ।

उनीहरुले २८ बैशाखमै औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई भेटेर विरोध जनाउँदै माग सहितको ज्ञापनपत्र बुझाएका थिए ।

स्वास्थ्य मन्त्री गगन थापाले केही स्वदेशी औषधी उत्पादककर्ताको प्रलोभनमा परेर सस्तो र गुणस्तरीय औषधी आयातमा रोक लगाएर जनतालाई महंगोमा औषधि किन्न बाध्य बनाउन लागेको उनीहरुको आरोप छ ।

नेपाल औषधी आयातकर्तासंघका महासचिव पवन आचार्यले स्वास्थ्यमन्त्री थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बदनाम बनाउन खोजेको दाबी गरेका छन् । केही दिन पहिले मन्त्री थापाले औषधि व्यवसायीले ४ सय देखि २२ सय प्रतिसतसम्म औषधिमा नाफा खाने गरेको पाइएको आफ्नो वेभ पेजमा पोस्ट गरेपछि औषधि आयातकर्ताले त्यसमा सत्यता नभएको भन्दै प्रमाणित गरेर देखाउन मन्त्री थापालाई चेतावनी दिदै आएका छन् ।

आचार्यले भने,‘आफ्नो सस्तो लोकप्रियताका लागि मन्त्रीले औषधि आयातकर्तालाई बदनाम गराउन पाइदैन ।’ औषधिको मोल घटाउ भन्दा नमान्ने स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले स्तरीय औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेरकाले निर्णय तत्काल फिर्ता नभए सबै औषधिको आयात ठप्प पार्ने संघका अध्यक्ष अन्जन पडासैनीले बताए ।

आफ्ना माग सम्बोधन गर्न छाडेर औषधिव्यवस्था विभागका महानिर्देशक विदेश सयरमा रहेको उनको भनाई छ । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *