स्वास्थ्य कार्ड लिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुट

चितवन, २ जेठ । चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ ।

नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पतालले पहिलो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गरेको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष प्रा डा अर्जुन श्रेष्ठले न्यून आय भएका बिरामीलाई सहज होस् भनेर यसरी छुटको व्यवस्था गरिएको जानकारी गराए।

अहिले अस्पतालले चौबीसै घन्टा आकस्मिक सेवासमेत दिइरहेको र वार्षिकोत्सवका अवसरमा एक हप्तासम्म विभिन्न छुटका स्वास्थ्य कार्यक्रमहरु ल्याएको उनले जानकारी दिए । अस्पतालले जेठ ३, ४ र ५ गते ओपिडी सेवा निःशुल्क गर्ने घोषणा गरेको छ ।

यस्तै, सिटी स्क्यान सेवा र अन्य स्वास्थ्य परीक्षणमा रु ५० प्रतिशत छुट, यही जेठ १ गतेदेखि बालरोग विशेषज्ञ सेवामा हरेक दिन बिहान ७ देखि ९ बजेसम्म निःशुल्क ओपिडी स्वास्थ्य सेवा, हरेक महिलाको १ गते सम्पूर्ण विभागको ओपिडी सेवा निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।

जेठ ११ गते परेको विश्व थाइराइड दिवसका अवसरमा थाइराइड परीक्षणमा समेत ५० प्रतिशत छुट दिने अस्पतालका सञ्चालक ध्रुव काफ्लेले जानकारी दिए । अस्पताल हाल ५० श्ययामा सञ्चालित छ ।

निजी अस्पतालमध्ये उत्कृष्टमा पर्ने मनकामनाले एक वर्षमा १० हजार बिरामीको उपचार गरेको आज सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *