उदयपुर जिल्ला अस्पतालमा उपचार सेवा विस्तार
सुखिलाल चौधरी, उदयपुर ३१ बैशाख । प्रसूति सम्वन्धी समस्याको मात्रै शल्यक्रिया हुदै आएको उदयपुर जिल्ला अस्पतालले शुक्रबारबाट अन्य रोगको समेत शल्यक्रिया थालेको छ । अस्पतालले शुक्रबार पहिलो दिन एपेन्डिसाईटिस र जन्मजात मासु पलाएको गरी दुई महिलाको सफल शल्यक्रिया गरेको हो ।
एपेन्डिसाइटिसको समस्या लिएर जिल्ला अस्पताल पुगेकी त्रियुगा नगरपालिका ४ वगाहाकी ४५ बर्षीया भिमकुमारी मगर र जन्मजात दाहिने हातमा मासु पलाएर रोगसँग लडदै आएकी त्रियुगा नगरपालिका १४ साउनेकी १८ बर्षीया ममता मगरको सफल शल्यक्रिया भएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. फडिन्द्र बरालको नेतृत्वमा रहेको चिकित्सक टोलीले दुबैको शल्यक्रिया गरेको हो । अकास्मत पेट दुखेर उपचारका लागि जिल्ला अस्पताल पुगेकी भिमकुमारीले सफल अप्रेशनपछि भनिन्, ‘मैले त सामान्य उपचार गरेर फर्किने सोच बनाएकी थिए, स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको थाहा भयो, पैसा नभएको बेला वाहिर जाने कि नजाने भन्ने चिन्ता थियो एकैछिनमा डा. सावले यहीँ अप्रेशन गरिदिनु भो । प्रसूति वाहेक अन्य शल्यक्रिया हुन्छ भन्ने कुरा पहिला त पत्याउनै गाह्रो भएको थियो तर उहाँहरुले विश्वास दिलाउनु भयो । शल्यक्रिया गरिदिनु भयो अहिले एक दम खुशी छु । ‘
जन्मजातै दाहिने हातमा मासु पलाएर चिन्तित बनेकी ममताको भनाई पनि उस्तै छ । डाक्टरसँग सल्लाह लिएर सुबिधायुक्त ठाउँमा जाने सोचले अस्पताल पुगेकी उनलाई डाक्टरले यही अप्रेशन हुन्छ भने पछि सहज ढंगले शल्यक्रिया गरेको बताइन् । ‘परिवारले पनि पहिले त सफल हुने हो कि होइन भनेर संकोच त मान्नु भएको थियो यद्धपी अप्रेशन भयो र सफल भयो,’ उनले भनिन् ।
अस्पतालले यसअघि आबश्यक उपकरण र दंक्ष जनशक्तिको अभावमा प्रसूति बाहेकका अन्य रोगका शल्यक्रिया सेवा गराउन सकेको थिएन । स्वास्थ्य विभागको निर्देशनसँगै जिल्ला अस्पतालले भर्खरै आफ्नो सेवासुबिधामा विस्तार गरेको हो ।
नयाँ सुबिधाअन्र्तगत अस्पतालले हात्तिपाईले रोग लागेपछि देखा पर्ने हाइड्रोसिलको निशुल्क अप्रेशन, एपेन्डिसाइटिस, हर्निया, ऐंजेरु, सिजरिङ सेक्सन, सर्पदंश, रेविज, इसिजि, एआरटी सेन्टर स्थापना, निशुल्क र सहशुल्क फार्मेसी सेवा, एकद्धार संकट व्यवस्थापन केन्द्र, डेण्टल सेवा, इएसएस (पेयइङ क्लिनिक) लगायत रहेका छन् ।
यसकासाथै अपरेशनसहितको प्रसुति सेवा, भिडियो एक्सरे, ल्याब, एक्सरे सेवालाई २४ घण्टा उपलब्ध हुने निमित्त मेडिकल सुपरिटेण्डेड डा. फडिन्द्र बरालले जानकारी दिए ।
५० सैयाको जिल्ला अस्पतालमा अहिले ३ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत रहेका छन् । अस्पतालले विहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडि पछि दिउँसो ३ देखि ५ बजेसम्म मेडिकल अधिकृतको २ सय ५० र विशेषज्ञको ३ सय ५० रुपैँया पुर्जा शुल्क लिई सार्वजानिक विदा र शनिबार वाहेकका दिनमा पेइङ किल्निकसमेत सञ्चालनको तयारी गरेका अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए ।
त्यसैगरी निशुल्क रुपमा पाईने ७० प्रकारका औषधि वाहेक अन्य औषधिमा न्युनतम १० प्रतिशत छुटमा सर्वसाधरणलाई अस्पताल परिषर भित्रैबाट उपलब्ध गराईने सुपरिटेण्डेड बरालले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]