विद्यालयमा ग्याँस फैलिएपछि ३१० छात्रा अस्पताल भर्ना
नयाँदिल्ली, २३ वैशाख । भारतको एउटा महिला विद्यालयका ३१० जना छात्रा शनिबार अस्पताल भर्ना भएका छन् । दिल्लीस्थित तुगलकाबादमा रहेको रानी झाँसी सर्वोदय कन्या विद्यालयमा अध्ययनरत छात्राहरु अस्पतालमा भर्ना भएका हुन् ।
विद्यालयमा पढाई भइरहेका बेला रासायनीक ग्यास फैलिएर विरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अङ्गमा नकारात्मक असर परेर अफ्ट्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । नयाँदिल्लीमा रहेको एक विद्यालय नजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात चुहिएको प्रहरीको भनाइ छ ।
“३१० जना छात्रा नजिकैका चार ओटा अस्पतालमा भर्ना भएका छन्, गम्भीत तथा सिकिस्त बिरामी त कोही पनि छैनन्, सबै सामान्य अवस्थामा छन्,” एक जना प्रहरी उपप्रमुख रोमिल बानीयाले पत्रकारसँग भने । उनले ग्यास चुहावटका बारेमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइसकिएको पनि बताए ।
भारतमा ग्यास चुहावटका घटना असामान्य होइन । यसअघि सन् २०१४ मा छत्तिसगढमा रहेको एउटा स्टील कारखानामा ग्यास चुहावट हुदा छ जनाको मृत्यु भएको थियो ।
सम्पर्क इमेल : [email protected]