महोत्तरीमा ठेउला र दादुराको प्रकोप बढ्यो
महोत्तरी, २१ वैशाख । चर्को घाम बढेसंगै महोत्तरी जिल्लाका विभिन्न स्थानमा ठेउला र दादुरा रोगको प्रकोप देखिन थालेको छ । जिल्लाका तीन नगरपालिका – जलेश्वर, गौशाला, बर्दिबाससहित गाउँपालिकाहरु लोहारपट्टी, भङ्गहा, सम्सी, सोनमा, मटिहानी, महोत्तरी, एकडारा, औरही, बलवा, रामगोपालपुर, मनरालगायत स्थानमा ठेउला तथा दादुराको प्रकोप देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
यतिवेला तथा दादुराको केशहरु बढी आएको छ । ससाना बालबालिका सहित युवायुवती तथा बुढापाकामा समेत यो रोगको प्रकोप देखिएको छ जिल्ला अस्पताल जलेश्वरका वरिष्ठ मेडिकल अधिकृत डा द्वारिकाप्रसाद साहले बताए ।
सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल तथा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकास्थित स्वास्थ्य र उपस्वास्थ्य चौकीमा अहिले ठेउला र दादुराका रोगी आउने क्रम बढेको उनले बताए ।
उपचारका गर्नुको सट्टा धूप हालेर समेत बस्छन्
महोत्तरीका धेरैजसो गाउँठाउँमा ठेउला र दादुरालाई देवीको रुप भनेर यसको इलाज उपचार गराउँदैनन् भने यो रोग रहुन्जेल घरका मानिसले तेल नखाने, नलगाउने र तेलमा भुटेका खानेकुरा नखाने चलन रहेको छ ।
ठेउला र दादुरा लागेका बालबालिका तथा अन्य व्यक्तिलाई कतै कतै त देवीदेवता मानेर दैनिक धूप, आरती र पूजाआजासमेत गर्ने गरेको देखिन्छ । सरसफाइको अभावमा विशेषगरी गरिब परिवारमा हुने ठेउला र दादुरा रोगले महोत्तरीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि गरिब दलित बस्तीका हरेक घरपरिवारलाई बिस्तारै छुँदै गइरहेको चिकित्सकको भनाइ छ ।
जिल्लाको ग्रामीण बस्तीमा प्रायः जसो ठेउला र दादुरा रोगका रोगीलाई उपचार गराउने चलन छैन भने एक हप्तापछि आफैँ निको हुने विश्वास गरिन्छ । तर सरुवा रोग हुनाले एकपछि अर्को व्यक्तिमा सर्दै गइरहेको देखिएको जिल्ला अस्पताल जलेश्वरका स्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए । रासस
सम्पर्क इमेल : [email protected]