पोलियो खोप कार्यक्रम अवरुद्ध पार्नेमध्ये एक बाहेक १६ जनाको निलम्वन फुकुवा
काठमाडौँ, १७ बैशाख । गत फागुनमा पोलियो खोप कार्यक्रमलाई अवरोध पुरयाएपछि लिनम्वनमा परेका १७ जना स्वास्थ्यकर्मी मध्ये १६ जनाको निलम्वन फुकुवा भएको छ ।
दुई महिना पुग्न एक साता बाँकी रहँदा स्वास्थ्य मन्त्रालयले उनीहरुको फुकुवा गरेको हो । यद्धपी एक जनाको भने निलम्वन अवधी एक महिना बढाइएको छ । मन्त्रालयले निलम्वनमा परेकामध्ये ८ जना बाहेक सबैलाई पन्ध्रदिन भित्र जवाफ पेश गर्ने गरी स्पष्टिकरण समेत सोधेको छ ।
पदस्थापनको माग राख्दै आन्दोलनमा उत्रिएका सीअहेवहरुले सरकारले गत २१ र २२ फागुनका लागि तय भएको पोलियो थोपा खुवाउने कार्यक्रमलाई अबरोध गरेका थिए । खोप कार्यक्रमलाई नै प्रभावित पारेपछि मन्त्रालयले २२ फागुनमा विभिन्न जिल्लाका १७ जना कर्मचारीलाई निलम्वन गर्दै उनीहरुमाथि छानवीन समेत सुरु गरेको थियो । सोही समितिले दिएको प्रतिवेदनको आधारमा गत १५ बैशाखमा बसेको सचिवस्तरीय निर्णयबाट निलम्वन फुकुवा भएको हो ।
फुकुवा गरिएका १६ जना मध्ये ७ जनाको चेतावनी सहित निलम्वन फुकुवा गरिएको छ । त्यसरी फुकुवामा पर्नेहरुमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका कोचेअ राजकुमार थापा, महेन्द्रनगर स्वस्थ्य चौकी सुनसरीका सिअहेव पृथ्वीचन्द्र भगत, मधेशा स्वास्थ्य चौकी सुनसरीका सिअहेव महेश पोखरेल रहेका छन् । त्यस्तै बैजनाथ स्वास्थ्य चौकी मोरङका सिअहेव रमेश कार्की, सिदाहा स्वास्थ्य चौकी मोरङका सीअहेव सञ्जयकुमार काफ्ले,जिल्ला जनस्वास्थ्य कार्यालयक सप्तरीका निमित्त प्रमुख नागेन्द्रप्रसाद चौधरी र जिल्ला स्वास्थ्य कार्यालय धनुषाका निमित्त प्रमुख सचितानन्द देव रहेका छन् । उनीहरुलाई चेतावनी सहित निलम्वन फुकुवा गरिएको हो ।
यस्तै मन्त्रालयले अरु सात स्वास्थ्यकर्मीहरुलाई दुई तलवबृद्धि किन नरोक्ने भन्दै १५ दिनको म्याद दिएर स्पष्टीकरण सोध्दै निलम्वन फुकुवा गरेको छ । स्पष्टीकरण सोधिएकाहरुमा सिपाडोड स्वास्थ्य चौकी भक्तपुरका सीअहेव शेषराज दाहाल, बसन्तपुर स्वास्थ्य चौकी सुनसरीका सिअहेव देवनारायण साहु, धर्मस्थली स्वास्थ्य चौकी काठमाडौँका सीअहेव तोपबहादुर थापा रहेका छन् ।
त्यस्तै देवस्थल स्वास्थ्य चौकी सल्यानका सीअहेव बासुदेव पोखरेल, बेदौली स्वास्थ्य चौकी कपिलवस्तुका सीअहेव बीरेन्द्रकुमार मिश्र, बलरामपुर स्वास्थ्य चौकी कपिलवस्तुका सीअहेव सुरेन्द्रराज जोशी र सखुवा प्रसौनी स्वास्थ्य चौकी पर्साका सीअहेव राजेशप्रसाद रौनियार रहेका छन् । उनीहरुले १५ दिन भित्र यसकारण तलवबृत्ति रोक्नुहुँदेन भन्ने आसयको जवाफ पठाउनु पर्नेछ ।
समितिकै सिफारिसमा सिराहाका स्वास्थ्य प्रमुख तथा अस्पतालका मेसु डा दयाशंकरलाल कर्णलाई ५तलव बृद्धि किन नरोक्ने भन्दै स्पष्टीकरण सोधिएको छ । उनलाई पनि नरोक्नुपर्ने कारण भए १५ दिन भित्र लिखित जवाफ पेश गर्न भनिएको छ । छानवीन समितिले मेसु समेत रहेका कर्ण ४ महिनाको अवधीमा २२ दिन मात्रै कार्यालयमा हाजिर भएको पाएको थियो ।
यता सिर्सिया स्वास्थ्य चौकी पर्साका सीअहेव अनिलकुमार पाण्डेलाई थप छानवीन गर्नुपर्ने भन्दै निलम्बन अवधी थप एक महिना लम्व्याइएको छ । उनी ७७ दिनसम्म विना जानकारी कार्यालयमा अनुपस्थित रहेको भन्दै स्वास्थ्य सेवा ऐनको दफा ७४ ज अनुसारका बर्खास्त किन नगर्ने भन्दै १५ दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा कार्यरत निजामती कर्मचारी छेदी प्रसाद यादवलाई पनि चेतावनी सहित निलम्वन फुकुवा गरिएको छ ।
‘छानवीन टोलीले दिएको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको हो,’ मन्त्रालयका उपसचिव बाबुराम खनालले भने, ‘कसुर हेरी कतिपयलाई चेतावनी दिएको छ । कतिपयलाई स्पष्टीकरण सोधिएको छ । यसैको आधारमा थप प्रक्रिया अघि बढछ ।’
सम्पर्क इमेल : [email protected]