श्री ‘स्वास्थ्य-नी’ लघुपुराण
कुनै समयमा पाठकहरुमा श्रेष्ठ, नेपाल-खण्ड बारे गहिरो चिन्ता भएका, स्वास्थ्य दरवारमा फुर्सदमा राम्रा लेख खोज्दै गरेका प्रिय पाठकको आँखा यो लेखमा पर्यो र तिनको मनमा ‘स्वास्थ्य’नी कथा के रहेछ भन्ने लाग्यो ।
मनमा यो लागिरहँदा अकस्मात आधा निलो-आधा रातो नम्बर प्लेट भएको चिल्लो चार-पांग्रे बाहनमा चढी ‘कुमार’जी टुप्लुक्क त्यही आइपुगे । ‘कुमार’जी आएको देखेर बाहिरी मनदेखि प्रसन्न भई श्रद्धा भक्तिपूर्वक चाकडी, चाप्लुसी गर्नु परीकन, “हे ‘कुमार’जी, यो ‘स्वास्थ्य’नी पुराण के रहेछ ? विस्तारमा बयान गरिबक्स्योस्” भनी प्रिय पाठकले बिन्ति गर्दा भए ।
प्रिय पाठकको प्रश्न सुनेर ‘कुमार’जी खिस्स दाँत देखाउँदै फिस्स हाँस्नु भयो र कपाल कन्याउदै स्वास्थ्य क्षेत्र के-कसरी अस्त-व्यस्त रहयो भनी सुनाउनु इक्षुक हुँदा भए ।
सुनाउन सुरु गर्न नपाउदै फोनको घन्टी बजेपछि सारांशमात्र भनेर हिड्न खोजेका ‘कुमार’जीलाई प्रिय पाठक भन्छन्- हे ‘कुमार’जी हजुर कस्ता भने, आफ्ना ‘सल्लाहकार’बाट थोरै भएपनि स्वास्थ्य क्षेत्रका जानकारी गराइएका, राजनीतिका खेलाडी, कार्यकर्ता तथा जनताका प्रिय होइबक्सिन्छ ……।
म कस्तो भने….., बाल्यकालदेखि पढाइमा अब्बल, कक्षामा अग्रस्थानमा रहेको र अहिले आएर अल्प-ज्याला भएको सानो प्राबिधिक जागिर पाएर हजुरसंग बल्ल-तल्ल तीन दिनको दौड-धुप पछि हजुरको व्यक्तिगत सहयोगी(PA)संग अनुमती पाएर भेट्ने मौका पाएको निमुखा, कमजोर, शोर्स-फोर्स नभएको, राजनितीको चलखेल, कर्मचारीतन्त्र, बेथिती, भ्रष्टाचारी र कमिसनखोरी बारे सुनेको तर केहि पनि जानकारी नभएको सामान्य मनुष्य । यो स्वास्थ्य क्षेत्र के-कसरी धरासाही भएको रहेछ ? के-के जटिल समस्या देखिन्छ? समाधान यदि सम्भव भए के-के छन् भनी हजुरको मुखारविन्दबाट प्रष्ट हुन पाए धन्य हुने थिएँ’ भनी बिन्ति गरे ।
प्रिय पाठकका मिठा कुरा सुनेर ‘कुमार’जी मुस्कुराउदै आज्ञा गर्नुहुन्छ- हे महासय, तिमी एकचित्त भई सुन ।
स्वास्थ्य क्षेत्र सबै क्षेत्रहरुमा श्रेष्ठ, मनुष्यको जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र तर कहिले पनि नेपाल खण्डका आफूलाई सधै राज्यको शासनको आसनमा टिकाउन आफ्नो जीवनको अन्त्यसम्म पनि जस्तोसुकै पापकर्म गर्न पछि नहट्नेहरुले भने यो क्षेत्रको बागडोरलाई सम्हाल्न कहिले अग्रसरता भने देखाएनन् ।
तर मैले यो क्षेत्रमा केहि प्रभाव पार्छु भनी नै आएको हुँ र प्रयासरत छु । नेताहरु प्रायः ज्ञानी-विज्ञानी नभए पनि कस्ता भने सत्ता सञ्चालनमा साम-दाम-दण्ड-भेदको प्रयोग गरीकन नेपाल-खण्डलाई जहिले पिछडिएको बनाई राखेर आफ्नो शासन जसोतसो कायम भने गरिराख्ने प्रकारका ।
‘गरीब’ कस्ता भने जहिले ती नेता भनाउदाले चुनावका बेला मात्र सम्झिने, तिनका कुनै नीति नियम-हक-अधिकार थाहा नभएका निमुखा, बढि रोग-ब्याधी हुने, उपचारको पैसा नहुने र परिवारको हेरचाह गर्ने कि दुई छाक हात-मुख जोड्ने बारे सोच्नुपर्ने जहिले दुखी हुने जातका …..।
यस्तो बयान सुनेपछि भावुक पाठकले रसाएको आँखा लिएर जिज्ञाशा गर्दा भए, – “यो स्वास्थ्य जस्तो बिषेश क्षेत्र पनि कसरी यसरी छाँयामा परेको होला मान्यवर ? गरिबको बारे किन कसैले नसोचेका ? थप बिस्तारमा जान्ने इक्षा जाग्यो , म निकै उत्सुक भए, प्रष्ट गरिबक्सियोस् ”
यति सुनिसकेपछि कुमार ‘जी’ पुन: आज्ञा गर्दा भया -“ हे प्रिय पाठक, बाँकी बिस्तृत चर्चा अर्को अध्यायमा गरौँला” । यती भनि ‘कुमार’जी आफ्नो चारपांग्रे चिल्लो बाहनमा कुनै बिशेष काममा आफ्ना अंगरक्षक सहित कतै हिड्दा भए ।
…………………………………………………………………………………………………………….
इति श्री स्वास्थ्य लघुपुराणे, प्रथम खण्डे, कुमार-पाठक सम्बादे, श्री ‘स्वास्थ्य’नी ब्रत कथा प्रथमोध्याय समाप्त ।।
ऽऽ द्वितिय खण्ड ऽऽ
प्रिय पाठकले पाँच घण्टा दृढ प्रतिक्षा गरे पश्चात आफ्ना दुतहरु र अंग-रक्षक समेत आफ्नो आधा निलो-आधा रातो नम्बर प्लेट भएको चिल्लो चार-पांग्रे बाहनबाट धर्ती टेकी ‘कुमार’जीले प्रिय पाठकलाई फेरि दर्शन दिदा भए ।
पाठकले ‘कुमार’जीलाई प्रथमोध्यायमा भएको सम्बादको स्मरण गराईकन बिस्तारमा प्रष्ट पार्न भनी बिन्ती गरेपछि ‘कुमार’जी मुस्कुराउदै आज्ञागर्नुहुन्छ,…. ‘हे पाठक म आज निकै व्यस्त छु , समयको अभाव छ तर म आफ्नो एक नयाँ दुत जो एक चिकित्सक पनि हुन् तिनलाई तिम्रा इच्छा पुरा गर्न भनी निर्देशित गर्दै विदा हुन्छु ।’
कुमार ‘जी’को निर्देशन पछि कुमार-दुत चिकित्सक तत्काल हाजिर भई आज्ञा गर्दा भए …….’ हे पाठक महासय, मेरा स्वामी ‘कुमार’जीले यहाँलाई जे-जती बयान गरे ती तिनका राजनैतिक दृष्टिकोण तर साचो कुरा नै भन्छु म । तर समस्या निकै पेचिला र बहुक्षेत्रिय छन् । म यहालाई मेरो जानकारीमा भएको नेपालखण्डको स्वामित्व भएको स्वास्थ्य संस्थाहरुको उपमा दिन्छु र त्यसबाट यहाँका जिज्ञासाका तिर्सनाहरु सायद तृप्त हुनेछन् । हे पाठक, ‘तिमी एकाग्र भएर सुन ……।
एउटा स्वास्थ्य संस्था कस्ता भने नेपालखण्डको महानगरी राजधानी भन्दा दुर-दराज ठाँउमा त्यसको नाम भने पुरा क्षेत्रलाई स्वास्थ्य सेवा दिने खालका क्षेत्रीय तर बिरामी भर्ना हुनलाई शैयाहरु भने निकै कम छट्टयाइएको ।
अर्को कस्ता भने राजधानीभन्दा केही घण्टाको दुरीमा र ३०० बिरामी शैया भएका, दिनकै ३-४सय बिरामी आउने तर मान्यता भने जिल्ला अस्पताल सरह पाएका र कर्मचारी पनि सोहि अनुरुप भएका, जहिले नपुग ।
‘चिकित्सकहरु गाँउ गाँउमा पुर्याउने’ भन्ने लोकप्रिय भाषन गर्न नछुटाउनेहरुले जिल्ला त के अञ्चल अस्पतालमा पनि कहिले स्थायी कर्मचारी पुरा गर्न नसकेको भने देखेनन् । जहिले बधुवा-मजदुर चिकित्सकहरुलाई सिमीत अधिकार र सेवा सुबिधा दिएर देशका कुना-काप्चामा चिकित्सकको उपस्थिती देखाउन मात्र खोज्ने । त्यसमा पनि राजनीतिक प्रभावले गर्दा असमान बितरण, चाहिनेमा रिक्त र नचाहिने ठाँउमा चिकित्सकको घुइचो र कोहि केबल हाजीरी पुस्तकमा मात्र ड्युटि गर्ने गरेका । काम गर्न खोज्ने भने प्रसाशनिक अनुभव र तालीम बेगरका अनि तल्ला कर्मचारीले पनि नटेर्ने, सहयोग नगर्ने । दशकौ देखि एकैठाँउमा अड्डा जमाई जागिर खाइआएकाले के गन्थे र ६ महिना -१ बर्ष मात्र बस्नेलाई …..! ?
चिकित्सकले आफ्नो सेवा प्रदान गर्नलाई चाहिने आधारभुत औजार-उपकरण-औषधी कहिले पुग नहुने र माग गर्दा बर्षौ सम्म ‘खरिद हुदैछ, बजेट नै छैन..’ जस्ता गैरजिम्मेबार उत्तर सामना गर्न पर्ने । सिमीत श्रोत-साधनका माझ काम गर्दा यदा-कदा कुनै दैवसंजोग स्वास्थ्य दुर्घटना हुँदा सम्पूर्ण औलाहरु चिकित्सक एवं स्वास्थयकर्मी तिर तेर्सिने र कयौ पटक अति नै चरम अभद्र व्यबहार, मानहानी र भौतिक हिंसामा पनि पर्ने गरेका …..।
पाठक रसिला आँखाले सोध्दा भए-“हे कुमार-दुत ‘जी, …..यी चिकित्सक भने समस्या बारे किन केही नबोल्ने जातका ?” कुमार-दुत अलि सम्हालिएर बर्णन गर्दा भया …..
‘नेपालखण्डमा स्वतन्त्र को बोली नसुनिने र चिकित्सकहरु कस्ता भने, कोही आ-आफ्ना स्वार्थमा लागेका, तिनीहरुबीच बलियो एकता र बोल्ने संघ नभएका र भएका पनि प्राय सत्ता-रथीहरुबाट आशिर्वाद थाप्ने खालका । कोहि त कस्ता भने आफुलाई स्वघोषित ‘अरुभन्दा बिषेश’ मान्ने खालका र क्रान्ती हामीले गर्न नमिल्ने भन्ने सोच राख्ने खालका ! चिन्ता गर्ने तर अग्रगामी चिन्तन हुनेको कमी भएका ।
यत्तिकैमा कुमार-दुत को दुरसम्पर्क यण्त्रमा कुमारजीको तस्विर सहित घण्टि बज्यो र उनी जी ….हस ….हजुर …..भन्दै अन्तरध्यान हुँदा भया ।
…………………………………………………………………………………………………….
इतिश्री स्वास्थ्य लघुपुराणे,द्वितिय खण्डे, कुमारदुत-पाठक सम्बादे, श्री ‘स्वास्थ्य’नी ब्रत कथा द्वितिध्याय समाप्त।।
ऽऽ तृतिय खण्ड ऽऽ
प्रिय पाठक आफ्ना पेटपुजा गरिकन लगातार प्रतिक्षा गरे पश्चात आफ्ना दुतहरु र अंग-रक्षक समेत आफ्नो आधा निलो-आधा रातो नम्बर प्लेट भएको चिल्लो चार-पांग्रे बाहनबाट धर्ती टेकी ‘कुमार’जीले प्रिय पाठकलाई फेरि दर्शन दिदा भए ।
पाठकले आफ्ना अझ केहि जिज्ञासा अझ पनि तृपत नभइसकेकाले बाकी बर्णन गरीदिन भनी विनम्र विन्ति गर्दा भए।
प्रिय पाठकको यस्ता कुरा सुनिसकेपछि कुमार जी खिस्स हाँसेर आज्ञा गर्नुहुन्छ, ‘हे प्रिय पाठक ! म आज पनि निकै व्यस्त छु, तिम्रो दृढता देखेर प्रसन्न भईकन तिमी केहिबेर मेरा दुतसंग भने समय लिन सक्ने अनुमति दिन्छु । यति भन्दै आफ्ना ‘शुभचिन्तक’हरुको हुलको अघि-अघि आफ्ना कक्ष तिर सबारी हुदा भए ।
कुमार जीको आज्ञापछि तत्काल मेरा पाठकका सामुन्ने कुमार दुत प्रकट हुँदा भए । उनले फेरि मुस्कुराउदै आज्ञा गर्दा भए- हे पाठक महासय, तिम्रा मनका खुलदुली म बुझ्न सक्छु ।
यहाँ रहेका स्वास्थ्य र अन्य क्षेत्रका जडा गारेर बसेका समस्याहरु म त के हजार जिब्रा भएका शेषनागले पनि बर्णन् गर्न सक्दैनन् । तर तिम्रा लागि म जिज्ञाशा मेट्ने प्रयास गर्छु । भन म के सुनाउ ?
यो सुनेपछि प्रिय पाठक हर्षित भईकन प्रश्न गर्दा भए …..
हे कुमार-दुतजी, ‘सबै भन्दा धेरै कर्मचारी भएको यो स्वास्थ्य क्षेत्रमा काम-काज र विकास किन यसरी धरमराएको होला, प्रस्ट पारीबक्सियोस् हजुर ।
पाठकको जिज्ञासा सुनिसकेपछि शान्त मुद्रामा कुमार दुत शान्तमुद्रामा सविस्तार बर्णन सुरु गर्दा भया, ‘हे पाठक महासय ! तिमी एकचित्त भई धैरयताका साथ सुन …..!
‘तिमीले भनेझै यो स्वास्थ्य क्षेत्रमा सबभन्दा बढि कर्मचारीहरु छन् र हालसालैमा अनेकौ नीति नियमहरु एक पछि अर्को गर्दै थपिएका छन् तर कुरो के भने केही राम्रा कर्मचारीहरु प्रोत्साहीत नभएका, प्रायः कर्मचारीहरु ‘तै चुप मै चुप’ भई केही सुधार गर्न नचाहने र यथास्थितिमा आफ्ना मासिक ज्याला पकाउने र निष्कृय बस्ने खालका ।
केही भने खुलेआम स्वास्थ्य क्षेत्रलाई धरासाही बनाउने खालका कृयाकलापमा संलग्न भइकन पनि राज्यबाट निरुत्साहित वा दन्डित नगरिएका ।
कुमार दुतका यति बर्णन सुनिसकेपछि प्रिय पाठकले बीचमै रोक्दै पुन अर्को जिज्ञासा राख्दा भए …..“यतिका नियम कानुन हुदा पनि किन दन्ड-सजाय वा सुधार हुन नसकेको त दुत महाराज?”
कुमार-दुत अली गम्भिर भईकन भन्नुहुन्छ……, ‘जानी जानी व्यक्तिगत स्वार्थ पुर्ती गर्नलाई आफ्नो कर्तव्य पुरा नगरी सरकारी स्वास्थ्य क्षेत्रलाई धरासाही र कमजोर बनाउने प्रायःजसो सबै झन्डा बोकेर सत्ता-रथीहरुको पछि लागेर ‘सिफारिस’का जागिरेहरु र कोही कस्ता भने आफ्नो ‘आर्थिक प्रभाव’ले नियमीत सरुवाको नियम ठाडै मिचेर दशकौ देखि ‘स्थानीय-स्थायी’ कर्मचारी भई स्वास्थ्य क्षेत्रलाई नितान्त व्यक्तिगत स्वार्थपूर्तीका लागि दुरुपयोग गरेका र तिनलाई आफूलाई कसैले केही गर्न नसक्ने भन्ने दृढ आडम्व भएका ।
कुमार-दुत अझ बयान गर्दा भए-……. ‘जतिसुकै नियम कानुन ‘गरिब-निमुखा-आम-जनता’का नाममा आए पनि तिनै ‘गरिब-निमुखा-आम-जनता’ भने त्यस्ता नियम-सेवा-सुबिधा बारे अनभिज्ञ हुनेगरेका र सोको कारण प्रायःजसो ‘सुधारका कार्यक्रम’ बिना कुनै ठोस सुधार केबल चिल्लो कागजमा मात्र सिमित हुने गरेका ।
कोटी कोटी द्रव्य खर्चेर तालीम-गोष्ठी र चिल्ला कागजमा मात्र सिमित निति नियमले स्वास्थ्य क्षेत्रको सुधार हुने सम्भावना कसरी रहोस ? यसमा राज्य मात्र नभई ‘गरिब-निमुखा-आम-जनता’का नाममा अनेकन राष्ट्रिय-अन्तराष्ट्रिय संगठनहरु पनि दोषी छन् ।
तिनी केबल अनुदानका लागि फोटो बढि खिच्ने, चिल्ला पानामा बाक्ला बाक्ला ‘रिपोर्ट’ तयार गर्ने तर परिवर्तन हुनेगरी कुनै ठोस कार्य नगर्ने र आफ्ना संगठनका ‘निजी-नातेदार-कर्मचारी’को झुटो यश र आर्थिक उपलब्धिमा ध्यान दिने प्रवृत्तीका । समस्या अनेक तर समाधान बिरलै छ यहा, हे प्रिय पाठक । अब म लाग्नुपर्छ ।
पाठकका रसिला आँखा र चिन्तित अनुहार देखि कुमार-दुत पुन : आज्ञा गर्नुहुन्छ-“हे प्रिय पाठक, यो स्वास्थ्य ‘नी’ को लघु पुराण जो कोहिले सुनेर अरुलाई सुनाउने छन् तिनी सब नेपालखण्डको स्वास्थ्य क्षेत्रको सुधारको जस पाउने छन्”।
इतिश्री स्वास्थ्य लघुपुराणे,तृतिय खण्डे, कुमार दुत-पाठक सम्बादे,श्री ‘स्वास्थ्य’नी ब्रतकथा अन्तिमोध्याय समाप्त।।
सम्पर्क इमेल : [email protected]