हामी चुक्यौँ कि हाम्रो स्वास्थ्य व्यवस्था चुक्यो ?
घटना १) २० बर्षका एक युवकलाई पाँच दिन देखि कडा ज्वरो आएकोले अस्पताल ल्याइयो । ब्लड प्रेसर कम, धडकन बढी अर्थात सेप्सीस(Sepsis)मा थियो, मिर्गौलामा पनि असर गरिसकेको देखिन्थ्यो । कडा एन्टीबायोटिक र प्रेसर बढाउने औषधि सुरु गर्यौँ ।
झण्डै १२ घण्टाको उपचार पछि बिसेक भएन । अर्थात प्रेसर कम, धडकन बढी अर्थात Sepsis मै थियो ।
उपचारमा सुधार नदेखिएपछि ICU Care को लागि नेपालगञ्ज पठायौँ सबै परामर्श दिएर नै । तर अभिभावकले उनलाई घर लगेछन् झारफुक गर्न । अर्को दिन त्यो युवकको मृत्यु भएको थाह भयो । हामीले हेर्दा ति युवकका परिबार शिक्षित र हैसियत वाला नै देखिन्थे । हेर्दा शिक्षित र हैसियत भएकाहरु पनि त्यस्तो ।
घटना २)
एक ८ बर्षे बालकको कुमको हड्डी भाँचिएपछि परिबारले अस्पताल ल्याईपुरयो । पुरै हात सुन्निएको थियो । हात झुण्डाएर भर्ना गरयौँ । केश अलि गम्भीर किसिमको देखियो ।
बालकको अभिभावकलाई भन्यौँ, ‘शल्यक्रिया गरेर नै हड्डी जोड्नुपर्छ र त्यसका लागि नेपालगञ्ज लैजानुस् । यदि त्यस्तो सम्भव नै छैन भने सुन्निएको हटेपछि मात्रै प्लास्टर गर्न मिल्छ र त्यसका लागि पर्खनुपर्छ ।’ बालकका अभिभावकले नेपालगञ्ज जानका लागि आर्थिक अवस्थाले नभ्याउने संकेत गरे ।हामीले उनलाई ४ हजार रुपैयाँ मद्धत गर्छौँ भन्यौँ । उनी खुशी थिए, हामी पनि खुशी थियौँ । तर भर्ना गरेको दोस्रो दिन विरामी बालक लिएर ती अभिभावक भागेछन् ।
पछि थाह पायौँ, ती अभिभावकले अस्पतालबाट भगाएर लजेको आफ्नो बच्चालाई नजिकैको बैद्यकहाँ लगेर जडिबुटी र काप्रो बाँधेर घरतिर लागेछन् । हामी छक्क परयौँ र दुखी भयौँ ।
घटना ३)
१६ बर्षकी युवतीलाई ८ दिन देखि पेट फुल्लिएको रहेछ । दिसा नभएको तर बान्ता भएको भन्दै अस्पताल ल्याइयो । सबै जाँच गर्दा आन्द्रा थुनिएको(Intestinal Obstruction) को निदान अनुसार प्रारम्भिक उपचार सुरु गरयौँ । त्यतिका दिनसम्म आन्द्रा थुनिदा नि युवतीको अवस्था त्यति बिग्रेको थिएन ।
२४ घण्टा पछि उनका अभिभावकलाई बोलाएर छोरीलाई तत्काल नेपालगञ्ज लैजानुपर्छ भन्यौँ । तुरुन्त शल्यक्रिया नगरे ज्यान जान्छ भन्यौँ । तर युवतीका बाबुले पैसा छैन बरु घर लान्छु भगवान भरोसा रे । ठिकै छ हामी शल्यक्रिया गर्छौँ निको बनाउने प्रयास गर्छौँ तर नि जटिलता रहिरहन सक्छ भन्ने जानकारी दियौँ । उनले हुन्छ तपाईँहरु नै गर्नुहोस भने । हामी शल्यक्रियाको तयारी गरर्यौँ ।
पुरै बेहोस पार्ने मेसिन नभए नि ढाडमा र नशामा सुई दिएर बेहोस बनाएर पेट खोल्यौँ । भित्र पिप जमेको , आन्द्राहरु टाँसिएको र ४ ठाँउमा प्वाल परेको देखियो । बढो जटिल केश थियो ।
आन्द्रा टाँसिएको छुट्याउन नसकेनी प्वाल परेको ठाँउ सिलायौँ । ४ घण्टा लगाएर ७ जनाको टोलीले बढो मिहिनेत गर्दा नि पुरौ निको नहोलाकी भन्नेमा शंका रहिरह्यो ।
शल्यक्रियाको दोस्रो दिनमा पेट भित्र राखेको पाइपबाट आन्द्राको दिसा आउन थाल्यो अर्थात फेरि आन्द्रामा प्वाल पर्यो । हामीलाई फसाद परयो । बिरामीको बुबालाई एम्वुलेन्सको भाडा स्वरुप रु १४ हजार दिएर मिसन अस्पताल तानसेन पठायौँ, जहाँ मैले चिनेको डाक्टरसंग कुरा गरेर उपचार सबै निशुल्क हुने व्यवस्था मिलाएको थिएँ ।
तर बिरामी तानसेन पुगेन बुझ्दै जाँदा विरामी छोरी बाबुले घर लगेका रहेछन् । कस्तो निष्ठुरी बाबु ।
………………………………………………………………………………………………………….
यी तीनवटै घटनामा आफ्नै परिबारको बालक तथा युवा सदस्यलाई गम्भीर रोग लागेको थाह पाउँदा पाउँदै पनि परिबारले उनीहरुको मृत्यु वा अपांगतालाई सहजै स्वीकारे जस्तो देखियो ।
हुन त पाठेघर फुटेको महिलाको शल्यक्रिया, एपेन्डिक्स फुटेर पेटमा पीप जमेको बालिकाको शल्यक्रिया, खुट्टा कुहिएर खुट्टा नैे काटेर फालेको शल्यक्रिया लगायत जटिल रोगको सफलतापुर्वक उपचार गरेर विदाई गरेको मनमा बेग्लै आनन्द छ नै तर माथि भनिएका केशहरु देख्दा मन कुडिएर आउँछ ।
यस्तो अवस्था आउँनुका कारण यी हुन सक्छन्
अन्धविश्वास : शिक्षित भएर पनि अन्धविश्वासी सामाजिक चेतना, गम्भीर रोगमा एक त अन्तिम अवस्थामा मात्र अस्पताल ल्याउने, सडक सञ्जाल राम्रै पुगेको ठाँउमा नि पहिले घरेलु उपचार झारफुक गर्ने प्रबृति, अनि जटिल रोगमा पनि अस्पतालका डाक्टरको भन्दा धामी झाँक्रीको विश्वास गर्ने ।अहिले पूर्ण साक्षर जिल्ला चलाउने लहर चलेको बेला यसो घोत्लिदाँ हाम्रो शिक्षाले खै के परिवर्तन ल्याएछ भन्ने देखिन्छ ।
आर्थिक समस्या : कडा रोग लागेका ठूलो अस्पतालमा उपचार गर्न जाँदा एम्वुलेन्स देखि डिस्चार्जसम्म लाग्ने खर्चको कारण बर्षौसम्म ऋण तिर्नु परेका कथाहरु गाँउमा व्याप्त छन् । त्यसैले गरीब बिरामीहर हत्तपत्त ठूलो अस्प्तालमा लान हच्किन्छन् । हाम्रो स्वास्थ्य सेवा भनेको सरसर्ती हेर्दा धनी र पहुँचवालाको लागि नै देखिन्छ ।
जीवनको मूल्य नबुझ्ने सम्वेदनहिनता : गास बास कपासको समस्यामा पिल्सिदा पिल्सिदै पनि ४/ ५ जना छोार छोरी पाउने अनि त्यो मध्येमा एक जना गुमाउनु परे नि संवेदनहीन भएर बस्ने । भाग्य र भगवानलाई दोश दिएर बस्न विवश मन ।
असहयोगी समुदाय : धेरै जसो गाँउमा सामाजिक काम रिति थितिमा सहयोग गर्ने चलन छ तर जव आर्थिक अवस्थाले जरजर हुन्छ त्यस्तो बेलामा कतिपय गाँउमा गाउँलेले गर्न सक्ने सहयोग समेत नगरेको देखियो । गाँउमा कोही सिकिस्त बिरामी पर्दा मद्धत नपाउनु एकदम बिडम्बनापूर्ण छ ।
अन्तमा, बिरामी गरीब, अशिक्षित या धनी शिक्षित सबैले समान गुणात्मक स्वास्थ्य सेवा पाउनुपर्छ । भन्ने मान्यता बोकेका हामीलाई यस्ता कलिला जीवनको मृत्यु अपांगता भएका घटनाले मर्माहत तुल्याउँदो रहेछ ।
यहिनेर मलाई प्रश्न गर्न मन लाग्छ हाम्रो शिक्षा कहाँ नेर चुक्यो ? हाम्रो चेतना सहर केन्द्रित मात्र भयो कि ? हाम्रो स्वास्थ्य व्यवस्था गरीब असहायको लागि कहाँ निर चुक्यो ? या हामी डाक्टर नै उनीहरुको चेतना अनुसार उनीहरुको अवस्था अनुसार र भावना बुझ्न चुक्यौँ कि ?
यस्ता यस्ता कैयौँ प्रश्नले मन झक्झकाई रहन्छ । यस्तो अवस्थामा पनि चुनौती पार गर्दै ती घटना फेरि दोहोरिन नदिन सक्दो अथक प्रयास गर्ने दृढ विश्वास जाग्छ ।
# डा शर्मा जिल्ला अस्पताल सल्यानमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]