अस्पतालमा हुने मृत्यु, डाक्टर र भीडतन्त्र
केही दिन अघि चितवन मेडिकल कलेजमा सुत्केरी हुन आएकी एक गर्भवती महिलाको मृत्यु भयो । तत्कालै परिबार तथा आफन्तहरुले चिकित्सकको लापरबाही भन्दै नाराबाजी र हो हल्लामा उत्रिए । क्षणभरमै अस्पतालमा तोडफोड हुने अवस्थाको सिर्जना भयो । त्यसपछि पनि परिबारले एक सातासम्म सब समेत बुझेनन् । अस्पताल विरुद्ध आन्दोलन जारी राखे । अन्तमा स्थानीय प्रशासनले छानबिन समिति गठन गरेपछि तत्कालका लागि आन्दोलन स्थगित भयो ।
यो त एउटा उदाहरण मात्रै हो । पछिल्लो समय हरेक दिन जसो अस्पतालमा हुने मृत्युलाई लिएर चिकित्सक र अस्पताल विरुद्ध यस्ता खालका गतिविधि भईरहेका छन् । कतिपय सतहमा आउछ र थाह हुन्छ, कतिपय ठाँउमा झन्झट फसिने झ्याउले भित्र भित्रै मिलाइन्छ ।
मृत्यु साच्चिकै दुखद हो । यसमा कसैको दुईमत छैन् । अस्पताल आएर होस या अन्य ठाँउमा हुने मृत्यु परिबार तथा आफन्तलाई हुनु स्वभाविक नै हो । तर यसको अर्थ यो होइन कि उनीहरुको मृत्युको मुख्य कारक चिकित्सक वा अस्पताल नै हो ।
एक पटक सोचौँ त के अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बिरामी मार्न जन्मेका हुन त ? उनीहरुको जिन्दगीभरको पढाई, सीप, ज्ञान,अस्पतालमा उपलव्ध औजार बिरामी मार्नकै लागि हो त ? होइन भने उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि किन आक्रमण, किन निन्दा ?
स्वभाविक हो बिरामीलाई अस्पताल ल्याउने सन्चो गराउनकै लागि हो । तर कतिपय केशहरु चिकित्सकको प्रयासका बाबजुत सफल हुँदैनन् । कतिपय अवस्थामा पहिले सामान्य ठानिएका केशहरु तत्काल बिग्रन्छ, कतिपय अत्यन्त जटिल मानिएको वा आशा हराईसकेको केश चमत्कारिक रुपमा सुध्रिन्छ । तर यसको मतलव जे पनि हुन सक्छ भन्ने होइन ।
विरामीको विभिन्न इन्डिकेटरले उसको अवस्थाको जानकारी दिन्छ र डाक्टरहरुले सोही अनुसार उपचार गर्ने हो र भन्ने हो तपाईँको बिरामी यो अवस्थामा छ । अव लापर्बाही हुँदै हुँदैन भन्ने पनि होईन । मानव हो गल्ती हुनसक्छ । गलत गर्नेलाई कारबाही गर्नैपर्छ । अझ भनौ कारबाही गरिएन भने दण्डहीनताको राज हुन्छ र क्वाक ( अनाधिकृत रुपमा आफूलाई चिकित्सक भनि बिरामीको उपचार गर्ने)हरुको बिगबिगी बढ्छ ।
विकसित देशमा बिरामीको मृत्यु अस्पतालमा भएन भने त्यसलाई अस्वभाविक मानिन्छ । छानवीन हुन सक्छ तर नेपालको सन्दर्भमा ठिक उल्टा हुन्छ । अस्पतालमा बिरामीको मृत्यु भयो भने गालीगलौच र तोडफोड सुरु भईहाल्छ । सबको मुल्य तोकिन्छ । छानवीन समिति गठन गरिन्छ । लाग्छ देशमा कुनै कानून नै छैन । भीड नै कानून हो । भीड नै प्रहरी र न्यायाधीश हो । उनीहरुले जे भने त्यहि हुन्छ ।
त्यसैले धेरैजसो अस्पतालले गम्भीर बिरामीलाई हतपत उपचार गर्न हिच्किचाउछन् । चाहे त्यो निजी होस या सरकारी । चहिच्किचाउन पनि कसरी गम्भीर अवस्थाको बिरामी छ उपचारका क्रममा मर्छ भन्ने डर ? मृत्यु भयो भने भीड आई हाल्छ तोडफोड भईहाल्छ थप क्षतिपूर्ति समेत दिनुपर्छ । आदि आदि । यसले न बिरामीको अधिकारलाई सम्मान गर्छ न त चिकित्सकको पेशालाई नै न्याय गर्छ ।
यसको कारण चाहि के हो त ?
१. मिडिया : पत्रपत्रिका, टिभि तथा रेडियोमा यस्ता घटनाहरु प्राय एकतर्फी ( सेवाग्राहीको मात्र) आउने गर्छ र हरेकजस्तो घटनामा डाक्टरको लापरबाहीले भन्ने शीर्षकले ठाँउ लिन्छ ।
मिडिया समाजको दर्पण हो यसले जे भन्यो समाजले त्यहि ग्रहण गर्छ । त्यसैले घटनाको सत्य तथ्य पत्ता लगाएर लेख्नु भन्नु राम्रो हुन्छ । स्वास्थ्य तथा स्वासथ्य सेवा सम्वन्धी समाचार लेख्ने पत्रकारले स्वास्थ्य तथा स्वास्थ्य सेवा प्रणाली सम्वन्धी केही आधारभूत ज्ञान लिनु जरुरी छ ।
अस्पतालमा घटने घटनाको समाचार लेख्दा सेवाग्राही र सेवा प्रदायक दुवै पक्षको कुरा राखि दियो भने जनताले पनि दुबै पक्षको कुरा बुझ्न पाँउछन् । नत्र सबैलाई थाह भएकै कुरा हो कंचन शर्माको घटनाको एक तर्फी समाचारले प्रख्याँत पत्रकार समेत लज्जित हुनुपरयो ।
२. भिडतन्त्र : आफ्नो बिरामी निको भएर घर फर्किने आशा गरेका बेला अचानक मृत्युको खबर सुन्दा बिरामीका आफन्तहरु पीरले मर्माहत हुन्छन् । सोही समयमा कसैले डाक्टरको लापरबाहीले मृत्यु भएको कुरा सुनायो भने उनीहरुलाई पनि हो कि जस्तो लाग्न सक्छ । त्यसपछि एक दुई गर्दै धेरैजनामा त्यो कुरा पुग्न सक्छ । अनि सुरु हुन्छ तोडफोड, गालीगलौच, दुव्र्यबहार ।
डाक्टरको लापरबाही हो होइन भन्ने छुट्याउने अदालत हो नत्र अदालतको के आवश्यक परयो यदि सबैकुरा भिडले नै निर्णय गर्छ भने । अस्पतालमा घटने घटनाहरु अन्तन्त न्युन मात्रामा लापरबाहीको कारणले होला नत्र धेरै धेरै जसो बिरामीहरुलाई अन्तिम अवस्थासम्म बचाउने प्रयास हुन्छ नै चिकित्सक तथा स्वास्थ्यकर्मीको ।
कोही बिरामी टर्मिनल स्टेज( जीवनको अन्तिम अवस्था)मा हुन्छन् । कुनै बिरामीहरुको अकल्पनीय रुपमा मृत्यु हुन्छ । सबै घटनालाई एउटै तुलोमा राखेर हेर्न मिल्दैन । यी मध्ये पछिल्लो किसिमको मृत्युले बिरामीको आफन्तलाई मात्रै नभई स्वयं चिकित्सकलाई समेत मर्माहत पार्छ ।
चिकित्सकले जहिले पनि बिरामीको राम्रोको लागि सेवा गर्छ । बिरामी सन्चो भएर अस्पतालबाट जाओस भन्ने चाहन्छ । उसले बिरामीलाई नराम्रो गरेर के पाउछ ? कम्तीमा पनि आफूले उपचार गरेको बिरामी राम्रो हुँदा उसलाई आत्मसन्तुष्ठी हुन्छ । त्यहि आत्म सन्तुष्ठीले नै उसलाई अझ बिरामीको उपचार गर्न बल दिन्छ । यो कुरा बुझन जरुरी छ सबैले ।
३.कानूनी उपचारको झन्झट : हाम्रो देशमा कानूनी सहायताले कसलाई तुरुन्त न्याय मिलेको छ ? यसको लागि त बर्षौसम्म अदालत धाउनु पर्छ । यदि कानूनी उपचार चुस्त दुरुस्त छिटो छरितो हुँदो हो त पीडित पक्षले पक्कै पनि कानूनी कार्वाही खोज्थ्यो होला न कि भिडतन्त्र ।
४. अस्पतालले पैसा दिने चलन : अचेल यस्तो लाग्छ कि अस्पतालमा बिरामी मर्नुपर्छ त्यसबापत पैसा दिई हाल्ने । आफन्तले यस्सो भीड जम्मा गरेपछि पैसा पाईहाल्ने । लाग्छ दुबै पक्षलाई कानूनी प्रक्रिया झन्झट हो । अव सस्कार बसिसकेको छ । शबको पैसामा मोलमोलाई । के यस्तो गर्नु राम्रो हो त ? लाग्छ म तिमीर्ला मार्छु लाखौँ तिर्छु , कतै गिडगिडाउदै छ डाक्टर भन्ने पात्र । तर यस्तो हुन सक्दैन । किनभने जीवन अमूल्य छ यसलाई पैसामा तौलिन मिल्दैन ।
५. आवश्यक काउन्सिलिङ नहुनु : बिरामी, बिरामीको आफन्त तथा सेवाप्रदायकबीच आवश्यक सरसल्लाह हुनुपर्छ । बिरामीको रोगको अवस्था, उपचारको प्रकृति, उपचारको सम्भावना, सेवा दिने अस्पतालको सिमितता, आवश्यक रेफरको सम्भावना । यी कुराबारे छलफल भएन भने अवश्य पनि भीडतन्त्रले ठाँउ पाउछ ।
अन्तमा हरेक कुरामा जनताको साथ चाहिन्छ । अझ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अहम भूमिका हुन्छ । उहाँहरुकै हौसलाले स्वास्थ्य सेवा प्रखर हुने हो तर जनताले के सहि के गलत छुट्याउनु जरुरी छ, भीडतन्त्रको साथले होइन ।
# डा. पच्या जिल्ला अस्पताल ताप्लेजुङमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]
अार्टिकल सान्दर्भिक छ । एउटा कुरा चाहि मेराे पनि उस्तै ठम्याइ हाे कि धेरै चिकित्सकहरुबाट विरामी र उनिहरुसँग अाएका मानिसहरुलाइ राम्राे सग परामर्श गरिएकाे हुँदैन । भन्ने नै हाे भने सञ्चार नै पनि राम्राेसँग नहुनाका कारण समस्या अाउँने गरेकाे हुन्छ ।
सारै मन छुने अनि सान्दर्भिक लेख डाक्टरसाब 2016 सालको लेख 2023 सालमा ताजै लेख जस्तो लाग्यो
डाक्टर साब ४३ औ लाइनको अन्ततिर को एउटा वाक्य जुन ” मानव हो गल्ती हुनसक्छ ” भन्ने शब्द चाहिँ चित्त बुझेन जबकी कसैको जीवन शीत जोडिएको कुरा हो गल्ती त हुन्छ सुधारिन्छ तर हेर्नुस् त एउटा जीवन को नास हुन्छ मानबिय समबेदना भन्ने कुरा त चान -चुन होइन नि यद्यपि कैयौं जीवन को अन्त हस्पिटल को बेड्मा हुने गर्छन कैयौं प्र्यास का बाबजुद पनि अवस्य भैछड्छ जुन लेखान्त पनि हो अस्पताल यस्तो समबेदनशिल क्षत्र हो जहाँ पत्थर को जवाफ फुल ले दिन सक्नु पर्छ ताकी बिरामी ले शहानुभुतिको महशुस गरोस् तथापि हजुर को शेवा प्रबाह पर्ती उच्च सम्मान छ🙏
लेख सान्दर्भिक छ । डाक्टर र अस्पताल बिरामीलाई उपचार गर्ने र बचाउन तत्पर हुन्छन् यसमा दुई मत छैन। तर समाज किन भीड तन्त्र उन्मुख भयो? यसका केही कारणहरू निम्नानुसार हुन सक्दछन् ।
१. कण कणमा भगवान भने झैं हाम्रो देशमा हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउनु ।
२. मेडिकल माफिया सक्रिय हुनु ।
३. खडे बाबाको आधारमा मेडिकल कलेजहरू स्थापना हुनु ।
४. कतिपय अस्पताल दर्ता बिना सञ्चालन हुनु ।
५. अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको रुखो र शङ्कास्पद व्यवहार हुनु ।
६. बिरामी र आफन्तलाई उचित काउन्सिलिङ्ग नहुनु ।
७. बिरामीलाई आफ्नो अस्पतालमा तान्न अस्वस्थ प्रतिस्पर्धा हुनु ।
८. एम्बुलेन्स चालकलाई समेत बिरामी ल्याए वापत अस्पतालले कमिसन दिनु ।
९. पीत पत्रकारिता मौलाउनु ।
१०. अस्पतालमा त्यस्तो घटना घटे पछि स्वार्थी समूहको प्रवेश हुनु ।
११. कमजोर प्रशासन र फितलो न्याय प्रणाली ।
१२. भोट केन्द्रित निम्नकोटीको राजनीतिक नेतृत्व ।