लायन्सले आँखा अस्पतालमा उपकरण सहयोग गर्ने
चितवन, ५ भदौ – लायन्स क्लब इन्टरनेसनल ३२५ बी २ नेपालले चितवनको भरतपुर आँखा अस्पतालमा उपकरण खरिदका लागि रु दुई करोड ५० लाखको परियोजना सञ्चालन गर्ने भएको छ ।
शनिबार यहाँ भएको पहिलो राष्ट्रिय सम्मेलनले भरतपुर आँखा अस्पतालमा डाइबेटिक रेटिनाप्याथीमा चाहिने आवश्यक उपकरण खरिदका लागि प्रस्तावित रु दुई करोड ५० लाखको परियोजना पारित गरेको पूर्व गभर्नर प्रभातकुमार जोशीले जानकारी दिए।
नारायणगढ लायन्स क्लबद्वारा प्रस्तुत गरिएको परियोजना पारित भएकाले यो महिनाभित्रैमा लायन्स क्लब इन्टरनेसनलमा पेस गरिने जोशीले बताए।
सम्मेलनमा विभिन्न ठूला परियोजनासहित हाल भएका कार्यक्रमको समीक्षा र भावी कार्यक्रमबारे छलफल भएको लायन्स क्लब इन्टरनेसनल ३२५ बी २ का डिस्ट्रिक गभर्नर घनश्याम भट्टराईले जानकारी दिए।
सम्मेलनमा तराईको वीरगन्जदेखि महाकालीसम्मका लायन्स क्लबका एक हजार ५०० प्रतिनिधिको सहभागिता रहेको थियो । कीर्तिपुरमा रु १५ करोडको ब्लड बैंक स्थापनाका लागि भएका गतिविधिबारे समेत सो क्रममा जानकारी गराइएको थियो ।
अर्का पूर्व गभर्नर डिके ढुङ्गानाले बैंकका लागि रु १५ करोड चाहिनेमध्ये रु पाँच करोड लायन्सबाटै सङ्कलन गर्ने योजना रहेको भन्दै अहिलेसम्म रु दुई करोड ५० लाख रकम उठेको जानकारी गराए।
उनले रु २५ हजार तिरेमा आजीवन सदस्य हुने भएकाले सेवा गर्नसमेत लायनहरुलाई आग्रह गरे ।
लायन्स क्लब इन्टरनेसनल ३२५ बी २ का डिस्ट्रिक गभर्नर घनश्याम भट्टराईले समाज रुपान्तरणमा लायन्सको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा पनि अझै प्रभावकारी काम गर्दै जाने प्रतिबद्धता जनाए ।
उनका अनुसार सरकारले भूकम्पपीडितका एक हजार घर बनाउने विषयमा सरकारसँग कुरा नमिल्दा अहिलेसम्म काम अघि बढ्न नसके पनि झन्डै १८ लाख डलर बराबरको स्कुल निर्माणका लागि भने काम थाल्ने जनाइएको छ ।
पूर्वी चितवनका १८ वटा लायन्स क्लबको आतिथ्यतामा सम्मेलन भएको र लायनहरुलाई पूर्व मिस नेपाल सुगारिका केसीले प्रशिक्षण दिएको कार्यक्रम संयोजक नीरज श्रेष्ठले जानकारी दिए। रासस
सम्पर्क इमेल : [email protected]