महिलामा किन हुन्छ पिसाव चुहिने समस्या ? कारण र समाधान

- नेपाली हेल्थ

हिजो आज पिसाव चुहिने समस्या लिएर अस्पताल आउनेको भिड बढन थालेको छ । यस्तो समस्या पुरुष तथा स्त्री दुवैमा देखा पर्छ । तर पनि पुरुषको अनुपातमा स्त्रीहरू यो समस्याबाट बढी प्रभावित भएको पाइन्छ । स्त्रीमा यो अवस्था जति उमेर बढ्दै गयो त्यति बढी हुने गर्छ । कतिपय स्त्रीहरू यसलाई उमेर बढ्दै गएपछि अनुभव गर्नैपर्ने अवस्था भनेर लिने गरेको समेत पाइन्छ ।

डा. अर्जुनदेव भट्ट बरिष्ठ युरोलोजिष्ट
डा. अर्जुनदेव भट्ट बरिष्ठ युरोलोजिष्ट

खास गरेर यो अवस्थाले सोझै ज्यानमा असर नपार्ने भएकाले पीडितहरू थोरैले मात्रै उपचारका लागि चिकित्सकसँग परामर्श गर्छन् । तर यो अवस्थाले स्त्रीको शारीरिक, मानसिक र सामाजिक सबै क्षेत्रमा नराम्रो प्रभाव पार्ने गर्छ । पश्चिमा देशहरूको तथ्यांकमा स्त्रीहरू कम्तीमा ३० प्रतिशतसम्म मूत्र चुहिने समस्याले ग्रस्त हुन्छन् ।

त्यसमध्ये ५० प्रतिशत भन्दा कम मात्रै उपचारका निम्ति जाने गर्छन् । नेपालमा पिसाब चुहिने समस्याबाट कति प्रतिशत स्त्री पीडित छन् ? तीमध्ये उपचारका निम्ति चिकित्सककहाँ कति पुग्ने गर्छन् ? त्यसको कुनै लेखाजोखा छैन । स्त्रीमा विभिन्न प्रकारका पिसाब चुहिने अवस्था देखा पर्छन् । यो लेखमा एक्कासि पेटभित्र चाप बढेर उत्पन्न भएको पिसाब चुहिने समस्यालाई मात्र वर्णन गर्ने चेष्टा गरिएको छ ।

पेटभित्र एक्कासि चाप बढेर पिसाब चुहिने भनेको खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, शारीरिक व्यायाम गर्दा, भारी बोक्दा, सम्भोग गर्दा जब पेटभित्रको चाप एक्कासि बढ्छस त्यस्तो अवस्थामा मूत्रथैलीमा पिसाब छ भने त्यो थोपा वा धाराकै रूपमा बाहिर निस्कन्छ । त्यस्तो भएमा योनीवरपर भिजेको अनुभव हुने, समयमै सफा गर्न नपाए मूत्र गनाउने, चिलाउने तथा संक्रमण हुनेजस्ता समस्या उत्पन्न हुन्छन् ।

women urien

खोकी वा अरू कारणबाट बारबार पिसाब चुहिन थालेको खण्डमा भित्री लुगा नभिजोस् वा अरूको अगाडि नराम्रो नहोस् भन्न प्याड वा पिसाब सोस्ने कपडा राख्दा योनी वरिपरि घाउ हुनसक्ने, बाफिने र लामो समय फेर्न नपाउँदा पूरा ध्यान त्यतैतिर जानसक्ने हुँदा त्यस्तो समस्याबाट मुक्त हुन राम्रो हुन्छ ।

किन पिसाब रोक्न सकिँदैन ?

सामान्य अवस्थामा पेटभित्र जति चाप बढे पनि ‌(खोक्दा, हाछ्युँ गर्दा, सम्भोग गर्दा) मूत्र नचुहिन कुनै उपाय अपनाई राख्नु पर्दैन । शरीरको बनोट यस्तो छ कि स्त्रीमा मूत्रनली पुरुषको दाँजोमा छोटो भए पनि पिसाब चुहिँदैन । त्यसका निम्ति निम्न शारीरिक बनोट उत्तरदायी छन् :

  •  मूत्र थौलीको घाँटी र मूत्र नलीको भित्री झिल्ली ।
  •  पिसाब थैली र मूत्र नलीका मांसपेशीहरू र तिनीहरूबीचको उचित समन्वय ।
  •  मूत्र नली र योनीको रक्तसञ्चार तथा स्नायु ।
  •  मूत्र नलीलाई उपयुक्त आधार प्रदान गर्ने योनीको भाग ।

 मांसपेशी र तन्तुहरूको पट्टाबाट बनेको मूत्र नलीलाई आधार दिने झोलुंगे आकारको संरचना ।
यो झोलुंगे बनावटमा योनी र मलद्वार खुम्च्याउने मांसपेशी तथा मूत्र नली अड्याउने तन्तुहरू संलग्न हुन्छन् । उल्लिखित सबै शारीरिक बनावटमा कुनै कमजोरी नहुँदा वा ती अंगको कुनै पनि भागमा क्षति नभए मूत्र नलीको बन्द अवस्थामा पिसाब थैली र पेटभित्र जति चाप बढे पनि त्योभन्दा बढी चाप मूत्र नलीभित्र उत्पादन हुने गर्छ र नलीको भित्री भाग एकआपसमा टाँसिएर बस्छ ।
यो अवस्थामा मूत्र नलीको प्वालभित्र चाप बढ्दा पिसाब चुहिन नसक्ने गरेर बन्द रहन्छ । पेटभित्र चाप बढ्दा मांसपेशी र तन्तुबाट बनेको झोलुंगे संरचनाले मूत्र नलीलाई च्यापेर पिसाब चुहिनबाट रोक्छ ।

पिसाब चुइन नदिने संयन्त्र :
गर्भ धारण, प्रसव क्रिया, शरीरको उच्च तौल, ५५ वर्षमाथिका स्त्रीले हर्मोनको सेवन गर्नु, मधुमेह, डिमेनसिया (स्मृतिभ्रांश) र पाठेघर शल्य विधिबाट निकालिएकाहरू ।

पिसाब चुहिने समस्याको निदान :
पिसाब निस्किए समस्याको निदानका निम्ति स्त्रीले दिएको विवरणका आधारमा चिकित्सकले निक्र्योल गर्नुपर्छ । तर योनीबाट असामान्य मात्रामा पानी बग्दा वा मूत्रनलीको संक्रमणका कारणले तरल पदार्थ चुहिएर पिसाब रोक्न नसकेको भान पर्नसक्छ । त्यसका लागि कुन अवस्थामा भिज्ने क्रम सुरु भयो रु खोक्दा, हाछ्युँ गर्दा, गह्रुँगो बोझ बोक्दा, सम्भोग गर्दा वा त्यस्तै के गर्दा पिसाब चुहिने हुन्छ ? त्यसबारे परामर्श गरेर सबै कुरो राम्रोसँग थाहा पाउनुपर्छ ।

पिसाब च्यापेको समयमा खोक्न लगाएर यो अवस्थाबारे यकिन गर्न सकिन्छ । त्यसबाहेक कुन प्रकारको पिसाब चुहिने समस्या हो, त्यसको निदान गर्नुपर्छ । पीडितको रक्त परीक्षण, पिसाबको जाँच र कीटाणु उमार्ने परीक्षणबाहेक पेटको अल्ट्रासाउन्ड गरेर मिर्गौला, मूत्रथैली र पाठेघरको अवस्थाबारे सबै सूचना प्राप्त गर्नुपर्छ ।आवश्यकताअनुसार सिस्टोस्कोपी भन्ने दूरविनले पिसाबको थैली हेर्ने जाँच गर्नुपर्ने हुन्छ ।

त्योबाहेक मूत्र थैली, पाठेघर र मोटो आन्द्राको तल्लो भाग झर्ने तथा योनीको पछाडिको भाग खस्ने र भित्र सरेको अवस्था भए नभएको यकिन गर्नुपर्छ । सँगै देखा परेका विकारहरूको पनि साथै उपचार नभए पूर्ण स्वस्थताको अनुभूति नपाउन सक्छ ।

पिसाब चुहिने अवस्थाको प्रकार :
पिसाब खोक्दामात्र रोक्न नसकिने र चुहिने हुनसक्छ । अकस्मात् पेटभित्र चाप बढ्दा त्यो खोकी, हाछ्युँ, कसरत वा अरू जुनसुकै कारणले किन नहोस् पिसाब चुहिएमा त्यसलाई ‘चापसम्बन्धित पिसाब रोक्न नसक्ने स्थिति’भनिन्छ ।

तर, पिसाब लागेको अनुभव भएपछि पिसाब फेर्न जाँदा रोक्नै नसक्ने भएर उपयुक्त ठाउँ पुग्नुअगाडि नै पिसाब चुहिएमा त्यसलाई “विलम्ब पिसाब रोक्न नसकिने स्थिति” भनिन्छ । यो अवस्था मूत्र थैलीको मांसपेशीको खुम्चाहटमा भर पर्छ ।

मूत्र थैलीको असन्तुलित मांसपेशीको कारणबाट यो अवस्था उब्जन्छ । यी दुई स्थितिबाहेक पिसाब लागेपछि रोक्न गाह्रो हुनेमध्ये पनि केहीमा खोक्दा पनि मूत्र स्वेच्छाबिना नै चुहिन सक्छ । यो अवस्थालाई ‘पिसाब नियन्त्रणको मिश्रित अक्षमता’ भनिन्छ ।

उल्लिखित तीन प्रकारको पिसाब चुहिने अवस्थामध्ये कुन प्रकारको हो रु त्यो राम्रोसँग छुट्याउनु अनिवार्य हुन्छ । सामान्य तथा अन्तर्राष्ट्रिय आँकडाअनुसार झन्डै ५० प्रतिशतमा चाप सम्बन्धित पिसाब रोक्न नसक्ने स्थिति देखा पर्छ ।

करिब ३४ प्रतिशतमा पिसाब चुहिनाको प्रकार मिश्रित पिसाब नियन्त्रणको अक्षमता हुन्छ । बाँकी १६ प्रतिशतमा अविलम्ब पिसाब रोक्न नसकिने स्थिति देखा पर्छ । यो अवस्था उपचारका दृष्टिले सबैभन्दा गाह्रो हुन्छ ।

उपचार विधि :
कहिलेकाहीँ मात्र पिसाब चुहिने, मूत्र संक्रमण नहुने, दैनिकी तथा यौन सम्बन्धमा त्यसले खासै फरक नपरेको र मूत्र प्रदूषणले गन्ध नआउने, चिलाउने तथा घाउखटिरा नहुने र आफू वा यौन सहभागीलाई नकारात्मक असर नपर्ने भए त्यसको उपचार साधारण सरसफाइ, शारीरिक व्यायाम तथा योग अभ्यास तथा तौललाई शरीरको उचाइअनुरूप राखेर गर्नुपर्छ ।

मधुमेह हुनेहरूले चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने, पेट खलास पार्न पानी, सागसब्जी, चोकर भएको खानाको अभ्यास र फलफूललाई उपयुक्त मात्रामा भोजनमा समावेश गर्नुपर्छ । त्यतिले फाइदा नभएमा चिकित्सकको रायबमोजिम औषधिउपचार गर्नुपर्छ । उल्लिखित उपायबाट फाइदा नभएमा शल्य उपचार अँगाल्नुपर्छ ।

शल्य उपचारको सिद्धान्त :
बीसौं शताब्दीको सुरुमै स्त्रीमा पिसाब चुहिनबाट रोक्न मूत्र नलीको सुरुको भाग र मूत्र थैलीको घाँटीलाई झुन्ड्याएर त्यो भागलाई सर्न नदिने उपाय प्रयोगमा ल्याइयो । सन् १९०७ पछि सुरुमा मांसपेशी तथा उतकको पट्टी थैलीको घाँटी र मूत्र नलीको सुरुको भागमुनि बेरेर त्यसलाई प्युविसपुट्ठाको हाडको पछाडि लगेर झुन्ड्याउने गरियो ।

सन् १९४५ तिर बिनामांसपेशी र उतकको पट्टी थैलीको घाँटीलाई प्युबिसको पछाडि हाड र मांसपेशीलाई जोड्ने बलियो तन्तुसँग धागोले बान्ने गरियो । ‘मूत्र नली र थैलीको घाँटीलाई सर्न नदिए पिसाब चुहिन रोकिन्छ’ भन्ने सिद्धान्तमै रहेर विभिन्न तरिकाले ती भाग (शारीरिक संरचना)लाई अड्याउने गरियो । सुरुका वर्षमा शल्यक्रियापछि राम्रो सफलता भयो तर लामो समयसम्म त्यो उपलब्धि कायम रहेन । वैज्ञानिकहरूले सिद्धान्तको संशोधन गरे ।

नयाँ सिद्धान्तअनुसार मूत्र थैलीको घाँटी र मूत्र नलीको सुरुको भाग गतिशील भएर भन्दा पनि मूत्र नलीको बीचको भागलाई झोलुंगे संरचनाले राम्ररी टेको नदिएको हुनाले पिसाब चुहिने गर्छ भन्ने पुष्टि भयो । नयाँ सिद्धान्तमा टेकेर नयाँ शल्यक्रियाको आविष्कार भयो । नयाँ विधिमा जालीलाई मूत्रनलीको तलबाट लगेर प्युविसको पछाडितिर अड्याउने गरियो । यो ‘टीभीटी’ नाम पाएको शल्यक्रिया पहिले युरोप, पछि अमेरिका त्यसपछि संसारका अरू मुलुकमा पनि निकै लोकप्रिय हुँदै गयो ।

लाखौंको संख्यामा स्त्रीहरूको यो विधिबाट शल्यक्रिया भयो । तर, त्यसमध्ये दसौं बिरामीको ज्यान पनि गयो । कैयौंले रक्तस्रावबाट धेरै कष्ट भोग्नु पर्‌यो । त्यसैले यो शल्य विधिको कमजोर पक्ष ज्यानसम्म लिने खतराबाट मुक्त हुन ‘टीओटी’ भन्ने मान दिइएको शल्य विधि २००१ मा आविष्कार भयो ।

यो विधि पछिल्लो १५ वर्ष विद्यमान छ । यो शल्य विधिको कमजोरी( नराम्रो पक्ष नगन्य हुन्छ । टीओटीमा पनि टीभीटीमा जस्तै टेप प्रयोग हुन्छ र त्यसले स्त्रीको मूत्र नलीको बीचको भाग तल झोलुंगे आकारमा रहेर मूत्रनलीले विभिन्न कारणवश गुमाउन पुगेको समर्थनलाई पूर्ण रूपमा प्रतिस्थापन गरेर उपयुक्त विकल्पका रूपमा क्रियाशिल हुन्छ ।

यो पट्टी टीभीटीमा जस्तो प्युविक हड्डीको पछाडि नजाने हुँदा आन्द्रा, ठूला रगतका नशा र मूत्र थैलीलाई क्षति पुर्‌याउने सम्भावना हुँदैन । यो टेपको कोण ९० डिग्रीभन्दा बढी हुने भएकाले मूत्र नलीलाई साँघुरो पार्ने डर पनि हुन्न । टीओटी शल्यक्रियामा टेप अब्टुरेटर झिल्ली हुँदै तिघ्रा – जाङतिर निकालिन्छ ।
यो शल्यक्रिया प्रायः सबैजसो स्त्री सजिलैसँग वहन गर्छन् र दुई दिनपछि अस्पतालबाट आफ्नै बासस्थान गएर दुईतीन दिनमै सामान्य गृहकार्य गर्न सक्छन् । तर बोझ उठाउने काम र यौनसम्बन्ध भने ६ देखि आठ हप्तापछि मात्र स्वीकार्य हुन्छ ।

निष्कर्ष :
मूत्र चुहिने समस्या पुरुषमा भन्दा स्त्रीमा धेरै मात्रामा विद्यमान हुन्छ । खास गरेर पेटभित्र चाप बढ्दा मूत्र नियन्त्रण गर्न नसक्ने स्त्रीहरूले शारीरिक, मानसिक र सामाजिक व्यवधान बेहोर्नुपर्ने हुन्छ । यस्तो अवस्था बच्चा जन्माएका, शरीरको तौल धेरै भएका, मधुमेहबाट पीडित र पाठेघर निकालिएका स्त्रीहरूमा प्रायः देखा पर्छ ।

यसको मुख्य कारण मूत्रनलीको बीचको भागको प्राकृतिक झोलुंगे आधार कमजोर वा नष्ट हुनु हो । हाल शल्य विधिबाट कृत्तिम रूपमा जालीको पट्टी मूत्र नलीमुनि राखेर गुमेको प्राकृतिक झोलुंगे आधारलाई बलियो बनाएर स्त्रीलाई पिसाब नचुहिने अवस्थामा पु‍र्‌याइन्छ ।- अन्नपूर्ण पोष्ट दैनिकबाट

# लेखक मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर  चाबहिलमा वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्टका रूपमा कार्यरत छन् ।

थप समाचार


Facebook Comment