नेपाली राष्ट्रिय गानका संगीतकार अम्वर गुरुङको निधन
काठमाडौँ २५ जेठ – नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको ७९ बर्षको उमेरमा आज निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष ९आइसियू० मा उपचाररत गुरुङको आज विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको हो ।
खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अस्पताल लगिएको थियो । गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार गुरुङ लामो समयदेखी मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचारमा थिए । त्यसैमाथि गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को भएपछि परिबारले गत साता ग्राण्डी पुरयाएका थिए ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मेका गुरुङले नेपाली संगित क्षेत्रको उत्थानकोलागि महत्वपूर्ण योगदान दिएका छन् । राष्ट्रिय गानका संगितकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गितहरुमा स्वर तथा संगित भरेका छन् ।
उनले महाकबि देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले लगायतका कृतिहरुमा पनि संगित दिएका छन् । गुरुङका पत्नी तीन छोरा र एक छोरी छन् ।
सम्पर्क इमेल : [email protected]