यी हुन् मुटुरोगका १२ वटा प्रमुख लक्षणहरू

डा प्रकाशराज रेग्मी (बरिष्ठ मुटुरोग विशेषज्ञ)
डा. प्रकाशराज रेग्मी
(बरिष्ठ मुटुरोग विशेषज्ञ)

मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने जम्मा १२ वटा प्रमुख लक्षणहरू छन् ।

१. छातीको बीच भागमा दुख्ने (Chest Pain) :

मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुखेर आयो भने मुटु दुखेको शंका गर्नुपर्छ । यस्तो मुटुको दुखाइ छातीमा ढुंगाले थिचेको जस्तो, डोरीले कसेको जस्तो, मुठीले निचोरे जस्तो वा आगोले पोलेको जस्तो प्रकृतिको हुन्छ । यो दुखाइ बायाँ कुम, पाखुरा, घाँटी, चिउँडो आदितर्फ सर्न सक्छ । यो दुखाइ आराम गरेपछि ठीक भएर जान्छ ।

मानसिक तनावको अवस्था र शारीरिक परिश्रम (हिँड्दा, उकालो चढ्दा, भारी उठाउँदा आदि) सँग प्रत्यक्ष सम्बन्ध भएको यो छातीको पीडालाई एन्जाइना भनिन्छ । यो मुटुका रक्तनलीहरू साँगुरिएको अवस्थामा उत्पन्न हुने लक्षण हो । रक्तनलीभित्र कोलेस्टेरोल जमेर साँगुरो भएमा परिश्रम गर्दा मुटुका मांसपेशीहरूलाई आवश्यक पर्ने ग्लुकोज र अक्सिजनको आपूर्तिमा कमी हुन जान्छ । यसले गर्दा मुटुमा पीडा उत्पन्न हुन्छ, जुन सबैभन्दा पहिला छातीको बीच भागमा अनुभव हुन्छ र बिस्तारै वरिपरि फैलिंदै जान्छ । छातीमा हुने यो पीडा मुटुरोगको एक अति महत्वपूर्ण लक्षण हो ।

शारीरिक परिश्रम वा मानसिक तनावपछि उत्पन्न भएको छातीको दुखाइ बेस्सरी बढ्दै गयो, आराम गर्दा पनि ठीक भएन, चिट्चिट् पसिना आयो, वाकवाकी लाग्यो र मृत्युको त्राससमेत उत्पन्न भयो भने हृदयघातको शंका गर्नुपर्छ । हृदयघात हुँदा छातीको दुखाइ एकदमै असह्य हुन्छ ।
छातीका अन्य दायाँ–बायाँ भागहरूमा उत्पन्न हुने, परिश्रम गर्दा, हिँड्दा, दौडिँदा कम हुने, आराम गर्दा झन् दुखाइ बढेको जस्तो लाग्ने, सियोले घोचेको जस्तो चिसिक्क हुने प्रकृति भएको छातीको दुखाइ मुटुसँग सम्बन्धित होइन ।

२. दम बढ्ने (Dyspnoea) :

धेरैजसो व्यक्ति दम बढ्यो भने फोक्सो खराब भएको सोच्छन् । यो आंशिकरूपमा मात्र सत्य हो । दम–खोकीको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि रहेको हुन्छ । यदि शारीरिक परिश्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम भएर जान्छ भने यो मुटुरोगको लक्षण हुन सक्छ ।

मुटु सुन्निएको, मुटुका मांसपेशीहरू कमजोर भएको, मुटुको भल्भ बिग्रिएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ ।

परिश्रम गर्दा उत्पन्न हुने दम धेरैजसो अवस्थामा मुटुकै कमजोरीबाट भएको हुन्छ । फोक्सोको रोगका कारण उत्पन्न हुने दम आराम गर्दा पनि कायमै रहन्छ । यस्तो दम खोकीको साथमा हुन्छ । यस अवस्थामा सास लिनभन्दा सास फाल्न कठिन हुन्छ । घाँटी सिटी बजाएजस्तै गरी बज्छ ।

मुटु कमजोर हुँदा मानिस सास नपुगेर निस्सासिन्छ । मध्यरातमा पनि झ्याल खोली सास फेर्न टाउको झ्यालबाहिर निकाल्न मन पराउँछ । ओछ्यानमा पल्टिँदा दम बढ्ने, अनि बस्दा वा उठ्दा दम घट्ने हुन्छ । यसप्रकार छाती र मुटुबाट उत्पन्न हुने दम रोगको प्रकृति बेग्लाबेग्लै छ । दम बढ्यो भने फोक्सोको खराबीबाहेक मुटुको कमजोरी पनि हुन सक्छ भनी सोच्नुपर्छ, किनकि हार्ट फेल भएको प्रमुख लक्षण नै परिश्रम गर्दा दम बढ्नु हो ।

३. खुट्टाहरू सुन्निने (Pedal Oedema) :

खुट्टाको घुँडादेखि कुर्कुच्चासम्म अगाडिपट्टिबाट रहेको लामो हड्डीमाथि औंलाले थिच्दा खोपिल्टा बस्यो भने खुट्टा सुन्निएको रहेछ भनी बुझ्नुपर्छ । खुट्टाहरू सुन्निने लक्षण मुटुको रोग, मिर्गौलाको रोग, थाइरोइड ग्रन्थिको रोग तथा अन्य धेरै आवस्थाहरूमा देखिन सक्छ ।

मुटु कमजोर भएर राम्रोसँग पम्प गर्न सकेन भने खुट्टा सुन्निने लक्षण देखा पर्छ । साथमा दम बढ्छ र कलेजो पनि सुन्निन्छ । मिर्गौलाका रोगीहरूमा खुट्टासहित मुख र आँखाको वरिपरि पनि सुन्निने हुन्छ । तर मुटुका रोगीहरूमा भने पहिले खुट्टा मात्र सुन्निन्छ ।

खुट्टा सुन्निने र परिश्रम गर्दा दम बढ्ने भएको छ भने सबैभन्दा पहिले मुटुको रोग भएको शंका गर्नुपर्छ । यो हार्ट फेल (विशेष गरी मुटुको दायाँ भागको कमजोरी) भएको लक्षण हो । दम–खोकी भएका रोगीको खुट्टा सुन्निने भयो भने दम–खोकीले मुटुलाई असर पारेर हार्ट फेल गराएछ भनी बुझ्नुपर्छ । धेरैजसो अवस्थामा खुट्टा सुन्निनु मुटु कमजोर भएको एक महत्वपूर्ण लक्षण हो ।

४. घाँटीको रक्तनली फुल्ने (JVP Raised) :

घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने मुटुभित्रको चाप बढ्यो भनेर बुझ्नुपर्छ । मुटु कमजोर भएमा मुटुभित्रको चाप बढ्छ । यस्तो अवस्थामा घाँटीबाहिरका नसाहरू राम्रोसँग फुलेका (सुन्निएका) देखिन्छन् ।

कुनै–कुनै व्यक्तिमा घाँटीको दायाँ वा बायाँको नसा मुटुको धड्कनसँगै उफ्रिएको देखिन्छ । यो पनि मुटुरोगको लक्षण हो । मुटुभित्रका ४ वटा भल्भमध्ये ठूलो धमनीमा रहेको भल्भ कमजोर भई पूरा बन्द नहुने भएको खण्डमा घाँटीको नसा उफ्रने लक्षण देखा पर्छ ।

यस्ता व्यक्तिहरूको रक्तचाप पनि अनौठो प्रकृतिको हुन्छ– माथिको (सिस्टोलिक) धेरै र तलको (डायस्टोलिक) थोरै हुन्छ । जस्तै– १८०/४० मि.मि. । बाथ–मुटुको रोग तथा अन्य कारणहरूबाट ठूलो धमनीको भल्भ खराब हुन सक्छ । घाँटीको बाहिरी भागमा नसा फुलेको वा उफ्रिएको देखिएमा मुटुरोगको शंका गरी तुरुन्त परीक्षणका लागि डाक्टरकहाँ जानुपर्छ ।

५. ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुने (Cyanosis) :

स्वस्थ व्यक्तिको सम्पूर्ण शरीर रगतजस्तो रातो हुनुपर्छ । रगतलाई रातो बनाइराख्ने काम अक्सिजनले गर्छ । अक्सिजनले भरिएको रगत रातो हुन्छ । रगतमा अक्सिजन कम हुनेबित्तिकै त्यो नीलो हुन जान्छ । यदि औंलाका टुप्पा, ओठ र जिब्रो नीलो देखियो भने रगतमा अक्सिजनको मात्रा कम भएछ भनी बुझ्नुपर्छ ।

यसरी शरीरका विभिन्न भागहरू नीलो हुनु मुटुरोगको एक महत्वपूर्ण लक्षण हो । मुटुले नै रगतमा अक्सिजन भर्न रगतलाई फोक्सोतर्फ धकेल्ने काम गर्छ । यदि मुटु कमजोर भयो भने फोक्सोमा रगत राम्रोसँग पुग्न पाउँदैन र रगतमा अक्सिजनको मात्रा घट्छ ।

एकथरी जन्मजात मुटुरोगी बच्चाहरूमा पनि औंलाका टुप्पा, ओठ र जिब्रो नीलो भएको देखिन्छ । मुटुभित्र प्वाल रहेछ, मुटुका रक्तनलीहरू उल्टो किसिमले जोडिन पुगेका रहेछन्, साथै मुटुको दायाँ भागको रगत बायाँ भागको रगतसँग सजिलै मिसिने अवस्था रहेछ भने यस्तो नीलो हुने लक्षण देखिन्छ । बच्चाहरूमा यस्तो लक्षण देखा प¥यो भने जन्मजात मुटुको रोगको शंका गर्नुपर्छ ।

६. औंलाका टुप्पा बाक्ला र चाक्ला हुने (Clubbing) :

स्वस्थ मानिसको औंलाका टुप्पाहरू चिटिक्क परेका थेप्चा हुन्छन् । नङको जरा मासुभित्र राम्रोसँग पसेको र त्यहाँ जमेको हुन्छ । यदि औंलाका टुप्पा बाक्ला र चाक्ला भएमा, नङको जरा मासुबाट बाहिर निस्किई छालामुनि आएर बसेमा यस्तो स्थिति कुनै भित्री शारीरिक रोगका कारण भएको भनी बुझ्नुपर्छ ।

जन्मजात मुटुको रोग तथा मुटुभित्रको भल्भमा इन्फेक्सन भयो भने यस्तो लक्षण देखा पर्न सक्छ । यसकारण औंलाका टुप्पा र नङको बनावटमा परिवर्तन आयो, यो बाक्लो र चाक्लो भयो भने एकपल्ट मुटुरोग पो लाग्यो कि भनी शंका गर्नुपर्छ ।

७. टाउको दुख्ने, चक्कर लाग्ने (Headache, Dizziness)

रक्तचाप बढ्यो वा घट्यो भने टाउको दुख्ने, चक्कर लाग्ने हुन सक्छ । रक्तचाप बढ्दा धेरैजसो अवस्थामा कुनै पनि लक्षण नदेखिन पनि सक्छ, तर कहिलेकाहीँ कसै–कसैलाई रक्तचाप बढ्दा वा घट्दा टाउको दुख्ने वा चक्कर लाग्ने लक्षण देखा पर्छ ।

मुटुको धड्कन धेरै ढिला भयो भने पनि चक्कर लाग्ने हुन्छ । १ मिनेटमा ६० देखि १०० पटक धड्किनुपर्ने मुटु प्रतिमिनेट ४५ पटकभन्दा कम धड्किन पुग्यो भने चक्कर लाग्ने हुन्छ ।

मुटुको धड्कन अझ कम भएमा बेहोस हुनेसमेत हुन्छ । हार्ट ब्लक भएमा मुटुको धड्कन घट्छ र चक्कर लाग्ने हुन्छ । यसकारण टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखा परेमा रक्तचाप जँचाउनुपर्छ, ईसीजी परीक्षण गर्नुपर्छ ।

८. मुटुको धड्कन रोकिने वा छिटो चल्ने (Palpitation) :

स्वस्थ मानिसले मुटुको धड्कन अनुभव गर्दैन । आफ्नो छातीभित्र हरपल मुटु चलेको मानिसलाई पत्तै हुँदैन । तर जब मुटुको धड्कनको गडबडी उत्पन्न हुन्छ तब मुटुको धड्कन बेलाबखत रोकिएको वा छिटोछिटो चलेको अनुभव हुन थाल्छ ।

कतिपय रोगीहरूले मुटु चल्दाचल्दै ढ्याक्क केही बेर रोकिएको अनुभव गर्छन् भने कतिपयले मुटु छिटोछिटो दौडिएको अनुभव पनि गर्छन् । यस्तो लक्षण देखा प¥यो भने मुटुरोगको शंका गरी तत्काल ईसीजी परीक्षण गराउनुपर्छ ।

९. कफमा रगत देखा पर्ने (Haemoptysis) :

खकारसँगै रगत पनि दाखा प¥यो भने क्षयरोग वा क्यान्सर भयो होला भन्ने लाग्न सक्छ, तर क्षयरोग र क्यान्सर हुँदा मात्र होइन मुटुरोगमा पनि कफ अर्थात् खकारमा रगत देखा पर्न सक्छ ।

क्षयरोग हुँदा सुख्खा खोकी लाग्ने, छाती दुख्ने, मधुरो ज्वरो आउने, दुब्लाउने र कफमा रगत देखा पर्ने हुन सक्छ । यस्तै गरी फोक्सोको क्यान्सर रोग लागेमा पनि खोकी लाग्ने, छाती दुख्ने र कफमा रगत देखा पर्ने हुन सक्छ ।

मुटुका कतिपय रोगहरूमा पनि खकारमा रगत देखा पर्ने हुन सक्छ । मुटुको भल्भका रोग, मुटु सुन्निने रोग, हार्ट फेल, मुटुको मांसपेशी कमजोर हुने आदि विभिन्न अवस्थामा मुटुले राम्रोसँग पम्प गर्न नसकी फोक्सोभित्रका नसाहरूमा रक्तचाप बढ्न गई मसिना नसाहरू फुट्छन् र रक्तस्राव हुन्छ ।

यो रगत कफ वा थुकमा मिसिएर मुखबाट बाहिर निस्किन्छ । यसकारण यदि कफमा रगत देखा प¥यो, एक्स–रे गरेर हेर्दा टी.बी. वा क्यान्सर देखिएन भने मुटुको रोग पो हो कि भनी शंका गर्नुपर्छ र मुटुको भिडियो एक्स–रे गरेर हेर्नुपर्छ ।

१०. जोर्नीहरू दुख्ने, सुन्निने र ज्वरो आउने (Arthritis) :

यो लक्षण बाथज्वरोको हो । बाथज्वरोको शुरूको अवस्थामा घाँटी दुख्ने हुन्छ र त्यसपछि जोर्नीहरू दुख्ने, सुन्निने हुन्छ । साथमा ज्वरो पनि आउँछ । कसै–कसैलाई घाँटी दुखेको थाहा हुँदैन, एकैपल्ट जोर्नी दुख्ने हुन्छ । स्कुल जाने उमेरका बालबालिकालाई हातखुट्टाका जोर्नीहरू दुख्ने, सुन्निने (बाथ) भयो र एउटा जोर्नीबाट अर्को जोर्नीमा सर्ने प्रकृतिको देखियो भने यो मुटुलाई बिगार्न सक्ने रोगको अवस्था हो भन्ने बुझ्नुपर्छ । यसैलाई बाथज्वरो भनिन्छ । बाथज्वरो लागेपछि मुटुका भल्भहरू बिग्रिन सक्छन् । बालबालिकालाई बाथ भयो र साथमा ज्वरो पनि आयो भने यो मुटुरोगको लक्षण हो भनी शंका गर्नुपर्छ र डाक्टरकहाँ उपचार गराउनुपर्छ ।

११. हात, खुट्टा, ओठ आदि झट्का दिंदै अनियन्त्रितरूपमा चल्ने (Chorea):

यो अनौठो लक्षण हो, जसलाई ‘कोरिया’ भनिन्छ । बाथ–मुटुको रोग भएकाहरूलाई रोगले मुटुबाहेक दिमागलाई पनि छोयो भने यस्तो लक्षण देखा पर्छ । हातखुट्टाहरू नाच्दाखेरि चलाएजस्तै झड्का दिएर आफैं चल्छन् ।

ओठ र मुख पनि बटारिइरहन्छ । यस्तो अवस्था बिरामीको नियन्त्रणभन्दा बाहिर रहन्छ । यसकारण कुनै व्यक्ति (विशेषगरी बालबालिका) ले अनायास हात, खुट्टा, औंला, मुख, ओठ झड्का दिंदै चलाइरहन्छ र यो चलाइ उसको नियन्त्रणभन्दा बाहिर रहेको देखिन्छ भने बाथ–मुटुरोगको लक्षण हो कि भनी शंका गर्नुपर्छ ।

१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुने (Thrill) :

स्वस्थ मानिसको छातीमाथि हात राख्दा मुटुको धड्कनबाहेक अरू केही अनुभव हुँदैन । यदि हातले छाती थर्केको अनुभव ग¥यो भने मुटुरोगको शंका गर्नुपर्छ ।

मुटुभित्र प्वाल रहेछ, मुटुको कुनै भल्भ साँगुरो भएर रगत राम्रोसँग सञ्चालित हुन सकेको रहेनछ भने छातीमा हात राख्दा थर्केको अनुभव हुन्छ । बिरालोको छातीमाथि हात राख्दा जसरी बिरालोले कराएको आवाज ‘म्याउँम्याउँ’ को जस्तो थर्कन अनुभव हुन्छ, ठीक यस्तै प्रकृतिको थर्कनको अनुभव मानिसको छातीमाथि पनि भयो भने मुटुरोगको शंका गर्नुपर्छ । यस्तो देखिएमा मुटुको भिडियो एक्सरे गरेर हेर्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *