अधिकांश ट्राफिक प्रहरीलाई श्वास-प्रश्वास समस्या
ललितपुर (२६ बैशाख) – सडकमा डिउटी गर्ने अधिकांश ट्राफिक प्रहरीलाई श्वास-प्रश्वासको समस्या देखिएको छ । कतिपयमा आँखा तथा छालाको संक्रमण र ढाड दुख्ने समस्या समेत पाइएको छ ।
जाउलाखेलस्थित अल्का अस्पतालले ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण गर्दा यस्तो पाइएको हो । अस्पतालले आइतबार ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा स्वास्थ्य शिविर राखी उपत्यकाका कार्यरत ३ सय ३८ जना ट्राफिक प्रहरीको निशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।
परीक्षणमा सहभागी अल्का अस्पतालका छातिरोग विशेषज्ञ डा. अजित श्रेष्ठले अधिकांश ट्राफिक प्रहरीको श्वास-प्रश्वास तथा छातीको समस्या भएको बताए । उनले सडकमा डिउटी गर्दा धुलो र गाडीका धुवाका कारण त्यस्तो समस्या हुनसक्ने बताए । धुलोकै कारण कतिपयमा आँखा तथा छालाको समस्या भएको बताए ।
शिबिरमा छाला रोग, हाड जोर्नि, आँखा, नाक कान तथा घाटी, प्रशुति, छाति रोग, जनरल फिजिसियन लगायतका बिशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
शिबिरमा बिरामीहरुको अवस्था हेरेर इसिजी तथा मधुमेहको ल्याब परीक्षण निशुल्क गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।अस्पतालले आवश्यकता हेरेर निशुल्क औषधी समेत बितरण गरेको थियो ।
अल्का अस्पताले उपत्यकाका ट्राफिक प्रहरीलाई लक्षित गर्दै बार्षिक रुपमा निशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।
सम्पर्क इमेल : [email protected]