प्रसुतीगृह अस्पतालले सुरु गर्यो किशोरी क्लिनिक
काठमाडौँ – किशोरीहरुमा देखिने यौन तथा प्रजनन् स्वास्थ्य समस्या समाधान गर्न थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रिरोग अस्पतलाले किशोर किशोरीमैत्री क्लिनिक सुरु गरेको छ ।
करीब एक महिना देखी सञ्चालनमा ल्याइएको सो क्लिनिकमा १९ बर्ष मुनीका किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले सल्लाह सुझाव दिनेछन् ।
अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले स्कुल तथा कलेज उमेरका किशोरीहरुमा देखिने यौन तथा प्रजनन् स्वास्थ्य समस्या समाधानका लागि किशोरी क्लिनिक सुरु गरेको बताए ।
उनले सेतोपानी बग्ने महिनाबारी नहुने, गडबडी हुने, धेरै रगत बग्ने, सानो उमेरमा गर्भवती हुँदा देखिने समस्या, परिबार नियोजन लगायतका विषयमा जानकारी दिइने बताए ।
‘किशोरीहरु अन्य महिलासंग लाइन लागेर ओपिडीमा परीक्षण गराउन अप्ठेरो मान्छन् , जो सुकैसंग खुलेर कुरा गर्न पनि सक्दैनन् । त्यसैले हामीले उनीहरुका लागि छुट्टै क्लिनक सुरु गरेका हौँ । यसमा रहने स्वास्थ्यकर्मी तथा चिकित्सकले किशोरीहरुको भावना बुझेर उपचार सल्लाह व्यवहार तथा सुझाव दिने गर्छन,’ डा. गौतमले बताए ।
क्लिनिक विदाको दिन बाहेक विहान ९ देखी ३ बजेसम्म सञ्चालन रहनेछ ।
सम्पर्क इमेल : [email protected]