नारी दिवसका अवसरमा ओम हस्पिटलद्धारा निशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ – १०६ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले मंगलबार ४० बर्ष माथिका महिलाहरुको निशुल्क क्यान्सर परीक्षण गरेको छ । मंगलबार अस्पतालले ४० बर्ष माथिका महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गरेको हो ।
पछिल्ला बर्षहरुको तथ्यांकले नेपालमा पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर र दोस्रो नम्बरमा स्तन क्यान्सर हुने गरेको देखाएको छ । सोही तथ्यांकलाई आधार मानि अस्पतालले क्यान्सर रोगको परीक्षण गरेको हो ।
अस्पतालका अध्यक्ष एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालले मंगलबार मात्रै अस्पतालमा एक हजार बढी महिलाको परीक्षण गरिएको बताए । उनले आगामी बर्ष पनि सो सेवा जारी राख्ने घोषणा गरे ।
परीक्षणमा आएका महिलाहरुलाई बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्र बरालले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर कसरी थाह पाउने भन्ने बारेमा जानकारी दिएका थिए । उनले महिलाहरुलाई क्यान्सर भएको नभएको कसरी थाहा पाउने भन्ने विषयमा परीक्षण गर्ने विधि समेत सिकाएका थिए ।
विश्वमा हरेक ८ मध्ये एक जना महिलालाई स्तन वा पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांक छ ।
स्तन क्यान्सरको लक्षण के हो ?
डा बरालका अनुसार महिलाको स्तनमा गिर्खा देखिनु यसको प्रमुख लक्षण हो । कम उमेरमा बिबाह भएका महिला, बिबाह गरेर पनि बच्चा ढिलो जन्माएका, ३० बर्ष पुगेर बिबाह गरेका महिला, एक तर्फको मात्रै स्तनपान गराउने महिला र स्तनपान नगराउने महिलामा स्तन क्यान्सरको सम्भावना बढी हुने गरेको उनी बताउछन् ।
सम्पर्क इमेल : [email protected]