फार्मासिस्ट नभएका चारवटा फार्मेसीमा ताला
चितवन – फार्मासिस्ट नबसी अर्कै व्यक्तिले औषधि बेचेको पाइएपछि औषधि व्यवस्था विभागले बुधबार भरतपुरका चारवटा औषधि पसलमा तालावन्दी गरेको छ ।
बुधबार अनुगमनका क्रममा नारायणगढको पोखरा बसपार्कमा रहेको स्वीकृति आयुर्वेदिक औषधालय, प्रदिमा फार्मेसी, साकार मेडिकल हल र पुल्चोकको नारायण फर्मामा दर्तावाल व्यक्ति नरहेर अन्य व्यक्तिले औषधि बेचेको भेटिएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्र शर्माका अनुसार १२ वटा फार्मेसीमा अनुगमन गरिएकोमा ती फार्मेसीमा सम्बन्धित व्यक्ति नरहेकाले तालाबन्दी गरिएको हो ।
सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै फार्मेसी सञ्चालन गर्न विभागको टोलीले निर्देशन गरेको छ । सो क्रममा पोखरा बसपार्क, पुल्चोक हुँदै भरतपुरको कलेज अफ मेडिकल साइन्सेसभित्र रहेका चारवटा फार्मेसीको पनि अनुगमन भएको थियो ।
अनुगमन टोलीमा विभाग, विभागको क्षेत्रीय कार्यालय वीरगन्ज र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहभागी थिए ।
सम्पर्क इमेल : [email protected]