तेल-मालिस गर्ने नेवारी परम्परा विश्वविद्यालयको पाठ्यक्रममा


नेवार समुदायमा हजुरआमाबाट आमा हुँदै पछिल्लो पुस्तासम्म आइपुगेको परम्परागत तेल–मालिसको तरिका पहिलोपटक केयुले पाठ्यक्रममै समावेश गर्न लागेको मेडिकल साइन्सेजका सहायक डिन डा. राजेन्द्र कोजूले जानकारी दिए ।
‘बेबी मसाजबारे युरोप र नेपालमा थुप्रै प्रामाणिक अनुसन्धान भएका छन् । यसलाई पहिले विषयगत समितिले पारित गर्छ । एकेडेमिक काउन्सिलबाट स्वीकृत भएपछि केयुको आफ्नै मेडिकल स्कुलमा लागू हुन्छ,’ उनले भने ।
तेल–मालिसको परम्परागत शैलीलाई केयुअन्तर्गतको धुलिखेल अस्पतालले विभिन्न तालिममा यसअघि नै समावेश गर्दै आएको छ । अस्पतालका नर्स, समुदायमा कार्यरत तालिमप्राप्त सुडेनी, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई यस्ता तालिम उपलब्ध गराइँदै आएको हो ।
तेल–मालिसको परम्परागत शैली प्रवद्र्धनमा नेपाली चेली नाज्मा साइब्लर श्रेष्ठ वर्षौंदेखि मेहनत गरिरहेकी छन् । नेवारी परम्परालाई युरोपसम्म पुर्याउन सफल उनी पछिल्ला वर्षमा नेपालमै परिष्कृत तरिकाले प्रचारप्रसार र उपयोगमा ल्याउन सक्रिय छिन् । स्विस नागरिक डा. जियोभानी साइब्लरसँग बिहे गरेकी उनले युरोपका विभिन्न मुलुकमा तेल–मालिको नेपाली विधिबारे तालिम दिइसकेकी छिन् ।
स्विट्जरल्यान्डका नवजात शिशुमा लामो समयसम्म पेट दुख्ने, खाना नखाने र नपच्ने समस्या देखिएपछि आमाबाबु चिन्तित थिए । मैले नेवारी परम्पराअनुसार तेल मालिसको विधि सिकाएपछि उनीहरूले त्यो समस्या झेल्नुपरेन,’ नाज्माले भनिन् ।
साइब्लर दम्पतीले १९८६ मा स्थापना गरेको भोकेसनल स्कुल फर बेबी मसाजमा तालिम लिनेमा युरोपका मिडवाइफ, पेडिएट्रिक नर्स, फिजियोथेरापिस्टसम्म छन् । ‘स्विट्जरल्यान्डका नवजात शिशुमा लामो समयसम्म पेट दुख्ने, खाना नखाने र नपच्ने समस्या देखिएपछि आमाबाबु चिन्तित थिए । मैले नेवारी परम्पराअनुसार तेल मालिसको विधि सिकाएपछि उनीहरूले त्यो समस्या झेल्नुपरेन,’ नाज्माले भनिन् ।
सुरुमा नपत्याए पनि यो विधिले काम गरेपछि त्यहाँका डाक्टर, नर्ससमेत आफूसँग सिक्न आएको नाज्मा बताउँछिन् । ‘अहिले यो पद्धति युरोपमा अत्यन्तै लोकप्रिय छ, हामीले चलाएको भोकेसनल स्कुलमा तालिम लिनेको संख्या १ सय ७० पुगेको छ ।’
सुत्केरीलाई तेल मालिस गर्दा उनमा पछि बाथजस्ता रोग नलाग्ने र बच्चा पनि स्वस्थ हुने परम्परागत विश्वास नेवार समुदायमा रहेको उनी बताउँछिन् । ‘शिशुलाई मेसिनले मालिस गरेर हुँदैन । यसका लागि त्याग र सीप चाहिन्छ । भक्तपुरका सुडेनीले परम्परादेखि गर्दै आएको तेल–मालिस प्रक्रिया विज्ञबाट अनुसन्धान गराइसकिएको छ, वैज्ञानिक दृष्टिले पनि त्यो उपयुक्त देखिएको छ,’ नाज्माले भनिन् ।
नेपालमै भने यो परम्परागत शैली भुल्न थालिएको प्रति उनी चिन्ता व्यक्त गर्छिन् । ‘९० को दशकसम्म यहाँ नवजात शिशुलाई नेवारी तरिकाले नै तेल मालिस गरिन्थ्यो । पछिल्लो समय नेपाली आमाहरूले यसलाई झन्झट मान्न थालेको पाएको छु,’ भीमफेदीमा हुर्केर हाल स्विट्जरल्याण्डको जुरिकमा बस्दै आएकी नाज्माले भनिन् । सन् १९८३ मा जुरिकमा पहिलो छोरी जन्मेलगत्तै नेपालबाट आमा हरिदेवी श्रेष्ठलाई बोलाएर आफूले तेल–मालिसको परम्परागत शैली सिकेको उनी बताउँछिन् ।
नाज्माले हालै स्विस दूतावासको सहयोग र धुलिखेल अस्पतालको समन्वयमा चार महिना लामो चरणबद्ध तालिममा काभ्रे, धादिङ, सिन्धुपाल्चोक, ललितपुरका २० स्वास्थ्यकर्मी लाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बाँडेकी छन् । उनले तेल–मालिसबारे वृत्तचित्र पनि प्रदर्शन गरेकी छिन् ।
- आजको नागरिक दैनिकमा मधुसुधन गुरागाईँले लेखेको समाचार
सम्पर्क इमेल : [email protected]