भूकम्प प्रभावित गाँउमा ५ सय बढीको नि:शुल्क स्वास्थ्य परीक्षण

नेपाली हेल्थ / सिन्धुपाल्चोक – काठमाडौँबाट गएका चिकित्सकहरुको टोलीले शनिबार जिल्लाको लिस्ती गाविसका करीब ५ सय भूकम्पपिडीतहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
फरक सोच नामक संस्थाको आयोजनामा भएको स्वास्थ्य सिविरमा युवा चिकित्सकहरुको समूह परिबर्तनका लागि चिकित्सक तथा रेजिडेण्ट एसोसियसन अफ न्याम्स र्यानमा आवद्ध चिकित्सकहरुले सघाएका थिए ।
स्वास्थ्य सिविरका लागि परिवर्तनका लागि चिकित्सक अभियानको नेतृत्वकर्ता डा.विश्वबन्धु बगाले सहित आठ जनाको चिकित्सक टोली तथा र डेण्टल सर्जन डा. प्रेनित पोखरेलको अगुवाईमा सात सदस्यीय दन्त चिकित्सकको टोली लिस्ती पुगेको थियो । सो टोलीले भूकम्पका कारण पालमा जीवन विताईहरेका स्थानीयबासीको स्वास्थ्यपरीक्षण गरेको थियो ।

डा. बगालेका अनुसार अधिकांशमा रुघा खोकी ज्वरोको समस्या थियो । त्यस्तै भूकम्पका घाइतेहरुमा जीउ दुख्ने र जोर्नी दुख्ने समस्या भएको पाइएको थियो । बालबालिका र महिलाहरुको विशेष स्वास्थ्य परीक्षण भएको उक्त सिविरमा आएका स्कुले बालबालिकाहरुलाई निशुल्क शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।

अघिल्लो साता मात्रै डा. बगाले र डा. पोखरेलको टोलीले चितवनको दारेचोकस्थित कुरिनटारमा निशुल्क बाल स्वास्थ्य सिविर आयोजना गरि करीव ३ सय बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो ।

सम्पर्क इमेल : [email protected]