सर्पले टोक्दा प्रयोग हुने औषधि ‘एन्टी स्नेक भेनम’ उद्योग खोल्नेबारे समितिमा छलफल
नेपाली हेल्थ /काठमाडौँ- सर्पले टोक्दा प्रयोग हुने औषधि एन्टी स्नेक भेनम उत्पादन र व्यवस्थापन प्रक्रिया अघि बढाउन सभासदहरुले माग गरेका छन् । उनीहरुले भारतबाट ल्याउनुको साटो सो औषधि स्वदेशमै उत्पादन गरी आत्मनिर्भरतामा अघि बढ्न जोड दिएका छन् ।
व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आज बसेको बैठकमा सर्पदंशको औषधि नेपालमै उत्पादन गरी व्यवस्थापन गर्नेबारे छलफल भएको थियो । सो बैठकमा बोल्ने अधिकांश सभासदहरुले सर्पदंशको औषधि भारतबाट ल्याउनुको सट्टा नेपालमै उत्पादन गर्न आत्मनिर्भर बन्न सुझाव दिएका थिए ।
आजको बैठकमा समितिले सर्पदंशको औषधि, उत्पादन, व्यवस्थापन तथा आवश्यक बजेटका सम्बन्धमा वन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलगायतका निकायसँग जानकारी पनि लिएको छ ।
समितिका सभापति रञ्जुकुमारी झाले सर्पदंशको औषधि उत्पादनले आम्दानीको स्रोत बढाउनुका साथै देशलाई आत्मनिर्भरता तर्फ अग्रसर बनाउने बताइन ।
समितिका सदस्य रामहरि सुवेदी, टिएल चौधरी, लक्ष्मण राजवंशी, जयप्रकाश थारु र रत्नदेवी गुरुङलगायतले सर्पदंशको औषधि नेपालमा उत्पादन गर्नुपर्ने भन्दै तर जिम्मेबार निकायहरु उदासिन रहेको गुनासो गरे ।
बैठकमा सहभागी हुन आएका उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले सर्पदंशको औषधि उद्योग खोल्नका लागि अहिलेसम्म एउटा मात्र निवेदन आएको जानकारी दिए । बैठकमा सर्पदंशको औषधि उद्योग खोल्न छुट्टै कानून चाहिने भन्दै त्यसबारे समेत छलफल भएको थियो ।
सम्पर्क इमेल : [email protected]