एमडीआर टीबीको उपचार अब नौ महिनामै !
२४ महिना लाग्ने मल्टी ड्रग रेजिस्टेन्स ( एमडीआर ) टीबीको उपचार नौ महिनामै सम्भव देखिएको छ । ९ वटा अफ्रिकी मुलुकका ५०७ जना एमडिआर टीबीका विरामीमा गरिएको अनुसन्धानले नौ महिने उपचार प्रभावकारी देखिएको हो ।
केपटाउनमा जारी ४६ औं युनियन वल्र्ड कन्फ्रेन्समा बिहीबार अनुसन्धानकर्ताहरुले एमडीआर टीबीको छोटो उपचार पद्धतीको सफलता बारेमा प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदन अनुसार छोटो अर्थात ९ महिने उपचार पद्धतीमा ८०. ९ प्रतिशत विरामी निको भएका छन । ७.७ प्रतिशत विरामीको मृत्यु भएको छ । ६.५ प्रतिशतलाई पुनफलोअपका लागि बोलाइएको छ । बाकी ४.९ प्रतिशत विरामी उपचार असफल भएको छ ।
अनुसन्धानका लागि बेनिन, बुर्किनाफासो, बुरुन्डी, केमरुन, कोटडिलभोइर, नाइजर, सेन्टर अफ्रिकन रिपव्लिक, कंगो र रुअण्डा गरी नौ वटा अफ्रिकी मुलुकका विरामीहरु सहभागी थिए ।
‘एमडिआर टिविको ९ महिने उपचार पद्धतीको प्रारम्भीक नतिजा एकदममै उत्कृष्ठ छ,’ अनुसन्धान टोलीको नेतृत्व गरेका द युनियनका चिकित्सक डा आरनोड टेबकले भने । उनले यो छोटो उपचार पद्धती एमडीआर टिविको पुरानो उपचार पद्धती भन्दा धेरैनै सजिलो तथा सुधारात्मक नतिजा आउने देखिएको बताए ।
यो अनुसन्धानका लागि क्षयरोग र फोक्सोको रोग विरुद्ध काम गर्दै आएको अन्तराष्ट्रिय संस्था ‘द युनियन’ले सघाएको थियो ।
सम्पर्क इमेल : [email protected]