नेपाल स्वास्थ्य व्यवसायी परिषद्

(नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम स्थापित)
बाँसबारी, काठमाडौंको

सार्वजनिक सूचना

नेपाल स्वास्थ्य व्यवसायी परिषद् मा विभिन्न समयमा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट प्राप्त गुनासो तथा उजुरीको सन्दर्भमा यस परिषद्को गम्भिर ध्यानाकर्षण भई परिषद्को मिति २०८१/०६/०३ गतेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, २०५३ को दफा २ उपदफा (४) “स्वास्थ्य व्यवसाय भन्नाले बिरामीको रोगको उपचार, निदान, रोकथाम वा स्वास्थ्य व्यवसाय सम्बन्धी कुनै कार्यलाई जनाउँछ ।” उपदफा (५) “स्वास्थ्य व्यवसायी भन्नाले तोकिएको न्यूनतम योग्यता प्राप्त गरी स्वास्थ्य व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्छ ।” (७) “दर्तावाला स्वास्थ्य व्यवसायी भन्नाले दर्ता किताबमा नाम दर्ता भएका स्वास्थ्य व्यवसायी सम्झनु पर्छ ।” परिषद् ऐन, २०५३ को दफा २० “स्वास्थ्य व्यवसाय गर्न नपाउने : यो ऐन प्रारम्भ भएको एक बर्ष पछि दर्तावाला स्वास्थ्य व्यवसायी बाहेक अन्य स्वास्थ्य व्यवसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले स्वास्थ्य व्यवसाय गर्न पाउने छैन ।” ऐनको दफा २८ “दण्ड सजाय : (१) दफा २० को बर्खिलाप स्वास्थ्य व्यवसाय गर्ने व्यक्तिलाई तोकिए बमोजिम सजाय हुनेछ । (२) उपदफा (१) मा उल्लेख गरिएको बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने कुनै काम गर्ने व्यक्तिलाई तोकिए बमोजिम सजाय हुनेछ ।” नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली, २०५६ को नियम २ (ङ) “स्वास्थ्य संस्था भन्नाले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सरकारी वा गैर सरकारी वा नीजि स्तरबाट सञ्चालित अस्पताल वा नर्सिङ्ग होम वा प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी उप स्वास्थ्य चौकी वा अन्य कुनै नामबाट सञ्चालित स्वास्थ्य संस्था सम्झनु पर्छ ।” नियमावली, २०५६ को नियम १३ (घ) “जिम्मेवारी भित्रको काम मात्र गर्नु पर्नेः आफूले अध्ययन् गरेको विषय वा हासिल गरेको ज्ञान र सीपसंग सम्वन्धित क्षेत्र भित्रको मात्र कार्य वा सुझाव वा सिफारिस गर्नु पर्नेछ । आफ्नो जिम्मेवारी तथा कार्य क्षेत्रभित्र नपर्ने विषयमा सम्बन्धित विषयको ज्ञान र दक्षता हासिल गरेको विशेषज्ञ कहाँ सिफारिस गर्नु पर्नेछ ।” भन्ने कानूनी व्यवस्था रहेको हुँदा सोही अनुसार गर्नु गराउनु हुन अनुरोध छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् (पहिलो संसोधन) नियमावली, २०६९ परिच्छेद २ को नाम दर्ता सम्वन्धी व्यवस्था नियम ३ मा नाम दर्ता सम्वन्धी स्वास्थ्य व्यवसायीहरुको तह र नाम दर्ताको लागि आवश्यक न्यूनतम योग्यताः
“(१) स्वास्थ्य व्यवसायीहरुलाई देहाय बमोजिमको तहमा बर्गीकरण गरिएको छ ।
(क) विशिष्ठ तह
(ख) प्रथम तह
(ग) द्धितीय तह
(घ) तृतीय तह ।”
(२) उपनियम (१) बमोजिम बर्गीकृत स्वास्थ्य व्यवसायीको रुपमा परिषद्मा नाम दर्ता गर्नका लागि सम्बन्धित स्वास्थ्य व्यवसायीले परिषद्बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट देहाय बमोजिमको शैक्षिक योग्यता वा उपाधि वा तालीम प्राप्त गरेको हुनु पर्नेछः
“(क) विशिष्ट तहको लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि प्राप्त गरेको,
(ख) प्रथम तहको लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको,
(ग) द्वितीय तहको लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको,
(घ) तृतीय तहको लागि सम्बन्धित विषयमा कम्तीमा एक बर्षको तालीम प्राप्त गरेको ।”
माथि उलेखित कानूनी व्यवस्था भए बमोजिम नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन ९ (१) बमोजिम परिषद्संग सम्बन्धित विभिन्न छुट्टा छुट्टै विषय र तहको आचार संहिता जारी गरिएको हुदाँ परिषद् ऐन नियममा भएको व्यवस्थाको अधिनमा रहि काम कारवाही गर्न गराउन भन्ने व्यवस्था भए बमोजिम यस परिषद्बाट नाम दर्ता प्रमाणपत्र जारी गरिएको हुँदा उक्त प्रमाणपत्र र परिषद्बाट जारी आचार संहिताका आधारमा स्वास्थ्य व्यावसायिक अभ्यास गर्न गराउन अनुरोध गरिन्छ ।
प्रस्तुत सन्दर्भमा कोही कतैबाट प्रचलित ऐन कानुन विपरित कार्य गरे गराइएको पाईएमा नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, २०५३ को दफा २८ तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद नियमावली, २०५६ को नियम ३५ बमोजिम रु. २५०००।– (पच्चिस हजार रुपैयाँ) देखि रु. १०००००।– (एक लाख रुपैयाँ) सम्म जरिवाना तथा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ दफा २३० उपदफा ३ मा भएको व्यवस्था बमोजिम रु. ३००००।– (तीस हजार रुपैयाँ) जरिवाना र ३ (तीन) वर्ष कैद सजाय हुनेछ ।

– रजिष्ट्रार