महानगरबासीलाई ओपिडी सेवा सहित ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउँदै काठमाडौँ महानगर
काठमाडौँ, २० असोज । काठमाडौं महानगरपालिकाले आफ्ना नगरबासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गर्ने भएको छ ।
कामपाले स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरी महानगरबासीलाई ओपिडी तथा निशुल्क औषधि उपलव्ध गराउन लागेको हो । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ ।
कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार तयार भइसकेको छ भने आंशिक रुपमा सेवा सुरु भइसकेको छ ।
ती केन्द्रहरुमा कामपा वडानम्बर १ को सत्यसाई केन्द्र नक्साल, वडा नं ७ को मैजुवहाल, वडा नं ८ को जयवागेश्वरी र वडा नं ९ को गौशालारहेका छन् ।
यस्तै वडा नं १४ को गणेश मन्दिरसँगै कुलेश्वर, वडा नं १९ को कंकेश्वरी, वडा नं २६ को लैनचौरस्थित वडा कार्यालय र ३० को ज्ञानेश्वर रहेका छन् । ती केन्द्रको सेवा थप गरी सर्वसाधारणलाई समेत उपचार सेवा दिने भएको छ ।
कामपा जनस्वास्थ्य विभागका निर्देशक रामप्रसाद पौडेलले महानगरवासीलाई निःशुल्क सेवा दिन ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरी सञ्चालन गर्न लागेको बताए । अहिले कुल २४ वटा वडामा प्रवर्द्धन केन्द्रहरुको काम भइरहेको छ । यसमध्ये ८ वटा वडामा त सेवा सुरु नै भएको छ । २४ बाहेकका बाँकी ८ वटा केन्द्रहरु अबको तीन महिना भित्र स्थापना गरी सेवा सञ्चालन गर्ने योजना रहेको छ ।
‘समष्ठिगत रुपमा केही महिना भित्र महानगरपालिकाको ३२ वटै वडाहरुमा ओपिडी सेवा सहितको निशुल्क औषधि वितरण कार्य सुरु हुनेछ ।
केन्द्रहरू सञ्चालन भएपछि निजी अस्पतालमा बिरामीको चाप घट्ने अपेक्षा कामपाको छ,’उनले भने । उनले ती केन्द्रहरुमा अस्पताल सरह सुविधा हुने समेत बताए । उनले भने यस्ता ‘केन्द्रलाई चिकित्सकले बिरामी परीक्षण गरेपछि थप जटिल रोग भएमा रिफर गर्नेसम्मको अधिकार हुनेछ ।’
महानगरले अहिले केन्द्रका लागि पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन संगै औषधि उपकरण खरीद काम अघि बढाएको बताएको छ । उसले सञ्चालन गर्ने केन्द्रमा केन्द्रमा एक जना चिकित्सक, १ जना स्वास्थ्य सहायक, २ जना स्टाफ नर्ससहित ११ जना कर्मचारी हुनेछन् ।
विभागीय निर्देशक पौडेलले सबै प्रकारका रगत परीक्षण, फिजीयोथेरापी, जनरल रेडियोलोजी, ओपीडी, परिवार कल्याण, एचआईभीलगायतका एक दर्जन उपचार सेवा एउटै केन्द्रबाट उपलब्ध हुनेछ । स्वर्णिम योजनाअन्तर्गत प्रवर्द्धन केन्द्र स्थापना गर्न ३५ करोड रुपियाँ विनियोजन भएको छ ।
कामपाले अब वडा नम्बर २ को लाजिम्पाट, ५ को हाँडीगाउँ, ६ को रामहिटी, १० को लाखेचौर, ९ को पुरानो बानेश्वर, ११ को बबरमहल, १२ को टेकु, २० को भीमसेनस्थान, २२ को सुन्धारा, २८ वडाको बागबजार समेत सेवा विस्तार गर्ने तयारी गरेको छ । विभागीय प्रमुख पौडेलले स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन भएपछि महानगरमा बसोबास गर्ने करिब २२ लाखले सेवा पाउने बताए ।
त्यसो त महानगरको शहरी स्वास्थ्य प्रवर्द्धनकेन्द्रमा वडाबासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, टोलटोलमा स्वास्थ्य जनचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था हुनेछ ।
सहरबासीले आधारभूत सेवाका लागिसमेत ठूला अस्पताल धाउनुपर्ने अवस्था नियन्त्रण गर्न प्रवद्र्धन केन्द्र सञ्चालन गर्न लागेको हो । केन्द्रमा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवा र वृद्धवृद्धाका लागि परामर्शसमेत यस्ता केन्द्रबाट प्राप्त हुन्छ ।
केन्द्र सञ्चालनमा आएपछि अहिलेसम्म सुरु हुन नसकेको स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा आउने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]