स्वास्थ्य सेवा दिवस नागरिकमा जाने सन्देश
आज १५ फागुन अर्थात स्वास्थ्य सेवा दिवस । यसरी दिवस मनाउन लागेको २८ वर्ष भयो । त्यसैले आजको दिवस २८ औँ स्वास्थ्य सेवा दिवस हो । यो वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘सर्वसुलभ स्वास्थ्य सेवा, निरोगी नेपाल हाम्रो प्रतिवद्वता’ भन्ने रहेको छ।
आजको दिन स्वास्थ्य सेवाका कर्मचारीको लागि मात्रै विशेष दिन होईन, आम जनताका लागि पनि विशेष दिन हो । ठ्याक्कै २८ वर्ष अघि अर्थात १५ फागुन २०५३ मा नेपालले स्वास्थ्य सेवा ऐन जारी गरेको थियो । यहि दिनलाई सरकारले स्वास्थ्य सेवा दिवसको रुपमा मनाउदै आएको अवस्था हो ।
त्यसबेला देशको प्रधानमन्त्री शेरबहादुर देउवा थिए, अनि स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसी । उहाँहरुको सक्रियतामा बनेको ऐन त्यसबेला संसदबाट पारित भएर तत्कालीन राजा श्री ५ महाराजाधिराज बीरेन्द्रबीर बिक्रम शाहदेवबाट १५ फागुनमा प्रमाणित भएको थियो । यहि दिनलाई ऐतिहासिक क्षण मान्दै स्वास्थ्य सेवा दिवसको रुपमा मनाउन थालिएको हो ।
स्मरण रहोस, स्वास्थ्य सेवा ऐन आउनु भन्दा पहिले स्वास्थ्य सेवाका कर्मचारीहरुलाई निजामती सेवा ऐनबाट नै व्यवस्थापन गरिएको थियो । स्वास्थ्य सेवा ऐन २०५३ आए पश्चात सरकारी सेवमा रहेका स्वास्थ्य सेवाका कर्मचारीहरुको नियुक्ति देखि अवकाश सम्मको सबै व्यवस्थापन स्वास्थ्य सेवा ऐनबाट नै भैरहेको छ।
आजको यो विशेष दिनमा स्वास्थ्य सेवा दिवस मनाई रहँदा नेपाली नागरिकलाई नयाँ सन्देश उर्जा के दिन सकिन्छ ? आशा उत्साह के जगाउन सकिन्छ ? यो नै महत्वपूर्ण विषय हो जस्तो लाग्छ । त्यसैले मैले स्वास्थ्य सेवा दिवसका बेला आगामी दिनमा तपशीलका विषयमा ध्यान दिन जरुरी देख्छु ।
१. स्वास्थ्य सेवा ऐनलाई समसामयिक सुधार:
स्वास्थ्य सेवा ऐन २०५३ आयो, तत्कालीन श्रेणीगत रहेको सेवालाई तहगत रुपमा विभाजन गरियो । यही स्वास्थ्य सेवा ऐनलाई टेकेर धेरै जना स्वास्थ्य सेवाका सचिव अतिरिक्त सचिव प्रमुख बिशेषज्ञ भएता पनि अहिले पनि समस्या यथावत छन् ।
अहिले पनि पदनाम लिन स्तर बृद्धि लिन अदालत धाउन रहर होईन बाध्यता बनेको छ।
संघीयता अनुसार कर्मचारी समायोजन भनियो धेरै लोकप्रियता कमाउन द्रुत गतिमा समायोजन गर्नु पनि भनियो तर स्वास्थ्य सेवाका तह दरबन्दी हाल सम्म पनि व्यवस्थापन हुन सकेको छैन ।
तीन तहका स्वास्थ्यकर्मीहरुलाई कसरी एक आपसमा आबद्व गर्ने हो सो को नीतिगत संरचनागत संयन्त्र कसरी निर्माण गर्ने स्पष्ट व्यवस्था छैन। संघ प्रदेश स्थानीय तहमा स्वास्थ्यकर्मीहरुलाई नियुक्ति देखि अवकाशसम्म व्यवस्थापन गर्ने मूल ऐन स्वास्थ्य सेवा ऐन मास्टर ऐन पनि हो ।
अब बन्ने स्वास्थ्य सेवा ऐनले संघ, प्रदेश र स्थानीय गरी तीन तहका स्वास्थ्यकर्मीहरुको बृत्ति विकास, सेवाको सुरक्षा लगायत सबै विषय सुनिश्चित गर्ने हुनु पर्दछ।
२. मानव पूँजी निर्माणको माध्यम:
अब बन्ने स्वास्थ्य सेवा ऐनले विश्वमा जनशक्ति व्यवस्थापनका नवीन अबधारणाहरुलाई संवोधन गर्ने किसिमबाट निर्माण हुन जरुरी छ । मानव पूँजी निर्माण, प्रतिभा व्यवस्थापन लगायतका विषयलाई संवोधन गर्न जरुरी छ ।
देशमा उत्पादन भएका जनशक्तिलाई कार्य बातावरण, दरबन्दी सृजना योग्य जनशक्तिलाई आकर्षण, संगठनमा आएको जनशक्तिलाई दिगो समयसम्म टिकाउने बातावरणको समस्या छ।
यतिवेला देशमा दक्ष चिकित्सक तथा नर्सिङ जनशक्ति विदेश पलायनको ठूलो समस्या छ।
बजारमा उत्पादित प्रतिभावान जनशक्ति संगठनमा स्वागत गर्ने, संगठनमा टिकाउने तथा नागरिकलाई प्रभावकारी सेवा दिने व्यवस्था गर्ने हिसावले जनशक्ति ब्यवस्थापन ऐन कार्यान्वयन आवश्यक छ ।
स्वास्थ्य सेवा ऐनले सरकारी सेवामा भएका स्वास्थ्यकर्मीहरुको नियुक्ति देखि अवकाश सम्मको विषयमा कानूनी प्रबन्ध गरेको छ।
नेपालको स्वास्थ्य सेवामा विभिन्न प्रतिष्ठानहरु छन् । त्यहाँ कार्यरत कर्मचारीहरुको आफ्नै विनियमावली छ । विभिन्न अस्पतालमा अस्पताल विकास समितिहरु छन् तर अस्पताल विकास समितिमा कार्यरत कर्मचारीहरुको नियमावली पृथक रहेको छ।
तीन तहका सरकारहरुमा प्रदेश सरकारका प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन रहेका छन् ।
निजी क्षेत्रमा रहेका स्वास्थ्य संस्थाले पनि नागरिकलाई शुल्क लिएर सेवा प्रदान गरिरहेको अवस्था छ। निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुको पनि सेवा सञ्चालनको मापदन्ड तय गर्ने अधिकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छ ।
New Public Governance अवधारणा अनुसार सरकारी क्षेत्र निजी क्षेत्र तीन तहका सरकार प्रतिष्ठान, विकास समिति सबैलाई मार्गदर्शन गर्ने किसिमको एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन आवश्यक देखिन्छ।
बिगतमा देखिएका विश्वव्यापी महामारी कोभिड-१९ जस्तै अन्य महामारी विपद संकट, खोप लगायतका बिभिन्न जनस्वास्थ्य अभियान सञ्चालन गर्न तीन तहका स्वास्थ्यकर्मीहरुको परिचालन व्यवस्थापन गर्ने कानूनी अधिकार सहितको ऐन आउन आवश्यक छ ।
३. पुरस्कार तथा सम्मान :
स्वास्थ्य सेवा दिवस मनाउने अवसरमा स्वास्थ्य सेवा पुरस्कार वितरण गर्ने चलन छ । हाल स्वास्थ्य सेवा नियमावलीमा १ लाख बराबरको उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार, ५० हजार बराबरको चार जनालाई स्वास्थ्यकर्मी पुरस्कार दिईने गरिन्छ ।
निजामती सेवा नियमावलीमा सर्बोत्कृष्ट निजामती पुरस्कार उत्कृष्ट र निजामती गरेर तीन किसिमको पुरस्कार प्रदान गरिन्छ। पुरस्कारको संख्या पनि धेरै छ।
स्वास्थ्य सेवा नियमावलीमा दुई किसिमको मात्रै पुरस्कार प्रदान गरिन्छ र त्यसको संख्या पनि कम छ । देशमा कार्यरत स्वास्थ्यकर्मीहरुको तुलनामा यो पुरस्कारको संख्या एकदम कम हो । आगामी दिनमा स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने पुरस्कार तथा सम्मानको संख्या बढाउनु पर्ने देखिन्छ।
मलाई के लाग्छ भने, स्वास्थ्य सेवा दिवस मनाउदा स्वास्थ्यकर्मीहरुको मनोवल बढाउने, उनीहरुलाई उत्साहित गराएर नागरिकलाई गुणस्तरीय प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सके मात्र दिवस मनाउनुको सार्थकता हुन्छ, स्वास्थ्य सेवा दिवसको नारा पनि कार्यान्वयन हुन्छ अन्यथा हाम्रा दिवसहरु सनातनी कर्मकान्डमा मात्र सिमित हुन्छन्।
सम्पर्क इमेल : [email protected]