जनसंख्या नीति संसोधन गर्ने तयारीमा लाग्यो स्वास्थ्य मन्त्रालय
विज्ञसंग अन्तरक्रिया तथा सुझाव संकलन गरिदै
काठमाडौँ, २६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विज्ञहरुसँग परामर्श थालेका छन् ।
मन्त्रालयकै आयोजनामा बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय जनसंख्या नीति मस्यौदा सम्वन्धमा विज्ञ तथा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा उनले राष्ट्रिय योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञहरुलाई भेला गरि सुझाव मागेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री पौडेलले नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेर छलफल थालिएको बताए ।
उनले नेपालको जनगणना २०७८ को नतिजाले ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या ऋणात्मक रहेको भन्दै बढ्दो असन्तुलनलाई कम गर्नका लागि सम्बोधन गरेर राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न आवश्यक रहेको बताए ।
यसैगरी उनले सहरी क्षेत्रमा बसाईसराई बढ्ने तथा विदेश जानेको संख्या बृद्धि हुनुमा रोजगारी र अवसर अभाव प्रमुख समस्या रहेको भन्दै यसका लागि नीतिगत सुधार आवश्यक रहेको महसुस गरेर ऐन परिमार्जनमा लागेको बताए ।
‘हाम्रो प्रजनन दर ऋणात्मक हुने अवस्थामा नजाओस्, त्यसको असर जनसांख्यिक विकासमा नपरोस् भनेर अपनाउँदै आएको नीतिमा परिमार्जन गर्न खोजेका छौं,’ उनले भने, ‘हामी नीतिगत परिमार्जनका लागि तयार छौं । तर यो हाम्रो मात्र नभएर पालिका सरकारको पनि जिम्मेवारी हो ।’
मन्त्री पौडेलले पालिकाभित्र जनसंख्या किन घट्यो भनेर पालिका सरकारहरु पनि चिन्तित हुनुपर्ने उल्लेख गर्दै मिलेर समस्या समाधान गर्ने बताए ।
‘आफ्नो पालिकाभित्र जनसंख्या किन घट्यो भनेर पालिकाहरुले पनि सोच्नु जरुरी छ,’ उनले भने, ‘हामीले बाहिर जाने कारण पत्ता लगाएर त्यसलाई कसरी रोक्न सकिन्छ भनेर सहकार्य गरौं । हामी तयार छौं ।’
मन्त्रालयले विज्ञहरुको सुझावका आधारमा ऐन परिमार्जन गरेर संसोधनका लागि संसदमा लैजाने गरी परामर्श गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]