यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयमा नेपाली सञ्चारमाध्यमको भूमिका कस्तो ? अवलोकन गर्न आए बंगलादेशका पत्रकार

काठमाडौँ, १४ कात्तिक । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्ना अधिकारका लागि निरन्तर आवाज उठाउँदे आएका छन् । तर सरकारले उनीहरुको माग राम्ररी सम्वोधन गर्न सकेको छैन । तर बंगलादेशमा भने यो समुदायको अवस्था नेपालमा भन्दा झन् दयनिय रहेको त्यहाँका पत्रकारहरुले दावी गरेका छन् ।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारमा सक्रिय संस्था नील हिरा समाजको गतिविधि अवलोकन गर्न आएका दुई जना बंगलादेशी पत्रकारहरुले मंगलबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा सो दावी गरेका हुन् ।

बंगलादेशी पत्रकार विप्लभ रोयले भने,  ‘नेपालमा एलजीबीटीआई समुदायका पक्षमा अलिबढी खुला छलफल हुने गरेको छ । नेपालका सञ्चार माध्यमले पनि हामीकहाँ भन्दा बढी यस विषयमा मुद्धा उठाउने गरेको हामीले पायौँ ।’

उनले नेपाल र बंगलादेशको फरक धार्मिक आस्थाका कारण पनि दृष्टिकोणमा फरकपना देखिएको बताए ।

‘नेपाल हिन्दु रास्ट्र हो, तर बंगलादेश मुस्लिम मुलुक भयो । यसले गर्दा पनि नेपालमा भन्दा बंगलादेशमा एलजीबीटीआई समुदायका पक्षमा अलि कम नै छलफल हुन्छ,’ रोयले अन्तक्रिर्या कार्यक्रममा भने । तर उनले एलजीवीटीआई समूदायका मुद्धा र उनीहरुलाई गर्ने व्यवहारमा बंगलादेशमा पनि क्रमश परिवर्तन हुँदै आइरहेको जानकारी दिए ।

अर्को एक प्रसंगमा पत्रकार रोयले नेपालमा संविधानमा नै कुनै पनि नागरिकलाई स्वतन्त्र व्यवहारको कुरा गरिएको भन्दै बंगलादेशमा भने त्यस्तो स्वतन्त्रताको व्यवस्था नभएको उल्लेख गरे ।

‘मुस्लिम देश भएकाले बंगलादेशले धार्मिक रुपमा प्रशस्त चुनौतिहरुको सामना गर्दै अघि बढ्नु परेको थाहा नै छ, तर पछिल्ला बर्षहरुमा मिडिया र सरकारले सकरात्मक भूमिका निर्वाह गरिरहेको छ,’ पत्रकार रोयले भने।

नील हिरा समाजकी पूर्व अध्यक्ष एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकि अभियन्ता भूमिका श्रेष्ठले नेपालमा संवैधनिक रुपममा नै समूदायलाई सम्बोधन गरिएपनि कानुनी रुपमा अझै धेरै कामहरु बाँकी रहेको औंल्याइन।

दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाल उदाहरणीय मुलुक रहेको उल्लेख गर्दै उनले समूदायका मुद्दाहरुका सवालमा नीतिगत सुधार भएपनि व्यवहारिक कार्यान्वयनमा जटिलताहरु रहेको बताइन।

यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले समूदायका मुद्दाहरु नेपाली मिडियाहरुले उच्च रुपमा प्राथमिकता दिएको बताए।

उनले नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको आचार संहितामा पनि लैङ्गिक विभेद गर्न नपाइने उल्लेख गरेकाले नेपाली मिडियाहरुले आचार संहिता अनुसार नै समूदायका व्यक्ति र मुद्दालाई उचित स्थान दिएको जानकारी दिए।

यस्तै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव महेश्वर गौतमले नेपालमा राजनीतिक दलहरुले समेत यौनिक तथा लैंगिक समुदायको प्रतिनिधित्वमा पहलकदमी लिएको पाइएको बताए।

उनले संविधान निर्माण गर्ने थलोमा नै सो समुदायबाट प्रतिनिधित्व भैसकेको उदाहरण रहेको भन्दै दलहरूले आन्तरिक निर्वाचनमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व छिटपुटरुपमा गराउन सुरुवात गरेको तर त्यो पर्याप्त भने नभएको बताए।

अन्तरक्रिया कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विषयमा दुबै देशका अनुभव र व्यवस्थाबारेमा चर्चा भएको थियो ।

कार्यक्रममा बंगलादेशबाट रोयसहित तीनजना सहभागी थिए भने नेपालबाट विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीसहित यौनिक तथा लैंगिक समुदायका प्रतिनिधिहरु सहभागी थिए।

कार्यक्रममा बंगलादेश र नेपालमा समूदायका मुद्दाहरुले पाइरहेको प्राथमिकताका विषय एवम उठिरहेको मुद्दाका विषयमा सहभागीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा नेपालका तर्फबाट छापा पत्रिका, टेलिभिजन, रेडियो अनलाइनमा आवद्ध नेपाली पत्रकारको सहभागिता थियो । यस्तै बंगलदेशका प्रतिनिधि र नील हिरा समाज र यससंग आवद्ध प्रमुख सरोकारवाला व्यक्तिहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *