पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा ४ जनाको ‘पोजेटिभ’
काठमाडौँ, १६ पुस । समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो भने विद्यालयमा अध्यययनरत एक सय ५० छात्रालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोपको महत्त्व एवं सचेतना गराइएको थियो ।
‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भीआईए) विधिबाट स्क्रिनिङ गरिएकामध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको थियो ।
ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको थियो । शिविरिमा वरिष्ठ स्त्रीरोग विशेषज्ञद्वय डा। कस्तुरी मल्ल र डा.विमला लाखे तथा नर्सद्वय विष्णुदेवी श्रेष्ठ र कल्याणी श्रेष्ठले सेवा प्रदान गरेका थिए ।
शिविरले समुदायमा आधारित स्वास्थ्य पहलको महत्त्व र महिलाको स्वास्थ्य सुधार गर्न विशेषगरी पाठेघर मुखको क्यान्सरजस्ता स्वास्थ्य समस्यामा साझेदारीको भूमिकालाई उजागर गरेको जनाइएको छ ।
यस संयुक्त प्रयासले पाठेघरको क्यान्सर क्यान्सर रोकथामसम्बन्धी सचेतना वृद्धि गर्नुका साथै यसको महत्वलाई पनि जोड दिएको आयोजकले जनाएका छन् ।
प्रजनन स्वास्थ्य शिविरले मेरीस्टोप्स सेन्टरले प्रदान गर्ने सेवाका बारेमा समुदायस्तरमा जानकारी बढाउन सहयोगी सावित भएको मेरीस्टोप्स इन्टरनेशनल (एमएसआई) का वरिष्ठ सल्लाहकार केपी उपाध्यायले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]