चौंरी खर्क पुगेर लगाइयो बालबालिकालाई खोप
हुम्ला, २४ भदौ । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ ।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको टोलीले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियानअन्तर्गत रानीसैनामा रहेका स्याडा गाउँसहित उत्तरी नाम्खा, ताँजकोट र त्यस क्षेत्रमा रहेका बाजुरा जिल्लाका पाँच बालक र एक बालिकालाई खोप लगाएको हो ।
छ महिनादेखि १५ महिना मुनिका ती बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, रोटा, जेइ र एफआइपिभी रुबेला टाइफाइडलगायत रोग विरुद्धको खोप लगाइएको स्याडा स्वास्थ्य चौकीका अहेब राजेश थापाले जानकारी दिए ।
चार हजार मिटर अग्लो पाटन चौंरी खर्क रानीसैनामै पुगेर बालबालिकाका लागि खोप लगाइएको अहेब थापाले जानकारी दिए । भदौ १७ गतेदेखि २२ गतेसम्म रानीसैनामा खोपसहित स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।
वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौंरीगाईसहित अन्य पशुु चरिचरनका लागि लैजानुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए ।
रानीसैना खर्कमा गोठाला बसेका २० महिला र २३ पुरुष गरी ४३ गोठालेको स्वास्थ्य जाँचसहित औषधि उपचार गरिएको पनि संयोजक भण्डारीले बताए ।
स्याडा गाउँका र नाम्खा, ताँजकोट गाउँपालिकासहित छिमेकी बाजुरा जिल्लाका रानीसैना पुगेका गोठाला, जडिबुटी खन्न पुगेका नागरिकको उपचार गरिएको उनले बताए । स्याडा स्वास्थ्य चौकीका इन्चार्ज लवी रावतको नेतृत्वमा घुम्ती शिविरमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।
बर्खायामको झरीसँगै कठिन यात्रामा खटिइ सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ ।
गत वर्ष पनि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो पालिकाभित्र रहेका उच्च पाटनमा पुगेका बालबालिका र नागरिक स्वास्थ्य उपचारबाट कोही नछुटुन भनेर घुम्ती शिविर सञ्चालन गरेको थियो ।
सम्पर्क इमेल : [email protected]