शनिबारबाट ‘कोभिसिल्ड’ खोप प्रदेश प्रदेशमा वितरण हुँदै

काठमाडौँ, ९ माघ ।  भारत सरकारको अनुदानमा आएको कोरोनाबिरुद्धको खोप कोभिसिल्ड शनिबारबाट सात प्रदेशमा वितरण शुरु हुने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आज सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण एकीन गरेपछि आवश्यकताको आधारमा खोप वितरण कार्यलाई शनिबारबाट अघि बढाउने जनाएको छ ।

महाशाखा प्रमुख डा भिमसिंह तिंकरीले भने, ‘कहाँ कति खोप चाहिन्छ, आज अन्तिम रुप दिइन्छ र सम्भवत भोलि (शनिबार)बाट खोप वितरणको कार्य शुरु हुन्छ ।’

उनले प्रदेशमा पठाइएको खोपहरु जिल्लागत रुपमा वितरण हुने र जिल्लाले तोकेको बुथबाट स्वास्थ्यकर्मीहरुले खोप पाउने बताए ।

विभागले स्वास्थ्यकर्मीको संख्या बढी भएको काठमाडौँ उपत्यकामा धेरैवटा बुथ राखे पनि उपत्यका बाहिरका जिल्लाहरुमा सरकारी अस्पतालबाट स्वास्थ्यकर्मीलाई खोप दिने योजना बनाएको छन् । कुनै कुनै जिल्लाले आवश्यकताका आधारमा सहायक बुथ राख्न सक्ने समेत बताइएको छ ।

एक साता देखि १० दिन भित्र खोप अभियान शुरु गर्ने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा कोभिडविरुद्ध खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीलाई दिने बताएको छ । त्यसको संख्या करीब ३ लाख बढी रहेको बताइएको छ ।

एक बुथमा एक दिनमा १२० देखि १२५ जनालाई खोप दिइने
विभागले ७७ वटै जिल्लामा खोप केन्द्र तयार गर्ने र एउटा केन्द्रमा एक दिनमा १२० देखि १२५ जनालाई खोप दिइने योजना अघि सारेको छ । १८ बर्ष माथिका व्यक्तिले मात्रै खोप पाउने, खोप लिनुअघि आधा घण्टा खोपको सम्भावित असर तथा प्रभावका बारेमा जानकारी गराउने र खोप लगाइसकेपछि आधा घण्टासम्म त्यहि केन्द्रमा रहनु पर्ने नियम बनाएको छ ।

भाइल खोलेको ६ घण्टा भित्रै लगाईसक्नुपर्ने
अहिले आएको कोभिसिल्डको एक भाइल खोपबाट १० जनालाई लगाउन सकिन्छ । एक भाइल खोप खोलिसकेपछि त्यो खोप ६ घण्टा भित्र लगाइसक्नुपर्ने खोप प्रमुख डा झलक गौतमले बताए । यो खोप पनि नेपालमा अरु बेला लगाइने अन्य खोप जस्तै २ देखि ८ डिग्री तापक्रममा रहन्छ । त्यसैले अन्य खोप जस्तै सहज रुपमा प्रयोगमा ल्याउन मिल्ने देखिएको छ ।

व्यवस्थापन महाशाखाका प्रमुख प्रमुख तिंकरीले खोपका लागि ०.५ एमएम सूई चाहिने बताउँछन् । उनले आफूहरुसंग अहिलेका लागि पहिलै नै ल्याएको सुई मौज्दात रहेको र थप सुईका लागि खरीद प्रक्रिया अघि बढाइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *