कोरोनाबिरुद्धको खोप ३ माघ देखि शुरु गर्दै भारत, पहिलो चरणमा ३ करोड व्यक्तिलाई दिइदै

काठमाडौँ, २५ पुस । भारतमा आगामी ३ माघ (१६ ज्यानवरी २०२१) देखि कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार डाकेको कोरोना सम्वन्धी उच्चस्तरीय बैठकले १६ ज्यानवरी देखि खोप अभियान शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले सबैभन्दा पहिला स्वास्थ्यकर्मी तथा फ्रन्टलाइन वर्करलाई दिने निर्णय गरेको छ । भारतभर यो संख्या करीब ३ करोड रहेको अनुमान छ । त्यसपछि ५० बर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई खोप दिइने बताइएको छ । पहिले देखि नै गम्भीर बिरामी भएको र खोपको आवश्यक परेको खण्डमा त्यस्ता व्यक्तिका लागि उमेरको हदवन्दी नरहेको पनि उल्लेख गरिएको छ । यस्ता व्यक्तिको संख्या करीब २७ करोड रहेको बताइएको छ ।

आजको बैठकमा मुख्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, स्वास्थ्य सचिव र अन्य उच्च अधिकारीहरु सहभागी थिए । बैठकमा प्रधानमन्त्री मोदीले खोप अभियानका बारेमा जानकारी लिएका थिए । उनले खोप वितरण व्यवस्थापन प्रणाली बारेमा समेत जानकारी लिएका थिए ।

यो प्रणालीमा खोपको कति मात्रा लगाइयो , कति मौज्दात छ ? कति तापक्रममा राखिएको छ ? लगायतका विषयमा रियल टाइम जानकारी हुनेछ । भारतमा अहिलेसम्म ७९ लाख बढीले कोभिड विरुद्धको खोप लगाउन नाम दर्ता गराएका छन् ।

कसरी लगाइदै छ खोप ?
सरकारी अधिकारीका अनुसार एउटा खोप बुथमा १०० देखि २०० जनालाई खोप लगाइने योजना छ । उनीहरुलाई खोप लगाइसकेपछि ३० मिनटसम्म त्यहि निगरानी गरि राखिन्छ ।

कोभिड एपमा पहिले देखि नै नाम दर्ता गराएका व्यक्तिलाई खोप लगाइन्छ । खोप लगाउनका लागि एपबाट नाम दर्ता गराउनु पर्नेछ । बुथमा गएर नाम दर्ता गराउन पाइने छैन् ।

भारतमा कोरोनाबाट अहिलेसम्म १ करोड ४ लाख बढी मानिस संक्रमित हुँदा १ लाख ५० हजार बढीको मृत्यु भइसकेको छ । अहिले भने देशमा २ लाख २१ हजार मात्रै सक्रिय संक्रमित रहेका छन् । एक करोड बढी व्यक्ति निको भइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *