कोरोनाबिरुद्धको खोप : भारतले सुरू गर्दा नेपालमा पनि लगाउने तयारी

काठमाडौँ, १८ पुस । भारतले कोरोनाबिरुद्धको खोप लगाउन सुरू गर्दा नेपाल ले पनि कम्तीमा आफ्ना ‘फ्रन्टलाइनर हेल्थ वर्कर’लाई सो खोप दिने योजना बनाएको बुझिएको छ । भारतले आज देशव्यापी रुपमा कोभिडबिरुद्धको खोप लगाउने अभ्यास (ड्राइ – रन) गर्दैछ । र, उसले अबको दुई सातापछि खोप अभियानको औपचारिक आरम्भ गर्ने योजना बनाएको अधिकारीहरु बताउँछन् ।

यता शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासंग प्रधानमन्त्री कार्यक्रममा कोभिडबिरुद्धको खोप छिटो भन्दा छिटो ल्याउने तयारी गरेको बताएका थिए । उनले छिमेकी देशमा उत्पादित खोपमा आफूहरुको प्राथमिकता रहेको समेत स्पष्ट पारेका थिए ।

भारतको पुणेमा रहेको सिरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप उत्पादन गरेको र सो खोपलाई बेलायत लगायतका मुलुकहरुले मान्यता समेत दिइसकेको अवस्था छ । भारतले औपचारिक घोषणा नगरेपनि डभने आजको ड्राइ रन र आवश्यक सबै तयारी पुरा भएपछि अभियान शुभारम्भ गर्ने योजनामा रहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘सम्भवत भारतले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाकाले तयार पारेको खोप कोभिशिल्ड लगाउने अभियान ज्यानवरीको दोस्रो साता देखि शुुरु गर्छ । त्यसबेला अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी (फ्रन्टलाइन हेल्थ वर्कर)लाई दिने गरी कम्तीमा ३ प्रतिशत खोप नेपालमा पनि आउँछ । र यहाँ पनि अभियानको शुभारम्भ हुन्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

भारतका लागि नेपाली राजदूत निलम्बर आचार्य र सिरम इन्स्टिच्युटका बरिष्ठ अधिकारी प्रकाश सिंह । खोपको षियमा कुराकानी पछि, तस्बिर : नेपाली दुतावास नयाँ दिल्ली

के कस्तो छ तयारी ?
गत विहीबार नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसंग भेटवार्ता गरेका थिए । स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा कोरोनाविरुद्धको खोप ल्याउने विषयमा विशेष छलफल भएको बुझिएको छ । राजदूत क्वात्राले पनि नेपालमा खोप ल्याउने विषयमा भारतले सक्दो सहयोग गर्ने बताएका थिए ।

गत साता मात्रै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युटका एक बरिष्ठ अधिकारी र भारत सरकारका नीति आयोगका प्रमुख अभिताभ कान्तसंग भेट गरी नेपालमा खोप उपलव्ध गराउने विषयमा महत्वपूर्ण छलफल भएको बताएका थिए ।

‘पहिले विश्व स्वास्थ्य संगठनको समन्वयमा तयार भएको कोभ्याक्स फेसिलिटीले दिने भनेको २० प्रतिशत खोपको बारेमा चर्चा भएको थियो । तर त्यो खोप आउन ढिलाई हुने देखिएको छ । त्यसैले अब सरकार आफैले खरीद गर्ने र खोप लगाउने योजनामा अघि सरेको हो । पहिलो लटमा कम्तीमा २० प्रतिशतका लागि खोप खरीद गर्ने योजना भएको छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा भारतले खोप खरीद गर्दा नेपाललाई समेत २० प्रतिशत हुने गरी खरीद गर्ने र सोको भुक्तानी नेपाल सरकारले गर्ने भन्ने विषयमा पनि छलफल भएको छ,’ मन्त्रालयका अधिकारीले बताए ।

। भारतीय अधिकारीहरुले २० प्रतिशत सम्भव नभए कम्तीमा ३ प्रतिशत भएपनि भारतमा शुरु हुँदा नेपालमा लगाउन सकिने गरी व्यवस्था गरिदिने आश्वासन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागका अधिकारीहरुलाई काममा खोपको लागि बाँकी कामहरुमा तिब्रता दिन निर्देशन दिएका छन् । ‘मन्त्रालयले बाँकी कामहरु छिटो सक्न भनेर ताकेता गरिरहेको छ । हामीले पनि कामहरु गरिरहेका छौँ,’ विभागका एक अधिकारीले भने ।

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप ७० देखि ९० प्रतिशत प्रभावकारी रहेको बताइएको छ । यो खोप २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा भण्डारण गर्न सकिने बताइएको छ ।

यदि यो खोप आएमा नेपालमा अहिले भएको भण्डार व्यवस्थाले नै काम गर्ने बताइएको छ । विभागका खोप शाखा प्रमुख डा झलक गौतम भन्छन्, ‘२ देखि ८ डिग्री तापक्रमवाला खोप आयो भने हामीले सहज रुपमा भण्डारण गर्न सक्छौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *