स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना संक्रमणको जोखिम कायम नै छ, सावधानी अपनाउँ’

काठमाडौँ, १५ पुस ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिले पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै आम सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले बुधबारको कोरोना अपडेटमा बोल्दै सो अनुरोध गरेका हुन् ।

विश्वसमा कोरोना विरुद्धको खोपको शुभसंकेतहरु देखा परेपनि अहिलेसम्म त्यसको व्यवसायिक उत्पादन र अभियानका रुपमा प्रयोग भइनसकेको भन्दै उनले अझै केही समय पहिले जस्तै गरी सतर्कता अपनाउन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

‘विश्वमा कोरोनाविरुद्धको खोपको शुभसंकेत त देखा परेका छन् । सरकारले खोप प्राप्त गर्ने तथा सबै नागरिकहरुलाई खोप लगाउने कामहरुलाई योजनाबद्ध तरिकाले अघि बढाईरहेको छ । तर खोपको उत्पादन व्यवसायिक रुपमा तथा प्रयोग अभियानका रुपमा सुरु भइकेको छैन् । जुन सुरु हुँदा हामीले पनि पाउने सुनिश्चितता सरकारले गरिसकेको छ,’ डा गौतमले अगाडी थपे, ‘तर अहिले भने हामीले एक अर्कालाई संक्रमित रुपमा आशंका गरी मन्त्रालयले जारी गरेको एसएमएसको विधि अपनाउन अनुरोध गर्दछौँ ।’

उनले कोरोना विरुद्धको औषधि पत्ता नलागेको भन्दै अवस्थामा आफू र आफ्ना आफन्तलाई कोरोनाबाट बचाउन जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।

‘हिँड्दा, बस्दा, काम गर्दा एकअर्कालाई संक्रमणको आशंकामा राखेर मानिसबाट मानिसको दुरी कम्तिमा २ मिटर कायम गरौं,’ डा गौतमले भने, ‘मास्कको सधैँ उचित तरिकाले प्रयोग गरौं, हातको सरसफाइमा ध्यान दिऊ, हातले नाक, मुख, अनुहार छुने बाँनी हटाऊ।’

देशमा पछिल्लो समय फेरिएको राजनीतिक घटनाक्रमले कोरोना संक्रमण थप फैलाउने चिन्ता बढेको छ । विभिन्न राजनीतिक दलहरुले दिनहुँ जसो गर्ने आन्दोलन र सभामा उपस्थित भएका भिडका कारण पुन संक्रमण फैलिने त होइन भन्ने चिन्ता बढेको हो ।

आन्दोलन तथा जुलुसमा सहभागी व्यक्तिहरुले संक्रमणबाट जोगिनका लागि आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता समेत वेवास्ता गरेको देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *