अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

म्याग्दी, ५ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो ।

यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए ।

“कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उनले भने, “कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।”

नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ ।

पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् ।

कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् । मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई रु १० लाखका दरले बजेट पठाएको थियो ।

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । मन्त्रालयले रु चार लाख ५० हजार तलब, रु ५० हजार औषधि र रु पाँच लाखको शय्यासहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो ।

यसैबीच अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोवामा अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गरेको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गामा अस्पताल बनाउन जिल्लास्तरीय जग्गा मूल्याङ्कन समितिले निर्णय गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *