‘इएलएमआईएस’ लागू गर्ने तयारीमा लुम्बिनी प्रदेश

बुटवल, ९ मंसिर । ‘एउटा जरुरी औषधि मालारानी गाँउपालिका अर्घाखाँचीमा एकदमै अभाव छ तर पूर्वखोला गाँउपालिका पाल्पामा सो औषधि पर्याप्त छ । तत्कालको अभाव टार्न दुईवटा पालिकाबीच समन्वय भई एकै दिनमा औषधिको आदानप्रदान हुनसक्छ ।’

………………………………………………………

‘मालारानीमा औषधि अभाव भयो र पूर्वखोलामा औषधि पर्याप्त छ भनेर कसरी जानकारी हुन्छ त ? हो , अब ती सबै जानकारी विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली (इएलएमआईएस) को कार्यान्वयन पछि मात्रै थाह हुन्छ,’ इएलएमआईएसको महत्व बुझाउने क्रममा स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा (आईएचएमआईएस)का प्रमुख बद्रीनाथ ज्ञवालीले भने । उनले देशका ७७ वटै जिल्लाका सबै पालिकामा रहेका स्वास्थ्य संस्थाले इएलएमआईएस कार्यान्वयन गर्ने अभियानमा आफूहरु लागेको समेत बताए ।

………………………………………………………………

यतिवेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने अधिकारीहरुलाई इएलएमआईएस सम्वन्धी तीन दिने तालिम दिन थालिएको छ ।

‘प्रदेशका १२ जिल्लामा १०९ वटा स्थानीय तह छ । त्यसमध्ये अर्घाखाँची, पाल्पा र गुल्मीका २८ पालिकाका स्वास्थ्यप्रमुख, तथ्यांक प्रविष्ट गर्ने कर्मचारी, तथा स्टोर किपर गरी ६२ जनालाई तालिम दिइसकिएको छ । यसअघि नै बाँके र बर्दियाका १६ वटा स्थानीय तहका ३२ जना अधिकारीहरुलाई पनि सो तालिम दिइसकिएको छ । बाँकी जिल्लाहरुमा २३ मंसिरसम्ममा तालिम सकिन्छ । त्यसपछि ईएलएमआईएस पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने बाटो खुल्छ,’ आईएचएमआईएस प्रमुख ज्ञवालीले बताए ।

गत भदौबाट स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आफू अन्तरगर्त रहेको तीनवटा सूचना प्रणालीलाई एकीकृत गर्ने मन्त्रि परिषद्को दुई बर्ष अघिको निर्णयलाई कार्यान्वयन गरेको थियो । त्यसबेला महाशाखाले हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआईएस), लजिष्टिक म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एलएमआईएस) र हेल्थ इन्फास्टक्चर इन्फरमेसन सिस्टम (एचआईआईएस) लाई एकीकृत गर्ने सम्वन्धी निर्णय कार्यान्वयन गरेको थियो ।

अब यी तीनवटै सूचना प्रणाली एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली अर्थात इन्टिग्रेटेड हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएचएमआईएस) शाखा अन्तरगर्त रहने भएपछि अहिले विभिन्न प्रदेशहरुमा यसको कार्यान्वयन थालिएको हो ।

युएस एडको सहयोगमा यसअघि सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशमा यो कार्यक्रम लागू भईसकेको छ । यस्तै प्रदेश नं २ मा आंशिक रुपमा कार्यान्वयनमा आएको छ । प्रदेश नं १ र कर्णाली प्रदेशमा पनि शुरु हुने तयारीमा रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *