बाँकेमा कोरोनाबाट ७४ को मृत्यु


राँझा, २ मंसिर । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र २८ पुरुष रहेका छन् । बाँकेमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ ।

बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना भएका १०७ बिरामीमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । दुई जनाको भेन्टिलेटर, २३ जनाको आइसीयू र २२ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको छ । बाँकेमा हालसम्म तीन हजार ६०१ जना सङ्क्रमित भएकामा तीन हजार ३१८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *