धरान, चितवन र रुपन्देहीमा गरी थप चार जना संक्रमितको मृत्यु


काठमाडौँ, ४ कात्तिक । कोरोना संक्रमणबाट आज थप चार जनाको मृत्यु भएको छ । धरानमा एक , चितवनमा दुई र बुटवलमा एक जना संक्रमितको आज मृत्यु भएको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएका इटहरीका ५६ वर्षीय पुरुष हुन् । उनको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको जानकारी दिए।

त्यसैगरी पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा अर्का कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो ।

त्यस्तै बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।  अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो । ती महिला मधुमेहकी दीर्घरोगी थिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *