भारतमा कोरोना संक्रमित ७३ लाख पुगे, एकै दिन ६८ हजारमा संक्रमण


नयाँदिल्ली, २९ असोज । भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ ।

पछिल्लो चौबीस घण्टामा भारतमा ६७ हजार ७०८ जना नयाँ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार हाल ८ लाख १२ हजार ३९० जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४२ जना निको भएका छन् । कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म १ लाख ११ हजार २६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैबीच, भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा एक लाख ९६ हजार ७६१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित बिरामी रहेका छन् । महाराष्ट्रमा हालसम्म ४० हजार ८५९ जनाको ज्यान गइसकेको छ । यहाँ १३ लाख १६ हजार व्यक्ति निको भएका छन् ।

अर्को सर्वाधिक असर परेको कर्नाटक राज्यमा एक लाख १६ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् । यस राज्यमा हालसम्म १० हजार १९८ जनाको मृत्यु भएको छ ।

केरला राज्यमा भने १ हजार ६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार यहाँ २ लाख १५ हजार व्यक्ति निको भएका छन् भने ९३ हजार ९२५ जना अझै सक्रिय संक्रमित अवस्थामा छन् ।

आन्ध्र प्रदेशमा ६ हजार ३१९ जनाको मृत्यु भइसकेको छ भने अझै ४१ हजार ६६९ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । त्यस्तै पाँच हजार ८९८ जनाको मृत्यु भएको नयाँदिल्लीमा २१ हजार ९०३ जना सक्रिय संक्रमित छन् ।

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ९ करोडभन्दा बढी कोरोना परीक्षण गरिएको जनाएको छ ।   रासस/ एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *