बिपी प्रतिष्ठान धरानमा थप दुईजना सङ्क्रमितको मृत्यु


धरान, २८ असोज । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी मधुमेहको बिमारी भएको बताइएको छ ।

यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *