निरोगी नेपाल बनाउने अभियानमा सरकार जुटेको छ : स्वास्थ्य मन्त्री ढकाल

चितवन, १० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताएका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस विषयमा जनचेतना जगाउनन आवश्यक रहेकामा जोड दिए ।

मन्त्री ढकालले भने, “हामीले खानपान र आहारबिहारमा ध्यान नदिँदा क्यान्सर रोगबाट ग्रसित हुनुपरेको छ ।” मानिसमा हुने मोटोपन, शारीरिक रुपमा निस्क्रयता, हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने उनले बताए ।

क्यान्सर रोगका सङ्क्रमितमध्ये एक तिहाईको मृत्यु हुने गरेको, एक तिहाईको निको हुने गरेको र एक तिहाईलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम रहेको बताए । अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उनले यस अभियानमा सबैलाई साथ दिन आग्रह गरे । उनले भने, “निरोगी नेपाल निर्माण गर्ने अभियानमा सरकार लागेको छ ।”

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्यान्सरका बिरामीको उपचार र रोकथामका लागि विश्वास आर्जन गर्दै आएको उनको भनाइ थियो । अस्पतालले आर्जन गरेको विश्वासकै कारण देशका विभिन्न स्थानबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको भन्दै मन्त्री ढकालले यसलाई अझै बढाउन आवश्यक रहेको जानकारी दिए । मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आआफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्छ भने ।

विश्वमा वार्षिक ९६ लाख जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ  ।

नेपालमा वार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ७० प्रतिशत व्यक्ति न्यून आय भएका व्यक्तिहरु रहेको सो अवसरमा जानकारी दिइयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य निशा अधिकारी, चिनियाँ टिमका टिम लिडर वी झ्याङ्लगायतले बोलेका थिए । सो अवसरमा अस्पतालका कार्यकारी दिर्नेशक डा देजकुमार गौतमले अस्पतालको वार्षिक प्रतिवेदन पेश गरेका थिए । २१ वर्षअघि चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना गरिएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *