एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा काम गर्ने जनशक्तिलाई दक्ष बनाउँदै सुदूरपश्चिम

धनगढी, ९ असोज । एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (आईएचएमआईएस) प्रदेशभर एकै पटक लागू भएको घोषणा गरेको सुदूरपश्चिमले त्यसको कार्यान्व्यनका लागि जनशक्तिलाई आवश्यक तालिम दिन थालेको छ । प्रदेशले अहिले नौ वटा जिल्लाका ८८ वटा पालिकाबाट दुई जनाको दरले १७६ जनालाई तालिम दिन थालेको हो ।

‘अहिले हामीले पालिकाका स्वास्थ्य शाखा प्रमुख र औषधि सम्वन्धी स्टोर हेर्ने फोकल पर्सन गरी दुई जनालाई तालिम दिएका छौँ । केही जिल्लामा तालिम सकिईसकेको छ । केही जिल्लामा भइरहेको छ र केही जिल्लामा हुने क्रममा छ । आगामी १२ असोजसम्म सबै जिल्लामा यो सकिन्छ । त्यसलगै आईएचएमआईएसको कार्यान्वयन शुरु हुन्छ,’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भने ।

तालिममा स्वास्थ्यका सूचना, औषधिजन्य पदार्थको मौज्दात, खरीद, स्वास्थ्य संस्था निर्माण लगायतका कार्यहरुका विवरण अनलाइनबाट कसरी अपडेट गर्न सकिन्छ भन्ने बारेमा सिकाइने उनले बताए ।

यसअघि स्वास्थ्य सेवा विभाग व्यावस्थापन महाशाखाले आफू अन्तरगर्त रहेको तीनवटा सूचना प्रणालीलाई एकीकृत गर्ने मन्त्रिपरिषद्को दुई बर्ष अघिको निर्णयलाई कार्यान्वयनमा आएको घोषणा गरेको थियो । सो निर्णयपछि हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआईएस), लजिष्टिक म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एलएमआईएस) र हेल्थ इन्फास्टक्चर इन्फरमेसन सिस्टम (एचआईआईएस) सहितका छुट्टा छुट्टै सूचना प्रणालीलाई एकीकृत ढंगबाट सञ्चालनमा ल्याइएको थियो ।

‘स्थानीय तहबाट तीनवटा सूचना प्रणालीबाट केन्द्रमा सूचना पुग्ने गर्दथ्यो । फरक फरक पद्धतीबाट चलाइएको ती प्रणालीबाट आउने सूचनाहरु अपुरा र अधुरा समेत हुने गर्दथे । अब त्यस्तो हुँदैन् । ती एकीकृत ढंगबाट अनलाइनविधिबाट समयमै रिपोर्टिङ हुन्छ,’ डा. अवस्थीले अगाडी थपे, ‘अव अर्को महिनाको देखि समयमै सबै स्थानीय पालिकाले अनलाइन प्रणालीमा सूचना अपडेट गर्नुहुन्छ ।’

स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका प्रमुख बद्रीनाथ ज्ञवालीले सुदूरपश्चिमले एकैपटक प्रदेशभरका पालिकाहरुलाई आईएचएमआईएस प्रणालीमा जोडेको भन्दै खुशी व्यक्त गरे । उनले अब स्वास्थ्य क्षेत्रको बास्तविक अवस्था र समस्याहरु छर्लङ हुने दावी गरे । उनले सुदूरपश्चि पछि गण्डकी प्रदेशमा पनि यो प्रणाली हुने तरखरमा रहेको बताए ।

स्थानीय तहलाई आईएचएमआईएस प्रणालीमा आवद्धता गर्नका लागि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्लाका स्वास्थ्य कार्यालयको समन्वय गरिरहेको छ भने अमेरिकी दातृ संस्था युएस एडले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *