कोरोनबाट मृत्यु भएको महिलाको नवजात शिशुमा देखिएन कोरोना

काठमाडौँ, ५ जेठ ।  कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोकी २९ बर्षीया सुत्केरीको नवजात शिशु र श्रीमान् सहित उनीसंग सम्पर्कमा रहेका ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्प्तालको प्रयोगशालामा गरिएको परीक्षणमा १४ दिनको शिशु, मृतकको श्रीमान्, सासु, भाइ र बहिनीको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले सबैको रिपोर्ट नेगेटिभ र अवस्था सामान्य भएकोले डिस्चार्ज दिने तयारी भएको समेत उल्लेख गरे ।
अस्पतालको बालरोग वार्डमा राखिएका नवजात शिशुमा भने सामान्य जन्डिसको समस्या देखिएको छ । यो पनि नवजात शिशुमा देखिने सामान्य जण्डिसको समस्या भएको डा ताम्राकारले बताए ।

गत २४ बैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चोक बाह्रविसे ९ राम्चेकी महिलाको गत बिहीबार धुलिखेल अस्पताल ल्याईसक्दा निधन भएको थियो । निधन पछि स्वाब निकालेर परीक्षण गर्दा कोरोना पोजेटिभ भएको पाइएको थियो । मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण देखिएपछि नवजात शिशु सहित उनीसंग सम्पर्कमा आएका सबै सदस्यलाई आइसोलेसनमा राखेर स्वाब परिक्षण गरिएको थियो ।

अस्पतालले उनको उपचारमा खटिएका स्वास्थ्यकर्मी टोलीलाई पनि क्वारेन्टाइनमा राखेर थ्रोट स्वाब झिकेको छ । त्यसको रिपोर्ट भने आइनसकेको डा ताम्राकारले बताए ।

संक्रमणबाट महिलाको मृत्युभएपछि अहिले उनको घर तथा माइतीका गाउँहरुलाई सिल गरी उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्न थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएको महिलाको संक्रमणबाट ज्यान गएपछि यता अस्पतालको बर्थिङ युनिट र लेवररुपमा खटिएका करीब चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मी गरी १०० बढीको स्वाब लिएको छ । त्यसको रिपोर्ट पनि आइसकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *