कोरोना भाइरसको जोखिम : त्रिभुवन विमानस्थलको हेल्थ डेस्कले यसरी काम गर्दैछ

काठमाडौँ, ९ माघ । तीन साता अघि चीनको हुवे प्रान्तस्थित वुहान शहरमा देखा परेको नयाँ खाले कोरोना भाइरसको संक्रमण यतिवेला जापान, दक्षिण कोरिया, थाइल्याण्ड हुँदै अमेरिका पुगिसकेको छ ।

हिजो मात्रै हंङकंङमा नयाँ केश भेटिएको समाचार आएको छ । यसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि गुणात्मक रुपमा बृद्धि हुँदै गएको छ । पशुबाट मानिसमा सर्ने भनिएको यो भाइरस यतिवेला मानिसबाट मानिसमा सर्ने पुष्टि भईसकेको छ । यसले सारा विश्व जगतलाई चिन्तित तुल्याएको छ ।

नेपालमा चीनबाट दैनिक हवाई उडान छ । यस्तै  कोरिया, थाइल्याण्ड र हंङकंङ मात्रै होइन जापान पनि नेपालबाट सिधा उडान हुने देशको सूचीमा रहेको छ । यी देशमा संक्रमण देखिँदा नेपाल त्यसको जोखिममा नरहने कुरै भएन ।

यसै सन्दर्भमा नेपाली हेल्थले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका हेल्थ डेस्क संयोजक गोपाल पाण्डेसंग कोरोनाभाइरसको जोखिम रोक्न विमानस्थलमा भएका प्रयासबारे छोटो कुराकानी गरेको थियो । प्रस्तुत छ  कुराकानीको सारसंक्षेप :

नेपालमा सिधा उडान हुने मुलुकहरु चीन, थाइल्याण्ड, दक्षिणकोरिया, जापान लगायतका देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ, यसले नेपालमा पनि जोखिम त बढायो नि होइन ? त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि के के तयारी अपनाएको छ ?

संक्रमित रोगको जोखिम न्युनिकरण गर्न नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । तपाँईले भने जस्तै नेपालबाट सिधा उडान हुने मुलुकहरुमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखा परेको छ । यसले नेपाल जोखिम त बढेको छ । तर,  स्वास्थ्य मन्त्रालय उच्च सतर्कता ( हाईअलर्ट)मा रहेको छ । हामीले चीन, जापान, थाइल्याण्ड र कोरियाबाट आउने यात्रुहरुलाई विशेष निगरानी राखेका छौँ । विमानस्थलको हेल्थ डेस्कमा पहिले राखेका केही महत्वपूर्ण उपकरणहरु बीचमा हटाइएको थियो । अब फेरि सेट गरिदैँछ । यसपछि अझ सुरक्षित रुपमा काम हुन्छ । 

के के उपकरण राख्दैछौँ अहिले ?
अहिले नै पनि हामीकहाँ उपकरण नभएको होइन । छ । तर त्यसबाहेक हामीले अहिले थर्मल स्क्यानर जडान गर्न खोज्दैछौँ ।

अहिलेसम्म राखिसकिएको छैन् ? राख्ने प्रक्रियामा मात्रै हो ?
कुरो यस्तो हो, हामीसंग थर्मल स्क्यानर ‘रेडि’ छ । तर सो उपकरण राख्न एयर कन्डीसन (एसी) युक्त कोठा हुनुपर्छ । एसीयुक्त रुम नभई स्क्यानरले काम गर्दैन । र,  विमानस्थलले अहिले उपलव्ध गराएको हेल्थ डेस्कको स्पेशले सम्भव हुँदैन पनि । त्यसैले विमानस्थलले अहिले थर्मल स्क्यानर राख्ने उपयुक्त ठाँउको व्यवस्था गर्दैछ र जडान प्रक्रिया सुरु भईसकेको छ ।

तर यो जडान भएर ‘फुल फङसन’मा आउन त समय लाग्ला ? तत्कालका लागि नियन्त्रणको उपाय के छ ?
मैले फेरी प्रष्ट पार्न चाहेँ, एसी रुम बनाउन विमानस्थल प्रशासन लागि सकेको छ । र यो छिटै जडान हुनेछ । हामीले तत्कालका लागि भने चीन थाइल्याण्ड, जापान र कोरिया सहितका देशबाट आएका उडानका यात्रुलाई हामी एउटा फर्म भराउँछौँ । सरसर्ती हेर्दा खेरी विरामी जस्तो देखिने अर्थात संकास्पदलाई हामीले छुट्टै राख्छौँ र परीक्षण र पठाउने गरेका छौँ ।

कोरोना भाईरस मान्छेबाट मान्छेमा सर्ने पुष्टि भईसकेको छ, तपाईँहरु न्युनतम सुरक्षा विना नै संकास्पद मान्छेको ट्याली गर्दै परीक्षण गरेका छौँ भन्नुहुन्छ । अनि आफ्नै सुरक्षामा ध्यान दिनु पर्दैन ? तपाईँहरुलाई नै सर्ने जोखिम हुन्न ?
ठिक भन्नु भयो । जोखिम त हुन्छ नि । त्यसैलाई ध्यान दिएर हिजो मात्रै मैले विश्व स्वास्थ्य संगठनले उपलव्ध गराएको पीपीई सेट सबै स्टाफलाई उपलव्ध गराएको छु । अब त्यति सारो जोखिम हुँदैन ।

यो पीपीई सेट भनेको के ?
पीपीई (पर्सनल प्रोटेक्टिभ ईकुप्मेन्ट) यस्ता संक्रमित र जोखिमपूर्ण क्षेत्रमा काम गर्न जाने स्वास्थ्यकर्मीले लगाउने एक खालको सुरक्षित ड्रेस सेट हो । जसमा जुत्ता देखि टाउको छोप्ने सम्मको सबै सेट हुन्छ । अर्थात शरीर भित्र संक्रमण छिर्न नदिने सेट हो । हामीलाई डव्लुएचओले अन्तराष्ट्रिय स्टान्डर्डको यो सेट उपलव्ध गराएको छ ।

हेल्थ डेस्कमा स्टाफहरु कति हुनुहुन्छ ?
एक जना म भैहाले । एक जना कन्सलटेन्ट डाक्टर हुनुहुन्छ र अरु तीन जना नर्सिङ अधिकृत हुनुहुन्छ ।

अहिलेसम्म संकास्पद भेटिएको छ कि छैन ?
अहिलेसम्म एक जना संकास्पद भेटिएको हो । चीनमा पढेर फर्केको विद्यार्थी हो । हामीले केही साता अघि नै संकास्पद उक्त व्यक्तिलाई परीक्षण गरेर टेकु अस्पताल रिफर गरेका थियौँ । त्यसपछि उनी सिधै त्यहाँ गएर भर्ना भएर उपचार गराए । अहिले सायद डिस्चार्ज भईसकेका छन् । ती व्यक्ति बाहेक अरु त्यस्तो केस भेटिएको छैन ।

फेरी यतिवेला हामी अत्यन्तै उच्च सतर्कतामा छौँ । यतिवेला हाम्रो हेल्थ डेस्क सबैको फोकसमा छ । स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, महानिर्देशक, रोगनियन्त्रण महाशाखा आदी सबैको फोकस छ । अपडेट लिई राख्नु भएको छ । उहाँहरु आफै पनि निरीक्षणमा आईराख्नु भएको छ ।

हेल्थ डेस्कको सेवा दैनिक कति समय हुन्छ ?
अहिले यो विमानस्थल दैनिक २१ घण्टा चल्छ । हामीले पनि २१ घण्टा नै सेवा दिइरहेका छौँ । तीन सिफ्टमा पालो गरेर हेल्थ डेस्कमा स्वास्थ्यकर्मीहरु रहेकै हुनुहुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कोरोना भाइरसको जोखिम : त्रिभुवन विमानस्थलको हेल्थ डेस्कले यसरी काम गर्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *